हरिप्रसाद कोइराला
उर्लाबारी, असोज ५ गते । संविधान दिवसको अवसर पारेर मोरङको कानेपोखरी गाउँपालिकाले थप आठ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गरेको छ । पालिकाले गत वर्ष संविधान दिवसकै अवसर पारेर छ परिवारलाई सुरक्षित आवास प्रदान गरेको थियो ।
पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले विपन्न परिवारलाई घरको ताला जिम्मा लगाउनुभयो । त्यस व्रmममा उहाँले संविधानले व्यवस्था गरे अनुसार नै पालिकाले विपन्न परिवारलाई सुरक्षित आवासमा सारेको बताउनुभयो । तुम्बाहाम्फेले भन्नुभयो, “हामी संविधान कार्यान्वयनको क्रममा छांैँ । घर वितरण पनि संविधान कार्यान्वयनको एउटा चरण हो । नेपालको संविधानले घरबारविहीन परिवारको कल्पना गरेको छैन् । त्यसैले गरिबी निवारणका लागि तीनै तहका सरकारले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्ने काम गरिरहेका छन् ।”
तराई मधेश समृद्धि कार्यव्रmम अन्तर्गत प्राप्त बजेटबाट पालिकाले घर निर्माण गरेको हो । आफ्नो जमिन नभएका र कमाउन पनि नसक्ने अति विपन्न परिवारलाई घर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनुभयो । आँगनमा पानी पिउने ट्युबेल, शौचालयसहितको दुईकोठे घर पाएपछि आठ परिवारले आफ्नो श्रमबाट प्राप्त आम्दानी घरको छानो टाल्न, बेरा लगाउन खर्च गर्नु नपर्ने उहाँले बताउनुभयो । “अब जनमन गरेर जति कमाउनु हुन्छ, त्यो सबै अनाज किन्न र छोराछोरी पढाउनका लागि खर्च गर्न सक्नुहुन्छ,” अध्यक्ष इङ्नामले भन्नुभयो ।
आर्थिक वर्ष २०७९/८० मा पनि पालिकाले चार वटा घर निर्माण गरेको थियो । पालिकाले खरिद गरेको जमिनमा उत्तरतर्फबाट घर निर्माण गर्न थालिएको थियो । यो पटक भने पालिकाले चार वटा घरमा आठ परिवार बस्ने मिल्ने बनाइएको छ । अध्यक्ष इङ्नामले भन्नुभयो, “चार परिवारको आँगन उत्तर फर्किएको हुने छ भने चार परिवारको आँगन दक्षिण फर्किएको हुने छ ।” कुनै पनि परिवारलाई अगाडि वा पछाडि बसेको अनुभूति नहोस् भन्ने उद्देश्यले एउटै घरको दुवैतर्फ मुख बनाइएको उहाँको भनाइ छ । कुल ५१ लाख ६२ हजार ८६८ रुपियाँमा बेलबारी मोरङको ओजस कन्स्ट्रक्सनले निर्माण गरेका घर निर्धारित मिति २०८० साल असार २० अगावै निर्माण सम्पन्न भइसकेको हो ।
नयाँ घर प्राप्त गर्नेहरूमा कानेपोखरी–२ का सङ्गीता उराव र रेखा मल्लिक, वडा नं. ३ की भरवती राजवंशी, कमली चौधरी र फागुलाल उराव हुनुहुन्छ । यस्तै वडा नं. ५ का उत्तम विश्वकर्मा र विश्वेश्वर चौधरी हुनुहुन्छ । घरमा बस्ने एक परिवार छनोट हुन बाँकी रहेको पालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनुभयो ।
त्यसै गरी गाउँपालिकाले अति विपन्न ऋषिदेव समुदायका ३० परिवारलाई बसेकै स्थानमा नयाँ घर निर्माण गरिरहेको छ । सुरक्षित नागरिक आवास कार्यव्रmम अन्तर्गत पालिकाले वडा नं. ३ को राजगन्जका अति विपन्न ऋषिदेव (मुसहर) समुदायको घर निर्माण गरिरहेको हो ।
घर निर्माण गर्न हेल्भिटास नेपाल र सहारा नेपालले साझेदारी गरेको अध्यक्ष इङ्नामले बताउनुभयो । उहाँका अनुसार दुई लाख २१ हजार आठ सय रुपियाँ गाउँपालिकाले बेहोर्ने छ । सहारा नेपाल र हेल्भिटासले दुई लाख रुपियाँ साझेदारी गर्ने भएका छन् भने घरधनीले ८० हजार रुपियाँ बराबरको श्रमदान गर्नुपर्ने छ । जम्मा पाँच लाख एक हजार आठ सय रुपियाँमा तयार गरिने घरमा ११-११ फिटका दुई वटा कोठा, एउटा भान्साघर र बाहिरपट्टि बरन्डा रहने छ । घर छेउमा सुरक्षित शौचालय र सामूहिक रूपमा खानेपानीका लागि चापाकल व्यवस्था गरिने छ ।