डोल्पा समाचारदाता
डोल्पा, असोज ५ गते । डोल्पोबुद्ध गाउँपालिका–३, फोलोङकार्बोमा भदौ २७ गते बेवारिसे अवस्थामा फेला पारिएका बुद्ध मूर्ति प्रमाणीकरणका लागि पुरातत्व विभाग लगिने भएको छ । प्रहरीले बेवारिस अवस्थामा फेला परेका बुद्ध मूर्ति से फोक्सुन्डो गाउँपालिका–४ का लार्जम लामाको घरबाट असार ८ गते अज्ञात समूहले लुटेको बताइन्छ ।
लार्जम लामाको घरवाट करिब १२ बजेको समयमा चार÷पाँच जनाको हतियारधारी समूहले साना ठुला गरी नौ थान मूर्तिसहित स्तूपा पुलिक र नगदसमेत लुटेर लगेको झन्डै दुई महिनापछि तिनै मूर्ति बेवारिसे अवस्थामा फेला परेको बताइन्छ ।
डोल्पोबुद्धमा पर्ने फोलोङकार्बोमा घाँस काट्न गएका स्थानीयले भदौ २७ गते सेतो बोरामा नीलो कपडाले छोपेको शङ्कास्पद अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार बेवारिस ती वस्तु नियन्त्रणमा लिएर हेर्दा लुटेराले लुटेका मूर्ति नै भेटिएको हो । धो प्रहरी चौकीले स्थानीयको रोहबरमा लाहाछाप गरी सदरमुकाम ल्याइएका बुद्ध मूर्ति र स्तूपा प्रहरीले जिल्ला प्रशासन कार्यालय डोल्पामा बुधबार सार्वजनिक गरेको थियो । से फोक्सुन्डो–४ वाट लुटिएका बुद्ध मूर्ति र स्तूपा बेवारिसे अवस्थामा लुकाएर राखिँदा सुरक्षा चेकपोस्टमा कडाइ गरिएकाले सुरक्षा अवस्था सामान्य भएपछि चोरले विस्तारै जिल्लाबाहिर लैजाने तयारी रहेको हुन सक्ने प्रहरीको निष्कर्ष छ ।
प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार बेवारिस अवस्थामा फेला परेका मूर्ति स्तूपामध्ये छ वटा से फोक्सुन्डो गाउँपालिका–४ का लार्जम लामाको भएको भनी लामाकी ३६ वर्षीय छोरी पेमा पुटिक लामाले सनाखत गरेको तर दुई वटा मूर्ति कुन गुम्बाका भन्नेबारे अनुसन्धान भइरहेको छ । बेवारिसे अवस्थामा फेला परेका सबै मूर्ति कानुनी प्रक्रिया अनुसार प्रमाणीकरणका लागि पुरातìव विभाग लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।