काठमाडौँ, असोज ५ गते । प्रेस काउन्सिल नेपालले यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार अग्रज पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।
करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैङ्गिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउँदै आउनुभएकी शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ । पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिलका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उहाँको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।
काउन्सिलले २०५७ सालमा पहिलोपल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापा र त्यसअघि काउन्सिलका संस्थापकसमेत रहनुभएका अग्रज पत्रकार भारतदत्त कोइरालाले प्राप्त गर्नुभएको थियो । शर्मा प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने पहिलो पत्रकार महिला हुनुहुन्छ ।
प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा यही असोज ६ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा शर्मालाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिने काउन्सिलले जनाएको छ । सोही दिन यस वर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट खोटाङका दमन राई, प्रेस काउन्सिल सशक्त पत्रकारिता पुरस्कारबाट सागर पण्डित र चुडामणि भट्टराई तथा प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट चेष्टा साप्ताहिक, राममणि दाहाल मकवानपुर र माधवसिंह धामी कञ्चनपुरलाई पुरस्कृत गरिने भएको छ । साथै पत्रकारितामा लामो समयदेखि योगदान पु¥याउने विभिन्न पत्रकारलाई सम्मानसहित वार्षिकोत्सव मनाउने तयारीसमेत भइरहेको काउन्सिलले जनाएको छ ।