• १२ मंसिर २०८१, बुधबार

चीनको विकासबाट लिन सक्ने लाभ

blog

विज्ञान र प्रविधिको द्रुत विकासले अग्ला पहाड मात्र होइन, हिमालका चुचुरा नाघेर सम्बन्ध सुदृढ हुन सक्ने बनाइसकेको छ । नेपाल र चीन सम्बन्धमा यही देखिइसकेको छ । सताब्दिऔँदेखि सुमधुर सम्बन्ध भएको दुई मुलुकबिच आर्थिक सम्बन्धसमेत बलियो बन्दै गएको छ । जनजनको सम्बन्ध अझ सुदृढ भइसकेको छ । दुई देशबिच राजनीतिक र जनता तहमा आवतजावत निकै बढेको छ । पछिल्लो दस वर्षमा त चीनले नेपालमा रोजगारी सिर्जनाका लगानीलाई प्राथमिकतामा राखेको छ । चिनियाँ सहयोग बढिरहेका छन् । 

चीनको सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो । चिनियाँ प्राविधिकबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बनेको छ । चिनियाँ निर्माण कम्पनी फास्ट ट्र्याकको निर्माणमा अहोरात्र खटिएका छन् । राजमार्गका अलावा सुरुङमार्गमा चिनियाँ निर्माण कम्पनी सक्रिय छन् । चीनको प्रविधिको विकासबाट नेपालले लिन सकेको लाभ हो यो । नेपालमा चिनियाँ लगानी बढ्दो छ । सिमेन्ट उद्योगमा चिनियाँ लगानी छ । यसबाट एकातर्फ रोजगारीको अवसर सिर्जना भएको छ भने अर्कोतर्फ नेपालको आन्तरिक विद्युत् खपतसँगै राज्यलाई कर प्राप्त भएको छ । चीनको आर्थिक र प्राविधिक विकासबाट नेपालले लिन सकेको लाभ हो यो । 

चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनबाट नेपालको विकासमा योगदान गर्न खोजिरहेको छ । यो विषयलाई चिनियाँ राजदूत छन सोङले प्राथमिकता दिँदै आउनुभएको छ । उहाँले नेपालले आर्थिक फड्को मार्न व्यापार घाटालाई कम गर्नुपर्ने सुझाव पनि दिनुभयो । यो निकै सकारात्मक र रचनात्मक सुझाव हो नेपालका लागि । चीनको आर्थिक विकासको अनुभव उहाँले सुनाउनुभयो । वास्तवमा कुनै पनि देश व्यापार घाटा बेहोरिरहँदा आर्थिक रूपमा सङ्कटमा पर्न सक्छ । आन्तरिक उत्पादन बढाएर विदेशमा निर्यातसमेत बढाउन सक्ने आधार तयार गर्नु पर्छ । राजदूत सोङको आशय यही देखिन्छ । यो नेपाललाई निकै राम्रो सुझाव हो । 

नेपालले विद्युत् व्यापारबाट लाभ लिन सक्छ तर विद्युत् व्यापारमा पनि नेपालले घाटा बेहोरिरहेको छ । यसका लागि आन्तरिक उत्पादन बढाएर निर्यात पनि बढाउन सक्नु पर्छ । 

चीन नेपालको जलविद्युत्मा लगानी गर्न तयार देखिन्छ । त्यसका लागि यहाँ उपयुक्त वातावरण बन्नुपर्ने अनिवार्य हुन्छ । उद्योगधन्दामा वैदेशिक लगानी देश विकासको महत्वपूर्ण आधार पनि हो भन्ने आर्थिक रूपमा सम्पन्न देशबाट देखिइसकेको छ । लगानीको वातावरण बनाउने दायित्व सरकारको हुन्छ । 

नेपालले चीनको झन्डै डेढ अर्बको जनसङ्ख्याबाट धेरै लाभ लिन सक्छ । नेपाली उत्पादन चीनमा प्रिय मानिन्छन् । यहाँको खाद्य सामग्री, छाला, कृषि सामग्री चीनमा बढीभन्दा बढी निर्यात गर्न सकिन्छ । यातायातको विकासले आयात निर्यातलाई निकै सहज बनाइसकेको छ । यसले ढुवानी पनि सहज र सस्तो हुन गई नेपालले पर्याप्त लाभ लिन सक्छ । चिनियाँ पर्यटकको नेपाल उपयुक्त गन्तव्य स्थल बन्न सक्छ । लुम्बिनी, पोखरा जस्ता ठाउँ चिनियाँ पर्यटकको आकर्षणको क्षेत्र बनिसकेका छन् । बर्सेनि चीनबाट १० लाखभन्दा बढी पर्यटक नेपाल ल्याउने वातावरण विकास गर्न सकिन्छ । चीनको ठुलो जनसङ्ख्या नेपालको आर्थिक विकासका लागि यस कारण पनि वरदान साबित हुन सक्छ । त्यसका लागि नेपाल सरकारले उपयुक्त वातावरण बनाउन सक्नु पर्छ ।

चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भइरहेका छन् । नेपालबाट पनि त्यस्ता भ्रमण भइरहनुले दुई देशबिचको सुमधुर सम्बन्ध बुझ्न सकिन्छ । २०८० सालमा त निरन्तर भ्रमण चलिरहेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवले चीनको भ्रमण गरेर महìवपूर्ण कुराकानी गर्नुभएको छ । उहाँले आर्थिक मुद्दामै केन्द्रित रहेर देशको हितमा कुराकानी गर्नुभयो । विशेष गरी कृषिको विकासमा चीनसँग सहकार्यबारे छलफल गर्नुभयो । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि यसै वर्ष चीन भ्रमण गर्नुभयो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन भ्रमणमा नेपालको पर्यटन विकासमा भूमिका निर्वाह गर्नुभयो । उच्च तहमा भएका भेटले देशको आर्थिक विकासमा योगदान पु¥याउन सकेको छ । 

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यतैबाट चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसैले भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणमा आर्थिक विषय नै मुख्य एजेन्डा हुने सन्देश प्रवाह गरिरहनुभएको छ । नेपालबाट बढीभन्दा बढी सामान चीन निर्यात गर्नेदेखि विकास परियोजना अगाडि बढाउने विषयमा तयारी देखिएको छ । बिआरआई सम्झौता कार्यान्वयनबारे पनि महìवपूर्ण उपलब्धि हासिल हुने सङ्केतहरू देखिइरहेका छन् । 

चीनले विगतका सम्झौता कार्यान्वयनमा जोड दिइरहेको छ । हुन पनि भएका सम्झौता कार्यान्वयन नभएसम्म नयाँ सम्झौता हुन कठिन हुन्छ । चीन जस्तो महाशक्ति बन्दै गरेको देश छिमेक हुनु हाम्रा लागि ठुलो अवसर हो । उससँगको सम्झौतालाई हल्का ढङ्गले लिन पनि हुँदैन । सम्झौता गर्दा र त्यसको कार्यान्वयनमा गम्भीरता देखाउन जरुरी हुन्छ । अर्कोतर्फ देशभित्र राष्ट्रिय हितमा साझा सहमति हुन पनि जरुरी हुन्छ । त्यसमाथि पनि चीनको मामलामा नेपाली निकै गम्भीर हुने गर्छन् । चीनसँगको सम्बन्धलाई सहज र सुमधुर रूपमा जनस्तरबाट हेर्ने गरिएको छ । 

नेपालको चीनसँग कहिले कुनै विवाद भएन । सम्बन्ध कति गहिरो र कति सुमधुर छ भन्ने मापन यसबाट पनि हुन्छ । चीनले पनि नेपाललाई प्राथमिकतामा राखेको सन्देश गइरहेको छ । केही वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्नुभयो । यो ऐतिहासिक भ्रमणपछि नेपालमा विकास सहयोगको लहर नै आयो । चीनले बढीभन्दा बढी विकास सहयोग गर्न चाहिरहेको छ । यसका लागि आवश्यक वातावरण सरकारका तर्फबाट बन्न जरुरी छ । 

नेपाललाई अप्ठ्यारो पर्दा चीन सधैँ सहयोगका लागि तयार छ भन्ने सन्देश गइरहेको छ । महाभूकम्प हुँदा होस् या नाकाबन्दीको बेलामा नै किन नहोस्, चीनले खुलेर साथ र सहयोग गरेको इतिहास छ । चीनबाट राजदूत भएर आएका अधिकारी नेपालको आर्थिक विकासका लागि चिन्तनशील भएको देख्न सकिन्छ । वर्तमान राजदूत सोङमा पनि यही भावना देखिन्छ । उहाँले नेपालको स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारको विकासमा चासो देखाउनुभएको छ । 

दुई देशबिच बढीभन्दा बढी सामानको आयात निर्यातमा सहजताका लागि कार्य गर्नुभएको छ । उहाँ राजदूत भएर आएपछि केरुङ र तातोपानी नाका दुईतर्फी रूपमा खुलेको छ । यसले चीनसँगको व्यापारमा सहजता मात्र आएकौ छैन, नेपालको बिग्रिँदै गएको अर्थतन्त्रमा नयाँ आशा बढाएको छ । नेपाली व्यापारी उत्साहित भएका छन् । लगानी बढेको छ । चीनसँग थप नाका खोल्नेबारे छलफल बढेको छ । यसका लागि राजदूत सोङले निकै सहयोगी भूमिका निर्वाह गरिरहनुभएको छ । 

नेपाल भूराजनीतिक दृष्टिले महìवपूर्ण ठाउँमा अवस्थित छ । चीन र भारत जस्ता उदीयमान शक्ति राष्ट्रको बिचमा हुनु नेपालका लागि अवसर बन्न सक्छ । दुई देशको व्यापारमा नेपाल सेतु पनि बन्न सक्छ । जब चीनसँगको अग्लो हिमाल अवरोध नभई अवसर बन्दै गएको छ, तब नेपालले आर्थिक क्षेत्रमा फड्को मार्दै जान थालेको छ । यो अवसरलाई निरन्तर सदुपयोग गर्दै जान सक्नु पर्छ । चीनले नेपालको शान्तिसुरक्षामा सधैँ साथ दिँदै आएको छ । यो पनि फाइदाजनक पक्ष हो । 

नेपालबाट चीनमा उच्च शिक्षाका लागि हजारौँ विद्यार्थी जान थालेका छन् । चीनबाट शिक्षा लिएर आएकाहरूले नेपालको विकासमा महत्वपूर्ण योगदान दिइरहेका छन् । चीनबाट नेपाल र नेपालीले पर्याप्त लाभ लिन सक्ने क्षेत्र व्यापक छन् । यी अवसरलाई खेर फाल्न हुँदैन । चीनको अनुभवबाट धेरै सिक्न सकिन्छ । नेपालमा भएका स्रोत र साधनको सही सदुपयोग जरुरी हुन्छ । यसका लागि लगानीको वातावरण बनाउनु पर्छ । चीनबाट लगानी बढीभन्दा बढी भित्र्याएर देशले आर्थिक क्रान्ति नै ल्याउने गरी उद्योग, कलकारखाना खोल्ने परिस्थिति विकास गर्न जरुरी छ । राज्यको जिम्मेवार निकायले यसतर्फ ठोस कदम चाल्नु पर्छ । नेपाल सुनको कचौरा लिएर माग्ने मुलुकमा सीमित हुनु हुँदैन । नेपालले लगानी भित्र्याउनु पर्छ । चीन जस्तो मुलुकबाट प्राविधिक सहयोग र उद्योग, कलकारखाना खोल्न लगानी भित्र्याएर समृद्धि हासिल गर्न सक्नु पर्छ ।  

Author

डा. शिवजीविक्रम सिलवाल