• २३ असार २०८१, आइतबार

हस्तकला मेला सम्पन्न

blog

संविधान दिवसका अवसरमा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा आयोजित हस्तकला मेलामा राखिएका सामग्री । तस्विरः राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, असोज ४ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा हेटौँडामा आयोजित दुई दिने हस्तकला मेला सम्पन्न भएको छ । बागमती प्रदेश हस्तकला सङ्घको आयोजना र बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रवर्धनमा बुधबारदेखि आयोजित मेला सम्पन्न भएको हो ।

मेलामा धातुकला, काष्ठ कला, चाँदीका गरगहना, नेपाली हाते कागज, छालाका वस्तु, सुकुल तथा मकैका खोस्ताका सामानहरू, प्राकृतिक रेसा र कपडाका समानहरू, धातुको बाघचाल, बासको बाँसुरीलगायतका हस्तकलाका सामग्री मेलामा प्रदर्शनीका लागि राखिएको थियो । 

साथै, रसुवाको काठको ठेकीदेखि ललितपुरको शेरामिक्सका सामानसमेत मेलामा प्रदर्शनी गरिएको थियो । मेलाको समापनमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले मेलाले हस्तकलालाई प्रदेशको पहिचानको रूपमा स्थापनासँगै प्रदेशको विशिष्ट तथा मौलिक कला, संस्कृति तथा परम्परागत हस्तकलाको प्रवर्धनमा सहयोग पुगेको बताउनुभयो । 

मेलामा स्टल राखेर सहभागी बनेकालाई प्रमाणपत्र वितरण गर्दै मन्त्री चित्रकारले हस्तकलाको विकास र संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

मेला आयोजक हस्तकला सङ्घका अध्यक्ष नवीन शाक्य र हेटौँडा उपमहानगरपालिका –२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले नेपाली हस्तकलाको प्रवर्द्धन र संरक्षणमा तीनै तहको सरकारको सहयोग आवश्यक भएको बताउनुभयो । 

यसअघि बुधबार मेलाको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।