• २७ वैशाख २०८२, शनिबार

उद्योगी व्यवसायीलाई निराश नहुन उद्योगमन्त्री रिजालको आग्रह

blog

नेपाल इँट्टा उद्योग महासङ्घको १५औं वार्षिक साधारणसभा उद्धाटन गर्नुहुँदै उद्योगमन्त्री रमेश रिजाल । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असोज ५ गते ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभएको छ । बाँकेको कोहलपुरमा बिहीबार आयोजना भएको नेपाल इँट्टा उद्योग महासङ्घको १५औं वार्षिक साधारणसभामा मन्त्री रिजालले राष्ट्रका सामु देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले इँट्टा उद्योगको समस्यालाई वार्ता र संवादमार्फत टुङ्गो लगाउने उल्लेख गर्दै अहिलेको प्रणाली ठूलो त्याग र बलिदानबाट आएको परिवर्तन भएको बताउनुभो ।

नेपाल इँट्टा उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष शङ्करबहादुर चन्दले इँट्टा उद्योगी पलायन हुने अवस्थामा रहेको उल्लेख गर्दै इँट्टाको विकल्पमा अन्य वस्तुको प्रयोगपछि यसको माग घटेको जानकारी दिनुभयो । “स्वदेशको माग धानिरहेको इँट्टा उद्योग एकाएक पलायन हुने अवस्थाबाट रोक्न राज्यलाई घच्घच्याउन आवश्यक छ” अध्यक्ष चन्दले मन्त्रीसामु भन्नुभयो, “सरकारले बेलैमा हामीलाई सडकमा आउनबाट जोगाओस् ।”

अध्यक्ष चन्द इँट्टा उद्योगीले चुनौती झेलिरहेको भन्दै माग घट्दा बजारीकरणको समस्या थपिएको र सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर निर्माणमा परेकाले निर्माणकार्य घट्दा इँट्टाको खपत हुन नसकेको धारणा राख्नुभयो । करिब आठ प्रतिशत ब्याज दिएर कारोबार गरेका उद्योगीले अहिले १५ प्रतिशत ब्याज तिर्नुपरेको गुनासो गर्दै अध्यक्ष चन्दले सावाँ र ब्याज तिर्न समय पाए उद्योगी तथा व्यवसायीलाई राहत हुने बताउनुभयो ।

नेपाल इँट्टा उद्योग सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वली क्षेत्रीले इँट्टा व्यवसायीले विभिन्न खालका चुनौती भोगिरहनुपरेको जानकारी गराउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. धवल समशेर राणा, सूर्य ढकाल लगायतले बोल्नुभएको थियो ।