शक्तिशाली हुन्छ–
मौनताको हतियार !
रेट्न सक्छ बिनास्पर्श हृदयहरू
भत्काउन सक्छ सम्बन्धका सारा नेटवर्क
र, उसै गरी
जोड्न पनि सक्छ बिनामल्हम
चर्चरी चिरिएका मनहरू ।
मौनताको बरखी बारेर
४८ घण्टा त हो– चकमन्नता झेली हेर
लाग्छ– एक युगभन्दा भारी पीडादायी ।
मौनताको यो शीतयुद्धकालमा
कैयौँ उल्काहरू
जलेर भस्म हुन्छन्– मनोआकाशमा
कैयौँ तारा बल्दै निभ्दै
समय कण कणमा टुक्रिएर खस्छ
र, एक दिन त समाप्त हुन्छ
तिम्रो र मेरो मौन अवधि ।