गोरखापत्र अनलाइन
काठमाडौं, असोज ५ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्नेमा जोड दिनुभयो ।
दलहरुबीच देशभित्र आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सुरक्षा नीतिका बारेमा पनि साझा सहमति बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबै पार्टीको बीचमा साझा सहमति बनाएर हाम्रो प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्छ । किनभने भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ, तर परराष्ट्र नीतिमा एक हुन्छन् । त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ ।’
बैठकमा नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले परराष्ट्र नीति साझा सहमति हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भारत, चीन, अमेरिका, बेलायत लगायतका देशबाट आइरहेको डेलिगेशनमा अपडेट हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति सबैभन्दा सेन्सेटिभ विषय हो । सरकारी तहबाट दलहरुको आफ्नो धारणा हुनुपर्छ । चीन र भारतबाट विभिन्न तहमा निरन्तर डेलिगेशन आइरहेको छ । अमेरिका, बेलायत, युएनबाट पनि नेपालसँग राम्रो सम्बन्ध भएका र सरोकार भएका मुलुकबाट प्रतिनिधित्व भइरहेको छ ।’
समितिको बैठकमा नेकपा (एमाले) का सांसद दामोदर पौडेल वैरागीले परराष्ट्र नीतिबारेमा सबै प्रष्ट हुनुपर्ने बताउनुभयो । उहाँले युक्रेन—रुस युद्धताका नेपालले लिएको निर्णयलाई लिएर विभिन्न आशङ्का उब्जिएको भन्दै त्यसका लागि पनि साझा सहमतिमा परराष्ट्र नीति बनाउनुपर्ने बताउनुभयो ।