• १२ मंसिर २०८१, बुधबार

बाल भविष्य संरक्षणमा समुदाय

blog

बालबालिका भविष्यका जिम्मेवार नागरिक हुन् । समाज विकासको गति उनीहरूको व्यक्तिगत विकासमा निर्भर रहन्छ । बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक, परिवारसँगै समुदायको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ । समुदायमा रहेका बालबालिकासम्बन्धी समस्याको पहिचान गर्दै दिगो समाधानतर्फ समयमै ध्यान दिन सकेमा सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणमा मद्दत मिल्छ । बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो बिहानी भन्ने कुरालाई आत्मसात् गर्दै समुदायले उनीहरूको भविष्य निर्माणमा अग्रसर भएर लाग्न सकेमा मात्र बाल अधिकार संरक्षणमा टेवा पुग्न सक्छ । 

सानै उमेरमा जोखिममा परेमा बालबालिकाको भविष्य उज्ज्वल बन्ने अपेक्षा गर्न सकिँदैन । अहिले समाजमा बाबुआमाको सम्बन्ध विच्छेद, घरेलु हिंसा, छोराछोरीप्रतिको जिम्मेवारी बोधको अभाव, अभिभावकको मृत्यु, पारिवारिक विकर्षणलगायत विभिन्न कारणले बालबालिका समस्यामा परिरहेका छन् । कतिपय बालबालिका पारिवारमा नै दुव्र्यवहारमा परिरहेका हुन्छन् । जसको कारण कोही श्रममा संलग्न हुने, चोरी लुटपाट जस्ता आपराधिक गतिविधिमा लाग्ने, सडकमा आउने, बेचबिखन तथा ओसारपसारमा पर्ने, बालगृहमा पुग्ने, लागुऔषध सेवन तथा ओसारपसारमा संलग्न हुने जस्ता खराब प्रवृत्ति मौलाउँदै जान्छन् । जबसम्म समुदायले पारिवारिक पीडा र समस्यालाई सामाजिक समस्याको रूपमा बोध गरेर समाधानतर्फ लाग्न सक्दैनन्, तबसम्म संस्थागत र सरकारी तबरबाट गरिएको प्रयासले मात्र समाज सुधारमा पूर्णता प्राप्त गर्न सक्दैन ।

पारिवारिक संरक्षण बालबालिकाको भविष्य निर्माणको पहिलो पाइला हो, यद्यपि सबै बालबालिकाका लागि यो पर्याप्त हुँदैन । अझै भन्नुपर्दा अहिलेको परिवेशमा छोराछोरी बाबुआमा दुवैको साझेदारीपूर्ण व्यवहारको माया ममतामा हुर्किन पाएका छैनन् । वैदेशिक रोजगारी होस् या स्वदेशको नै किन नहोस् शिक्षित परिवारका भए पनि या साथमा नै भए पनि कामकाजी बाबुआमाका सन्तानले अभिभावकको पूर्ण रखबारीमा हुर्किंदै व्यक्तित्व विकास गर्न पाएका छैनन् । यस्तो अवस्थामा बालबालिकाको सङ्गत, आचरण, समय व्यवस्थापन, हाउभाउ, प्रस्तुतीकरण, व्यवहार, रहनसहन सही ढङ्गबाट निर्देशित गर्न समुदायको ठुलो भूमिका रहन्छ ।

कुनै परिवारमा घट्ने घटनाले सिङ्गो समुदायमा बसोबास गर्ने परिवारका बालबालिकालाई असर गर्दछ । त्यसर्थ घटना घटेपश्चात् होइन नघट्दै सचेत हुन सक्नु पर्छ । आफ्नै अभिभावक, आफन्त, छिमेकी, शिक्षक वा चिनेजानेकै व्यक्तिले गरेको यौनजन्य दुव्र्यवहारका कारण किशोरी मानसिक तनावमा परी आत्महत्याको प्रयाससमेत गरेका घटना हामीसामु छन् । यस्ता हैरानी बेहोरेका विषयमा बोल्न किशोरी सजिलै सकिरहेका हुँदैनन् । छोरी कुन परिवारको नभनी पीडित अझै पीडित बन्न सक्ने विषयमा सचेत हुँदै समुदायले उनीहरूका लागि खुल्न सक्ने सहज वतावरण तयार गर्नु पर्छ ताकि आपराधिक गतिविधिले निरन्तरता पाउन नसकोस् । पीडकलाई समयमै कानुनी उपचारमा जोड्ने परिवेशको सिर्जना हुन सकोस् ।

समाज परिवर्तनशील छ, सूचना र प्रविधिको विकासले गर्दा रहनसहन बदलिएको छ । पुरानो पुस्ता र नयाँ पुस्ताबिचको सामीप्यताको कमी साथै पुराना प्रविधि, ज्ञान र सिपको हस्तान्तरण हुन सकेको छैन । बसाइँसराइ र एकल अभिभावकको कारण बालबालिकाको सिकाइको दायरा फराकिलो बन्न सकेको छैन । समुदायले यस्ता विषयमा ध्यान दिँदै बिदाको दिनमा सामाजिक कार्यक्रमको आयोजना गरी बालबालिकालाई नैतिक आचरण, मौलिक संस्कृति र परम्परागत ज्ञान, सिप हस्तान्तरण, पुराना प्रविधि, भाषा, कला, साहित्यलगायत विषयमा बोध गराउँदै व्यावहारिक बनाउनु पर्छ । समुदायको पहिचान गराउने विषय, पर्यटकीय स्थल, स्थानीय वेशभुषा, वातावरणीय सरसफाइ प्रवर्धन तथा सार्वजनिक क्षेत्रको संरक्षणका विषयमा समेत जानकारी गराउनु पर्छ । हुने खाने र हुँदा खाने सबै वर्गका मानिस समुदायमा बसोबास गर्छन् । यस्ता दुवै खालका परिवारका बालबालिका फरक फरक प्रकृतिका जोखिममा हुन्छन् । कोही आर्थिक सम्पन्नतामा हुँदा कुलतमा फँस्ने त कोही आर्थिक तथा पारिवारिक हेरचाहको अभावमा तीव्र इच्छा हुँदाहुँदै पनि शिक्षालाई निरन्तरता दिन नसक्ने हुन्छन् । 

बालबालिकाले समुदायबाट धेरै कुरा सिक्छन्, अनुकरण गर्छन् । उनीहरूले अरूले गरेका गतिविधिलाई नियालेर हेर्ने र बुझ्ने प्रयास गरिरहेका हुन्छन् । कसैले बालविवाह गरेमा, श्रममा बालबालिका प्रयोग गरेमा, अग्रजले मादक पदार्थ सेवन गरेमा, अपमानजनक व्यवहार गरेमा वा यस्तै हानिकारक अभ्यास समाजमा हुँदा कुनै पनि प्रतिक्रिया नहुने, कानुनबमोजिम पीडकलाई सजायका लागि वातावरण सिर्जना नहुने र सबैले मौन समर्थन गर्दै जाने हो भने अवश्य पनि बालबालिकाले त्यसैको सिको गर्दै जान्छन् र कुप्रथा तथा हानिकारक अभ्यासले निरन्तरता प्राप्त गर्छन् । जुन कसैको लागि पनि हितकर हुँदैनन् । तसर्थ समुदायमा हुने हानिकारक अभ्यास र खुलेआम गरिने अनैतिक व्यवहारको सबै मिलेर प्रतिवाद गर्नु पर्छ, यसले बालबालिकालाई सानैदेखि खराब प्रवृत्तिमा लाग्नबाट संरक्षण गर्छ ।

समुदायमा आधारित संस्थाले नियमित रूपमा बालबालिकालाई सहभागी गराएर ध्यान, योग तथा सकारात्मक सोच अभिवृद्धि गराउने कार्यक्रम तथा प्रवचन कार्यक्रम सञ्चालन गर्न सकेमा बालबालिकालाई असल बाटोमा डो¥याउन मद्दत पुग्छ । समुदाय स्तरमा बाल समूह गठन गरेर सम्भावना केन्द्रित र समस्या समाधानमा केन्द्रित विभिन्न अतिरिक्त क्रियाकलाप उनीहरूकै नेतृत्वमा सञ्चालन गर्न गराउन सकेमा बालबालिकामा रहेका प्रतिभा उजागर गर्न सहयोग पुग्ने छ । साथै समुदाय स्तरमा रहेका समस्याप्रति सजग हुँदै समाधानमा समेत उनीहरू प्रयत्नशील रहन्छन् अर्थात् जिम्मेवारी बोध गर्न सक्ने हुन्छन् । हामीले अहिले प्रदान गरेको वातावरण र अवसरले नै बालबालिकाको भविष्य निर्धारण हुने भएको हुँदा बालबालिकामा पर्याप्त लगानी गर्न सबैले पहल गरौँ ।   

Author

विष्णुकुमारी लामिछाने