सिराज खान
नेपालगन्ज, असोज ४ गते । केही समय यता आएर कोहलपुर क्षेत्रमा सडक दुर्घटना बढ्दैगएकाले न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न ट्राफिक प्रहरीलाई सहयोगी सामग्री हस्तान्तरण गरिएको छ ।
दुर्घटना न्यूनीकरणका लागि कोहलपुर नगरपालिका अन्तर्गतको वडा १० कार्यालयले स्थानीय अस्थायी प्रहरी बिट एवम् ट्राफिक प्रहरीलाई सहयोगी सामग्री उपलब्ध गराएको हो ।
जिल्ला ट्राफिक प्रहरी बाँकेका अनुसार अस्थायी ट्राफिक प्रहरी पोष्ट हाइस्कूल तथा १ नम्बर प्रहरी बिटको अनुरोधमा ट्राफिक व्यवस्थापन एवं सवारी दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले सचेतनामूलक नारा लेखिएका ब्यारिगेटरसहित सचेतनामूलक बोर्डहरू वडा कार्यालयमार्फत उपलब्ध गराइएको हो ।
कोहलपुर नगरपालिका १० वडाअध्यक्ष गौरा भट्टराईले ८ थान ट्राफिक सचेतनामूलक नाराहरू लेखिएका ब्यारिगेटर, २–२ थान हर्न निषेध बोर्ड र यात्रु चढाउने ओराल्ने बोर्डसहित २ हजारप्रति सचेतनामूलक पर्चा, पम्पलेट हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
वडाअध्यक्ष भट्टराईले बिट इन्चार्ज आइतराम बुढा र ट्राफिक प्रहरी सहायक निरीक्षक मदन सिंहलाई ट्राफिक सचेतनामूलक सामग्री हस्तान्तरण गरेर ती सामग्रीको सदुपयोगमा विशेष ध्यान दिन आग्रह पनि गरिएको बताउनुभयो ।
कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले पछिल्लो समयमा बढ्दैगएको सवारी साधन, बढ्दैगएको जनसङ्ख्या र ट्राफिकसम्बन्धी चेतनाको अभावका कारण सडक दुर्घटना बढ्दैगएको जनाउँदै नियमहरूबारे चेतना जगाउन नियम पालनामा कडाइ पनि आवश्यक रहेको बताउनुभयो ।