• १ असार २०८२, आइतबार

टोखा घुमेर पूजनको भाका सुन्दा

blog

मेरो मनमा अन्योल छाएको थियो, कसरी यो भ्रमण सम्भव होला र ? डा. सावित्री श्रेष्ठले सिद्धिश्वरमान अक्षलोक साहित्यिक भ्रमणको निम्ता गर्नुभएको थियो । सिद्धिश्वरमान श्रेष्ठले २०३७ सालमा अक्षलोक साहित्यिक पत्रिका स्थापना गर्नुभएको हो । प्रगतिशील पक्षधरताका कारण नेपाली प्रगतिशील साहित्यमा उहाँको योगदान बिर्सन सकिँदैन । २०७८ जेठ २७ गते कोरोनाका कारण सिद्धिश्वरमानको दुःखद निधन हुन पुग्यो । उहाँको निधनपछि डा. सावित्री श्रेष्ठले सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र स्थापना गरेर यसको विस्तार र विकासमा लाग्नुभएको छ । डा. सावित्री पनि अर्थशस्त्र विषयमा विद्यावारिधि गरेकी कर्मठ व्यक्ति, प्राध्यापक, साहित्य सर्जक एवं यस केन्द्रकी संरक्षक हुनुहुन्छ । 

विसं २०८१ चैत ३० गते शनिबार । मेरी छोरी आर्याको जन्मदिन । यस दिन साहित्यिक परिभ्रमण गर्न निम्ता पाइएको छ, छिमेकीबाट । नजाने कुरा भएन । म बिहानै बेलायतमा अध्यनरत छोरीलाई जन्मदिनको शुभकामना दिएर साहित्यिक भ्रमणका लागि तयारी थाल्छु । मौसम बिग्रिएर, कालोमैलो अँध्यारो परिवेशमाझ वर्षा सुरु हुन्छ । यस्तो अवस्थामा कसरी कार्यक्रम सम्पन्न होला र ? 

सहभागिताका लागि आमन्त्रित कतिपयबाट डा. श्रेष्ठको फेसबुक मेसेन्जरमा प्रश्न ओइरिन थाल्छन् । जवाफ के आउँछ ? भनेर म पर्खन थाल्छु ।

डा. सावित्रीको जवाफ आउँछ, “चिन्ता मान्नु पर्दैन । यो मौसम एकै छिनमा खुल्छ । सहज रूपमा कार्यक्रम सम्पन्न गर्न सक्ने छौँ । निर्धारित समय र स्थानमा सबै जना भेला होऔँ ।”

सावित्रीजीको यो जवाफ सुनेपछि छाता र झोला बोकेर तोकिएको स्थानतर्फ लाग्छु । मनमा दुबिधा चाहिँ अझै हुन्छ । यस्तो गड्याङगुडुङ गरेर प्रकृति गर्जिरहेछ । पानी रहने र मौसम खुल्ने कुनै सङ्केत छैन । तथापि म गइरहेको छु मनमा विविध कुरा सोच्दै र गुन्दै ।

उपत्यकामा अन्य उद्देश्यले बारबार यात्रा गरे पनि साहित्यिक यात्रा यो पहिलो नै हो । मन मनमा कुरा खेलाउँदै कोटेश्वर खरिबोटछेउमा पुग्दा एउटा पहेँलो रङको बस भेटिन्छ । हाम्रो भ्रमणको साधन त्यही रहेछ । छेउमा पुगेर हेर्छु । एक जना साहित्यकारको साथ लागेर डा. इन्दुल केसी (८४ वर्ष) छाता ओेडेर आइरहेको देख्छु । श्रद्धापूर्वक हात जोर्छु । यो उमेरमा यस्तो मौसममा कस्तो गौरव गर्नलायक ऊर्जा छ केसीजीमा । म अचम्मित हुन पुग्छु । आफैँभित्रको सङ्कोचले अलिकति खुम्चिन्छु । उमेर र मौसम केही पनि होइन, साहित्यानुरागीका निमित्त भन्ने उत्साहपूर्ण सन्देश बोकेर डा. केसी मेरो नमस्कारको प्रत्युत्तर दिनुहुन्छ मुस्कानसाथ । उहाँको मुस्कानमा औपचारिकता मात्र हुँदैन, त्यहाँ लगाव र निष्ठा बोलेको बोध हुन्छ मलाई ।

डा. सावित्री श्रेष्ठको वासस्थाननजिक पुग्छौँ । सावित्री श्रेष्ठ र कमल सुवेदी साहित्यिक भ्रमण ब्यानरसहित आवश्यक सामग्री लिएर आइपुग्नुहुन्छ । अरू साथी थपिन्छन् । बस कोटेश्वर चोकतर्फ गुड्छ । पानी परेकै छ, मौसम उस्तै छ । मेरै निम्तामा भक्तपुरका पूजन मिश्र, शब्दाङ्कुर साहित्यिक मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठ पनि बसमा चढेपछि बस अघि बढ्यो ।  बाटो खुला र भिजेको छ । धुवाँधुलो छैन, गाडी सरररर चलेको छ । एक मनले भन्दा आनन्दानुभूतियुक्त यात्रा छ । पूजन मेरो साथमा बस्दै सोध्छिन्, “हजुर यस्तो कार्यक्रममा पहिले पनि जानुभएको छ ?” मैले जवाफ फर्काएँ, “यो मेरो पनि पहिलो पटक हो ।” हामी तीनकुने, बानेश्वर, सिंहदरबार हुँदै वीर अस्पताल पुग्छौँ । वीर अस्पतालमा जलेश्वरी श्रेष्ठलगायत साहित्यकार चढेपछि रत्नपार्क, रानीपोखरी, राष्ट्रिय नाचघर हुँदै लैनचौर पुग्छौँ । लैनचौरमा प्राज्ञ लक्ष्मी मालीलगायत अन्य साहित्यकर्मी थपिन्छन् । हामी शिक्षण अस्पताल छिचोलेर चक्रपथ पुग्छौँ। 

बादल पातलिएर बाहिर केही परसम्म देख्न सकिने बनेको छ परिवेश । सडक किनाराका पसल मौन देखिन्छन् । ग्राहक पर्खिएर निस्ताएका झैँ । हामी चक्रपथ पुग्दासम्म मौसम परिवर्तन हुन पुग्छ । डा. श्रेष्ठले भने जस्तै पानी रोकिन्छ, बादल फाट्छ, घाम लाग्न थाल्छ । कस्तो संयोग ? उहाँले भनेको ठ्याक्कै मिलेको । सहभागीबिचमा कुरा चल्छ । सबैमा खुसी छाउँछ ।

टोखा नगरपालिका भवनको पाँचौँ तलामा लिफ्टमार्फत पुग्दा भव्य हलमा अन्य क्षेत्रबाट सहभागी आइसकेका भेटिन्छन् । कतिपय सहभागी आउने क्रम जारी नै हुन्छ । ९० वर्षीय द्वारिका श्रेष्ठको प्रमुख आतिथ्यमा डा. इन्दुल केसी, जलेश्वरी श्रेष्ठ, गङ्गा सकजू, होमनाथ सुवेदी, लक्ष्मी मालीलगायत ज्येष्ठ नागरिकको सहभागिता पाउँदा मन हर्षले विभोर हुन्छ । 

कथा सबैका आफ्नै हुन्छन् । उमेर पनि एउटा कथाको अंश नै हो, जहाँबाट हिँडेर जीवन नाघिन्छ । ज्येष्ठ नागरिकमा रहेको यो उत्साह, उमङ्ग र लगाव वर्णन गरेर नसकिने स्तरको हुन्छ । मलाई लाग्छ अक्षर ज्ञानभन्दा ठुलो, विशाल र गहिरो अरू ज्ञान हुँदैन । 

कार्यक्रममा ‘यात्रा जिन्दगीको’ र ‘सेतो मृगु’ को चर्चा डा. सावित्री श्रेष्ठले गर्नुभयो । आफ्नै किताब ‘यात्रा जिन्दगीको’ चर्चा सुन्दा निकै रमाइलो अनुभूति भयो । ‘सेतो मृगु’ का लेखक पोषरमण चापागार्इं नियात्रा लेखनमा अभ्यस्त स्रष्टा मानिनुहुन्छ । 

संस्था स्थापना गरेपछि सदस्यता वृद्धि गर्ने, स्रष्टालाई सम्मान, पुरस्कृत गर्ने रहर जोकोहीलाई पनि हुने गर्छ । अझ त्यो सङ्ख्यात्मक रूपमा मात्र नभएर गुणात्मक होस् भन्ने भित्री भावना सबैको हुन्छ । यहाँ पनि रत्नकुमार श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, ध्रुव नेपाल, धीरकुमार श्रेष्ठ र महेशराज खरेल गरी पाँच जना स्रष्टालाई आजीवन सदस्यता प्रदान गरियो । केही स्रष्टाले कविता वाचन गरेपछि मैले पनि वाचनमा सहभागिता जनाएँ । गीत गायनमा पूजनजीको अनिच्छाले खल्लो बनायो । पूजन मिश्र मिठो स्वरकी धनी । उहाँको गायनकला निकै मिठो र आकर्षक छ । मिठो गीत सुन्ने आकाङ्क्षा तुहियो । कला साहित्यकार वा स्रष्टाका योग्यता प्रस्तुत हुने र ती प्रस्तुति हेर्ने, सुन्ने र पर्गेल्ने स्रोताका आशा अपेक्षा यस्तै अवसरमा हुने गर्छन् तर यहाँ पूजनजीले त्यो गुमाएको बोध हुन्छ मलाई ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको सहभागिताले कार्यक्रमलाई निकै ओझिलो बनाएको थियो । कार्यक्रम सकेर हामी सपन तीर्थस्थलमा पुग्यौँ । निकै आकर्षक, सुन्दर तलाउ र चन्द्रेश्वरी मन्दिरका साथै फराकिलो परिसर पाएर दङ्ग भयौँ । सामूहिक केही तस्बिर खिचेपछि हामीले चिया पियौँ ।

टोखा पुरानो स्थानीय बजार । आज पनि त्यहाँ कतिपय समयले छोडेका परम्परागत मान्यता देख्न पाइन्छ । हामीले सखर र चाकु किन्यौँ । त्यहाँ महिला परम्परागत पहिरनमा ओखलमा मुसलले धान र चिउरा कुटिरहेका हुन्छन् । हाम्रा आमा, हजुरआमाले दैनिक प्रयोग वा उपयोग गरेका ढिकी, जाँतो, ओखल, मुसलको कथा सुनेका हामीलाई यो निकै कौतुहलको विषय बन्छ । अझ पछि पछिका पुस्ताका लागि त यी सब पक्ष अनुसन्धानका विषय बन्न पुग्लान् । हामीले यी दृश्य क्यामरामा कैद गर्‍यौँ ।

त्यसपछि हामी चण्डेश्वरी पुग्यौँ । पौराणिक कथा अनुसार सतीदेवीले अग्निमा हामफालेको स्थान रे चण्डेश्वरी । सतीदेवी हामफालेको त्यहाँ एउटा कुण्ड रहेछ । वरिपरि मन्दिर रहेछन् । उपत्यकाको उत्तर भित्तो रहेछ यो स्थान । यसको थोरै दक्षिण–पश्चिममा बुढानीलकण्ठ पौराणिक स्थान अवस्थित छ । हाम्रो यो भ्रमणको उद्देश्य बुढानीलकण्ठको दर्शन गरेर फर्कने रहेको भए पनि बिहानको मौसम र दिउँसोको टोखा बजारको अलमलले सम्भव भएन । हामी यहीबाट फर्कियौँ । फर्किने बेलामा पूजनले गीत गाउन थाल्नुभयो । हामी सबैले थपडी बजाएर साथ दियौँ । पूजनको गायनमा रम्दै, झुम्दै गन्तव्य भेट्न हामी हतारिरहेका थियौँ ।