सचिन पोख्रेल
विराटनगर, जेठ ३१ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि चीनका राजदूत चेन सोंगबिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मुख्यमन्त्री कार्की र राजदूत सोंगबिच भेट भएको हो ।
भेटका अवसरमा दुईपक्ष हितका विषयमा कुराकानी भएको थियो । सो भेटघाटमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको कामका विषयमा प्रकाश पार्नुभएको थियो । कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्नका लागि पनि राजदूत सोंगलाई मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो । उहाँले किमाथांका–जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
सो अवसरमा राजदूत सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताउनुभयो ।उहाँले कोशी प्रदेशको कृषि उत्पादन बजारीकरण का विषयमा चासो राख्नुभयो ।
राजदूत सोंगले किमाथांका क्षेत्रमा आफ्नोतिर सबै निर्माण काम भएको तर नेपालतर्फ काम हुन नसकिरहेको विषयमा पनि चासो राख्नुभएको थियो । चीनतर्फको भागमा अहिले निर्माण कार्य सम्पन्न भइसकेको छ । नेपालतर्फको निर्माणमा ध्यान दिनुपर्ने कुरामा उहाँको जोड थियो । राजदूत चोग विगत चारदिनदेखि कोशी प्रदेशको झापा, इलाम र मोरङ जिल्लाको भ्रमणमा हुनुहुन्छ । उहाँले इलामलगायत कोशी प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारले गरेको सहयोगका कार्यक्रम हरू निरीक्षण गर्नुभएको थियो ।