जयकृष्ण यादव
इनरुवा, असोज ५ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरेको छ । प्रहरीको कामलाई प्रभावकारी बनाउन र अनुसन्धानलाई थप सूक्ष्म र नवीनतालाई सुव्यवस्थित गर्न कार्यक्रम आयोजना गरेको प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।
कार्यशालामा जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी अधिकृत तथा युनिट, एकाइका इन्चार्जहरुको सहभागिता थियो । कार्यशालामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रहरीको काम, कार्वाही र अनुसन्धानलाई व्यवस्थित तथा प्रभावकारी गर्न अनुसन्धान गतिविधिमा लाग्न उत्प्रेरित गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा आयोजित उत्प्रेरणा अभिवृद्धि कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको उपस्थिति थियो । प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यशालामा सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फे, अनुसन्धान उपरीक्षक तिलकप्रसाद शर्मा प्रसाई, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहको उपस्थिति थियो । उहाँहरुले प्रहरीलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सुनसरीका प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृतहरुको सहभागिता थियो ।