चितवन समाचारदाता
चितवन, जेठ ३१ गते । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डमा चार वटा पुल निर्माणको अन्तिम तयारी गरिएको छ । यस सडकखण्ड अन्तर्गत छ वटा पुलमध्ये चार वटा पुल असार महिनाभित्र ढलान गरेर साउन महिनामा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रले शुव्रmबारबाट पुलको ढलान गर्ने तयारी भएको जानकारी दिनुभयो । बार्बाङखोला, मोवाखोला, खटौतीखोला र गोमतीखोलामा निर्माणाधीन पुलमा ढलान गर्ने तयारी भइरहेको छ ।
पुलको बिम राख्न भारी व्रmेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको उहाँले जानकारी दिनुभयो । जेठ ३० गते राति १०ः३० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन बन्द गरेर काम गर्ने तयारी रहेको छ । असार ७ गतेसम्म राति बन्द गरेर चार वटै पुलमा बिम राखिसक्ने सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । यो समयमा अत्यावश्यकबाहेकका सबै सवारीसाधन बन्द हुने उहाँले बताउनुभयो । मलेखुबाट मुग्लिङतर्फ जाने भारी सवारी साधन मुग्लिङ र हलुका सवारीसाधन कुरिनटारमा रोकिने छन् । यसै गरी मलेखुबाट मुग्लिङतर्फ जाने भारी सवारी साधन मलेखु र हलुका सवारीसाधन शीतलबजारमा रोकिने छन् ।
२० देखि ३५ मिटरसम्मको लम्बाइ रहेको पुलको बिम राखिसकेपछि असार महिनाभित्र ढलानको काम सम्पन्न गरिने तयारी भएको छ । असार महिनाभित्र पुलको सबै काम सम्पन्न गरेर साउनदेखि सवारी साधन सञ्चालन गर्ने गरी अगाडि बढेको उहाँले बताउनुभयो । चरौँदी र हुग्दीको पुल आउँदो आवमा सम्पन्न गर्ने गरी काम अगाडि बढेको कार्यालयले जानकारी दिएको छ ।
आठ किलोमिटर कालोपत्रे
पश्चिम खण्ड अन्तर्गत ३६ किलोमिटरमध्ये आठ किलोमिटर क्षेत्रमा कालोपत्रे कार्य सम्पन्न भएको छ । यस सडक अन्तर्गत टुव्रmा टुव्रmा खण्डमा गरेर छ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी दुई किलोमिटर कालोपत्रेको अन्तिम तयारी रहेकाले केही दिनमा सकिने सूचना अधिकारी मिश्रले बताउनुभयो । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको रमाइलोडाँडा, फिसलिङ, चुम्लिङ क्षेत्रमा कालोपत्रे भएको छ । पश्चिम क्षेत्र अन्तर्गत अहिलेसम्म ३२ प्रतिशत काम सम्पन्न भएको छ । यस क्षेत्रमा छ लेन, चार लेन र डेडिकेट दुई लेनको सडक निर्माण गरिने सूचना अधिकारी मिश्रले बताउनुभयो ।
यस क्षेत्रको मुख्य बजार क्षेत्रमा छ लेन, बस्ती तथा बजार भएको केही स्थानमा चार लेन र कठिन भएको स्थानमा दुई लेनको सडक निर्माण गरिने छ । छ लेन कुल लम्बाइ २.३ किलोमिटर हुने छ । चार लेनको सडक कुल लम्बाइ ७.५ किलोमिटर हुने छ । बाँकी रहेको २९ किलोमिटर डेडिकेट दुई लेन सवारी साधन गुड्ने सात मिटर चौडाइ कायम हुने बताइएको छ ।
कडा चट्टान भएको पहाडमा भने सडक विस्तारमा कठिन भइराखेको छ । त्यसलाई बिस्तारै पहाड फोडेर फराकिलो बनाउने कामलाई भने निरन्तरता दिएको छ । मलेखु–मुग्लिङ सडकखण्डमा नाला निर्माणको काम पूरा भएको छ । सवारी साधनको बढ्दो चापका कारण काममा समस्या भए पनि एकतर्फी यातायात सञ्चालन गरेर निर्माणलाई निरन्तरता दिइएको छ ।