काठमाडौं, असोज ४ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सकारात्मक चक्रमा बद्लन निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभएको छ।
कोषको ५० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘यसका लागि निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्छ।’’
अर्थतन्त्रमा समस्या छन्, तर ती समस्या बिस्तारै कम हुँदै गएको उहाँको भनाइ थियो। कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन। सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन्।’’
उहाँले पर्यटक आगमन बढिरहेको र विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ। खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्ने ठिक समय होइन, लगानी नगरौँ। बैङ्कहरूले लगानी नगरुन्, पैसा थुपारुन्, राखुन् भन्ने जुन नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ।’’
अर्थतन्त्र चलायमान हुँदा आर्थिक गतिविधि बढ्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ। राजश्वमा परेको दबाब अन्त्य हुन्छ। राजश्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ।’’
चार करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान भन्दै उहाँले करिब १७ लाख ऋणीलाई कोषले सुरक्षा दिइरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘यसको पहुँच विस्तार भइरहेको छ। साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ। लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैङ्क तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ।’’
अर्थमन्त्री महतले प्रविधिको नयाँ नयाँ विकासलाई ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ। ‘‘यो परिवर्तनको समय हो, प्रविधिको नयाँ नयाँ विकास भइरहेको छ। डिजिटल एकाउन्टिङको हामीले कुरा गरिरहेका छौँ। आइटीमा जुन क्रान्ति आएको छ, त्यसले ट्रानजेक्सनको कस्ट घटाएको छ’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘यसलाई हामीले ग्रहण गर्नु जरुरी छ। कर्जा सुरक्षा कोषले यो काममा अग्रणी भूमिका खेल्ने छ। यसले उच्च व्यावसायिकताका आधारमा काम गर्छ भन्ने सरकारले विश्वास लिएको छ। यसको सेवा विस्तार हुनुपर्यो।’’