• ११ जेठ २०८१, शुक्रबार

भौतिक पूर्वाधारबाट सम्पन्न बन्दै प्रहरी चौकी

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, असोज ५ गते । पुरानो भवन तथा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका काभ्रेपलाञ्चोकका प्रहरी चौकी पछिल्लो समय भौतिक पूर्वाधारबाट सम्पन्न हुँदै आएका छन् ।

सङ्घीय तथा प्रदेश सरकारले २०७२ सालको विनाशकारी भूकम्पपश्चात् जिल्ला प्रहरी कार्यालयलगायत इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको कार्यालय भवन निर्माणको कामलाई तीव्रता दिएसँगै प्रहरी कार्यालय भौतिक रूपमा सम्पन्न हुने बाटोमा अग्रसर रहेका हुन् । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले पछिल्लो समय जिल्ला प्रहरी कार्यालय मातहत रहेका प्रहरी चौकीका भवन निर्माणको व्रmममा रहेको बताउनुभयो । २०७२ सालको भूकम्पपछि जिल्ला प्रहरी कार्यालयसहित १७ वटा प्रहरी चौकीको भवन बनेको उहाँले जानकारी दिनुभयो । “भूकम्पपछि जिल्लामा जिल्ला प्रहरी कार्यालय, चार वटा इलाका प्रहरी कार्यालय र १२ वटा प्रहरी चौकीका भवन निर्माण सम्पन्न भएको छ,” प्रहरी उपरीक्षक ढकालले थप्नुभयो । भदौ महिनामा मात्रै प्रहरी चौकी कटुन्जेबँेसी र साँगाको भवन हस्तान्तरण भएको उहाँले बताउनुभयो । 

प्रहरी चौकी दोलालघाट, खोपासी र पाँचखालको भवन जीर्ण भएका कारण नयाँ बनाउनुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । यस जिल्लामा रहेका प्रहरी चौकीमध्ये अझै ११ वटा प्रहरी चौकीका भवन निर्माण गर्न बाँकी छ । प्रहरी कार्यालयका अनुसार ११ वटा प्रहरी चौकीमध्ये अहिले प्रहरी चौकी कानपुरको भवन निर्माणको काम धमाधम भइरहेको छ । 

“हामी न्यूनतम मानवीय आवश्यकता पूरा नहुने भवनबाट सेवा प्रवाह गर्दै आएका थियौँ, उक्त अवस्थामा सेवाग्राहीलाई राम्रोसँग सेवा प्रवाह गर्न धेरै कठिन थियो तर पछिल्लो समय भौतिक पूर्वाधार निर्माण भएसँगै प्रहरीले सहज र सरल रूपमा नागरिकलाई सेवा प्रदान गर्न मद्दत गरेको छ,” प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । 

उहाँले भवन निर्माण भएसँगै प्रहरीको आन्तरिक बजेटबाट कार्यालय सञ्चालनका लागि भवनभित्र आवश्यक पर्ने विभिन्न सामग्रीको व्यवस्थापन गर्न नसक्ने अवस्था भएपछि सम्बन्धित स्थानीय तहको सहयोगमा प्रहरीका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्था मिलाई सेवा दिँदै आएको बताउनुभयो ।