• १ असार २०८२, आइतबार

हिउँको क्यानभासमा प्रकृतिको चित्रकला

blog

पोखराबाट सुरु भएको यात्राले हरेक मोडमा प्रकृतिका नयाँ रङ भेट्टाउँथ्यो । हरिया वनजङ्गलको सामीप्यमा फुलेका गुराँस, बारीभरि फापरका फूल अनि भन्ज्याङको चेपबाट देखिएका टल्किरहेका हिमालका हिमकण ! यी सबैले मनभित्र चित्रकारिता कोर्दै गएका थिए । धमिला रेखामाथि रङको लेपन थपिँदै गइरहेको थियो ।

दृश्यमा रमाउँदै दौडिरहेका आँखा स्थिर हुन सकिरहेका थिएनन् । सर्वत्र हिमाली सौन्दर्यका छटा हेर्नुको भ्याइनभ्याइले मन चञ्चल भइरहेथ्यो । खुट्टाले फड्को मार्न अल्छी गरेर के गर्नु ? मन हिमाली हावाको खुश्बु बटुलेर बतासिरहेको थियो । जताततै हिउँको उरुङ खातमाथि टेक्दै दौडिँदा भास्सिने, चिप्लिने र चिसिने डर हुँदाहुँदै त्यसको कुनै मतलब नराखी जोस र जाँगरका साथ हिउँमा डुबुल्किनुको विकल्प थिएन । ती हिमालको उपस्थिति मौन तर प्रभावशाली चिसो बतासमा बगिरहेको लोकधुन जस्तो लाग्थ्यो । 

हिउँको क्यानभासमा सूर्यको लाली परेपछि ती चुचुराले रातो मजेत्रो ओढे झैँ लाग्थ्यो । मान्छे र प्रकृतिको मिलनविन्दु मैले यहाँ महसुस गरेँ । गुरुङ बस्ती पार गर्दै जाँदा जीवनको अर्को तस्बिर झल्कन्थ्यो– दुःखमा पनि हाँस्न जानेका अनुहार । पाहुनालाई सम्मान गर्ने संस्कृति । झुप्रोभित्र बलेसीको न्यानो र लोककथा, उखानटुक्कामा रमाउने गाउँले मन । चिसो हिमाली परिवेशमा पनि तातो आत्मीयता झल्किने यी अनुभूति मेरा पाइला अघि बढ्ने ऊर्जा बने । मैले यस्तो दृश्यमा पनि प्रकृतिको चित्रकला देखेँ । देख्न सक्नुपर्ने रहेछ नराम्रोपनमा पनि सौन्दर्य फक्रिन सक्छ । दुःखमा पनि सुख मिल्न सक्छ । कलाको विशेषता यही हो ।

मेरो गन्तव्य अन्नपूर्ण आधार शिविर । ४१३० मिटर उचाइमा अवस्थित, चारैतिरबाट सेता हिमालले घेरेको एक रोमाञ्चक सानो उपत्यका । यहाँ आएपछि यो पृथ्वीको कुनै नौलो ग्रह जस्तो लाग्यो । यहाँ समय स्थिर, बतास मौन र प्रकृति ध्यानमग्न थियो । पदयात्री पनि चुपचाप दृश्यमा हराइरहेका, रमाइरहेका र प्रकृतिमै विलीन भइरहे जस्तो लाग्थ्यो ।

सौन्दर्यको अनुपम मिठासमा स्वाद लिँदै हिमालका कुनाकन्दरा, पाखापखेरातिर आँखा दौडाइरहेका थिए । यसरी त्यहाँ आँखा रमाउनुको आनन्दसँगै यात्राको सन्तुष्टिले साकार रूप लिइरहेको थियो । हिमाल हाँसेर हरेक यात्रीलाई आफूमा विलीन गराउँदै थियो । आमाको काखमा जस्तै हिमालको काखमा लुटुपुटिँदै पदयात्रीका पाइला हिउँमा चिप्लिँदै जीवनको सर्वाधिक उत्सव मनाइरहेको थियो । यो उत्सवमा हिउँको क्यानभासमा प्रकृतिको चित्रकला निर्माण भइरहेको थियो ।

सन्ध्याकालीन क्षणमा जब अन्नपूर्णको गगनचुम्बी शिरमा सुनौलो सूर्यको झुल्को पथ्र्यो, तब त्यो क्षणको मिठास शब्दभन्दा पृथक् अनुभव हुन्थ्यो । रात पर्दै गएपछि हिमालको सेतो पत्र पत्रमा चन्द्रमाको मृदु किरण परेर अकल्पनीय दृश्य सिर्जना गथ्र्यो । त्यहाँ चित्रकला मात्रै होइन, प्रकृतिको अनुपम कविता सिर्जना हुन्थ्यो । अनुभूतिको विशाल आयामले सिर्जनशील मनहरूलाई लेखनमा यसले नयाँ ऊर्जा दिन्थ्यो ।

त्यही सौन्दर्यमा हराउँदै मनले सोध्यो, “के यही हो, सौन्दर्यको चरम अनुभूति ?” हावामा मिसिएर हिउँको थुप्रोबाट जवाफ आयो, “हो, अवश्य ! हिउँको यही क्यानभासमा प्रकृतिको चित्रकला निर्माण हुन्छ । हिमाली प्रकृतिको सौन्दर्य यही ठाउँमा उदय हुन्छ ।” सायद हो, किनभने प्रकृतिले यहाँ जुन अनुपम मिठास दिएको छ । त्यो कुनै चित्रकारले कोर्न सक्दैन, कुनै कविले शब्दमा उतार्न सक्दैन । अनुभूतिमय र कल्पनातीत दृश्यका मनोरम फाँटहरू । वास्तवमा यो हृदयमा कुँदिएको यात्रा थियो । यो मनले रोजेको गन्तव्य थियो । यहाँ आएपछि प्रकृतिलाई प्रणाम गर्नु र मनले चाहेको कुरा पूरा भएपछिको खुसी अपार हुनु स्वाभाविक भयो ।

अन्नपूर्ण आधार शिविर पुग्न सजिलै सकिँदैन । तथापि सास्तीको सुस्केरासँगै सुगन्ध र सौन्दर्यको शाश्वत पक्ष सराबरी मिल्थ्यो । वातावरणभरि हिमाली सुगन्ध व्याप्त थियो । यात्राका दिन शरीरका मांसपेशीमा झुन्डिएर बसेका थिए । ठाडो उकालो देख्नासाथ नौनाडी फतक्कै गलेर थकाइले अँगालो मारिरहेको हुन्थ्यो तर सास्तीभित्रै पनि कतै आनन्दको सुगन्ध मिसिएको थियो । कहीँ प्रकृतिका मनोरम दृश्यले अथाह खुसीको सौगात बाँड्थ्यो । 

त्यसले लर्खराएका पाइलालाई ऊर्जा दिँदै उकालोमा पाइला चाल्न प्रेरित गरिरहन्थ्यो । लागिरह्यो– कति प्रिय, कति मायालु दृश्यका लस्कर ! एकपछि अर्को लर्को उस्तै उस्तै । अपितु पृथक् आकृतिहरूमा सौन्दर्यको आकर्षक विम्ब बोकेर उपस्थित । आफूलाई हेर्न आएका यात्रीलाई तृप्त पार्न अग्रसर स्वरूप । अन्ततः अन्नपूर्ण आधार शिविरमा पुगेपछि, हामी हिमालको विशाल छायामा उभियौँ । सेता, निला र सुनौला रङका शीतल र शान्त स्वरूपसँग खेल्दै गरेको अन्नपूर्ण हिमशृङ्खला ! आकाशमा कुनै बादलको टुक्रा थिएन तर बिस्तारै हिमालको शिरबाट चुरोटको धुवाँ जस्तै बादल निस्किँदै थियो । हिमालको काखमा अरू यात्री जस्तै म पनि अनन्तको अनुभूतिमा हराएको थिएँ । सौन्दर्य यहाँ क्षणिक थिएन, अनन्त र शाश्वत थियो ।

शरीर थाकेको थियो । खुट्टा टनटन दुखिरहेका थिए । पैताला भतभती पोलिरहेको थियो तर मन शान्त तलाउ झैँ स्थिर थियो । भोकले बटारिएका आन्द्रा । घामले डढेका अनुहार । तथापि पुग्नुको ध्याउन्न मात्रै एकहोरो थियो । पुगेपछिको उपलब्धिले हर्षका हजारौँ पुष्पवृष्टि गराउने विश्वास थियो । चाहनाको प्राप्तिले अपार खुसीको उत्सवमा थकित शरीर पनि चिसो हिउँमा बुरुक्क उफ्रिन थाल्थ्यो ।

अन्ततः अगाडि देखिने अन्नपूर्ण हिमालको स्निग्ध सौन्दर्यको साक्षात्कारले खुसी भित्रिन्थ्यो । उकालोमा पाइला घिसारेको सास्ती भुलिन्थ्यो । भोक हराउँथ्यो, डर भाग्थ्यो, एक्लोपनको आभास बाँकी रहँदैनथ्यो । त्यहाँ हिमाल एक दर्शन थियो । कष्टमा पनि सुगन्धले भरिएको, सौन्दर्यको शाश्वत पक्षसँग जोडिएको हुन्थ्यो ।

प्रकृतिको सौन्दर्य दृश्य मात्र होइन, अनुभूति पनि हो भन्ने पाठ यस यात्राले मलाई पढायो । यसका साथै त्यसलाई पढ्न जान्नु पर्छ, बुझ्न सक्नु पर्छ र ग्रहण गर्नु पर्छ । त्यसपछि त्यसलाई अनुभूतिका अक्षरमा लिपिबद्ध गर्नु अर्को सुन्दर कर्म हो भन्ने कुरा पनि मैले बुझेँ । यसरी आँखाले देखेर, मनले मनन गरेर हृदयले लेख्नु साँचो सिर्जनाको मौलिक पक्ष हो । त्यसमा जीवन र प्रकृतिका पल प्रविम्बित हुन्छन् ।

अन्नपूर्ण आधार शिविरको मौन हिमाली लस्करले जीवनका धेरै सार बताए झैँ लागिरह्यो । पदयात्राले बेहोरेका अनेकौँ कठिनाइ र बाधाव्यवधान हुन्छन् । ती सबै सास्तीका सुस्केरामा मैले मगमग सुगन्धमय प्रकृतिका दृश्य भेटेँ । 

वास्तवमा गन्तव्यभन्दा पनि यात्रा नै महत्वपूर्ण हुन्छ किनकि त्यही यात्राले हामीलाई पुर्‍याउँछ र नयाँ दृष्टिकोण दिन्छ, आत्मालाई समृद्ध बनाउँछ । हेर्ने आँखा र मनलाई शान्त र गम्भीर पार्छ । त्यसका लागि यात्राका क्रममा मौसमले पनि साथ दिनु पर्छ ।  खुलेको सफा मौसममा पहाड नजिकै देखिन्छन् । टाढाका हिमाल आँखैसामु आउँछन् । वनका रुख र तिनका पात स्पष्ट देखिन्छ । देखिएका दृश्य, भेटिएका यात्री र तिनका बोली व्यवहारले यात्राको बेग्लै मिठास महसुस गराउनु स्वाभाविक हो ।

म फर्किंदा पनि अन्नपूर्ण आधार शिविरका तिनै दृश्य मनभरि बोकेर आइरहेको थिएँ । हिमालको काखमा बसेर अनुभव गरेको त्यो मौनता, त्यो सौन्दर्य, त्यो प्रकृतिको मिठास ! सायद जिन्दगीभर मेरा अक्षरमा जिउँदै रहने छन् । जीवन्त साक्षी बनेर यादको दस्ताबेजमा मीठो सम्झना बनेर आइरहने छन् । अन्नपूर्ण आधार शिविरबाट फर्किंदा मनमा नयाँ ऊर्जा थियो । आत्मामा नौलो अनुभूति सङ्गृहीत भयो । यात्राले मात्र होइन, त्यहाँको हिमाली मौन सौन्दर्यले पनि मलाई धेरै कुरा सिकाएको थियो । सौन्दर्य महसुस गर्न आँखा मात्र होइन, मनको झ्याल पनि खुला हुनु पर्छ भन्ने आत्मबोध भइरहेको थियो ।

त्यही भावका साथ फर्किएँ– मनभरि हिमालको याद, हृदयभरि प्रकृतिको अनुपम मिठास बोकेर । अनुभूतिका बग्रेल्ती विषय, भाव र सिर्जनाका मुहानै लिएर ।

हुनु पनि अन्नपूर्ण आधार शिविरमा प्रकृति, सौन्दर्य र जीवनको अभूतपूर्व मिठास मिश्रित थियो । एउटै देश र भूगोलका होइन, अनेक देशका मान्छे त्यहाँ प्रकृतिरमणको आनन्द भेट्न दिनदिनै हिँडाइको कष्ट बिर्सिएर आएका थिए । हिउँको क्यानभासमा निर्मित प्रकृतिको चित्रकला हेर्न पदयात्रीको ओइरो लागेको थियो । म पनि प्रकृतिको त्यही अनुपम चित्रकला हेर्ने अभिप्रायले अन्नपूर्णको फेदीमा पुगेको थिएँ । अन्नपूर्णको काखमा मेरो प्रथम पाइला र आँखाले हिमाली साम्राज्यसँग साक्षात्कार गर्न पाएर मेरो मन आह्लादित भयो ।