• २१ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति पौडेल भोलि पहिलो पटक गृह जिल्लामा आउँदै

blog

तनहुँको दमौलीमा निर्माण गरिएको जिल्ला सभा हल । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज ५ गते । राष्ट्रपति रामचन्द्र पौडेल भोली शनिवार गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ  । राष्ट्रपति बनेपछि पौडेल पहिलो पटक गृह जिल्ला भ्रमणका लागि आउन लाग्नुभएको हो ।

 बिहान तनहुँको भानु नगरपालिका– १३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति पौडेलले सदरमुकाम दमौलीको बिपी वनवाटिकामा निर्माण गरिएको  जिल्ला सभा हल र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । जिल्ला सभा हलको उद्घाटन दिउँसो १ बजे गर्ने तय भएको उहाँले जानकारी दिनुभयो । ७ सय ५० जना क्षमताको उक्त सभा हल गण्डकी प्रदेशकै ठुलो मानिएको छ ।

राष्ट्रपति पौडेल नेपाली काँग्रेसको वरिष्ठ नेता भएको समयमा उहाँकै पहलबाट सङ्घीय सरकारको रु. २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभा हल  निर्माण  भएकेा समन्वय प्रमुख वाग्लेले जानकारी दिनुभयो । करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ । उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष छन् । सभा हलको उद्घाटनपछि बिपीको सालिक अनावरणको कार्यक्रम तय गरिएको छ ।

कोइरालाले २०३६ साल असोज ६ गते बेल चौतारीबाट जनसभालाई सम्बोधन गरेको स्मरणमा बिपी वन वाटिका निर्माण गरिएको सोही ठाउँमा बिपीको सालिक राखिएको जननायक बिपी कोइराला  स्मृति ट्रस्टका महासचिव तथा संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो । बिपीको सालिक तथा त्यस वरपरको संरचना १५ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो  ।

गण्डकी प्रदेश  सरकारको दश र पाँच लाख रुपियाँ चन्दा सङ्कलन गरी १५ लाखको लागतमा निर्माण गरिएको पोख्रेलले बताउनुभयो ।  बिपी सो समयमा बेलचौतारीबाट पहिलो पटक बिपीले यस्तो उद्गार गर्नु भएको थियो –‘‘सबै नेपाली मै सरह’’ भन्दै म चाहन्छु, सबै नेपालीको एउटा बस्ने घर होस्, एउटा दुहुनो गाई होस्, बिहान र बेलुका खान पुगोस्, केटाकेटीलाई पढाउन सकुन् र बिरामी पर्दा ओखतीमूलो गर्ने सामर्थ्य होस् ।’’