छविलाल पाण्डे
बुटवल, असोज ४ गते । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शान्तिको अपिल गर्दै प्रदर्शन गरेको छ । बिहीबार बिहान रुपन्देही सैनामैना नगरपालिका ६ कलौनीमा आयोजित प्रदर्शनमा ‘हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन’, ‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री र मानव अधिकारमैत्री बनाऊँ’ भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।
त्यसैगरी मानवताविरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेऊ’, ‘सत्य निरूपण गरी पीडितलाई न्याय देऊ’ भन्ने नारा र प्लेकार्ड प्रदर्शन गरिएको हो ।
प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष गोविन्द खनालले माओवादी द्वन्द्वपछि मुलुक शान्ति शान्ति प्रक्रियामा आएको पनि डेढ दशक भैसकेपनि द्वन्द्वको अवशेष अझै बाँकी रहेकोले शान्ति प्रक्रियाका बाँकी काम छिटो टुङ्गो लगाउन सरकारसँग अनुरोध गर्नुभयो । उहाँले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोग गठन भएको लामो समय भएपनि ती आयोगले काम गर्न नसकेको भन्दै शान्ति प्रक्रियाका काम नसकिएसम्म मुलुकले साँचो अर्थमा शान्तिको महसुस गर्नै नसक्ने उल्लेख गर्नुभयो ।
खनालले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी र असमानता र विभेद अन्त्य तथा युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन सरकार, राजनीतिक दल सक्षम बन्नुपर्ने बताउनुभयो ।
निवर्तमान अध्यक्ष खनालले सङ्क्रमणकालीन न्यायलाई निष्कर्ष दिने भनी सरकारले ल्याएको अध्यादेशले गम्भीर प्रकृतिका मानवता विरुद्धका अपराधमा संलग्नलाई आममाफी दिने र पीडितले न्याय नपाउने अवस्था रहेकाले यो स्वीकार्य र कार्यान्वयन हुन नसक्ने अवस्था रहेको बताउनुभयो ।
नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष विमल ज्ञवालीले मुलुक द्वन्द्वबाट शान्ति शान्ति प्रक्रियामा आएको लामो समय भएपनि मुलुकमा साँचो अर्थमा शान्तिको अनुभूति नेपाली जनताले गर्न नसकेकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगले कामै गर्न नसक्दा द्वन्द्व पीडितले अहिलेसम्म न्याय पाउन नसकेको उल्लेख गर्नुभयो ।
प्रदर्शनका अवसरमा सैनामैना नगरपालिका ६ का वडाध्यक्ष गोपाल पोखरेल, रामापुर माविका अध्यक्ष विष्णु पाण्डे, दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोखरेल, शान्ति समाज रुपन्देहीका पूर्व अध्यक्ष हरिस ढकाल, पूजा ढकाल लगायतले विश्वमा शान्ति कायम गर्न युवाहरूको भूमिका सशक्त हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा रुस र युक्रेनबिचको युद्ध अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै विशेषगरि शक्ति राष्ट्रहरूले युद्ध अन्त्य गर्न पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।