• १ असार २०८२, आइतबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

blog

आगलागी हुँदै गरेको गोबिन्द बोहोराको घर । तस्बिर : गोरखापत्र

नवीनराज कुइँकेल
लमजुङ, जेठ ३१ गते ।
लमजुङको सुन्दरबजार नगरपालिका–६ बरेटारमा शुक्रबार राति भएको भीषण आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

शुक्रबार राति ११ः५५ बजे गोबिन्द बोहोराको दुईतले जस्ताको छानो रहेको कच्ची घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जानकारी दिएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय सुन्दरबजार, भोटेओडार, जिल्ला प्रहरी कार्यालय लमजुङ, चण्डी प्रसाद गण, सशस्त्र प्रहरी बल आश्रित गुल्म रानिकुवा तथा स्थानीयवासीसहित घटनास्थलमा टोली खटिएको थियो ।

आगो नियन्त्रणका लागि बेँसीसहर नगरपालिकाको दमकलसमेत प्रयोग गरिएको थियो । आगो छिमेकी बस्तीतर्फ फैलिने उच्च जोखिम देखिएपछि तत्काल जेसीबी प्रयोग गरी घर भत्काइएको र राति १ः१५ बजे पूर्णरूपमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिनुभयो ।

उक्त घटनामा मानवीय तथा चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ । यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ । प्रहरी र स्थानीयवासीको सक्रियताले बजारमा ठुलो क्षति हुनबाट जोगिएको छ ।