काठमाडौं, असोज ४ गते। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचारविरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा पैदा हुने बताउनुभएको छ।
बिहीबार नेपाल बुद्धिजीवी सङ्गठनले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउने बताउनुभयो। उहाँले देशमा पारदर्शीताको अभियान, जबाफदेहिताको अभियान, कानुनको शासनको अभियान प्रत्याभूत गर्नुपर्ने बताउनुभयो। उहाँले राजनीतिक पद्धतिमाथि खतरा पैदा हुने कुराले राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुने बताउनुभयो।
गृहमन्त्री श्रेष्ठले देश बनाउन सकिन्छ कि सकिँदैन भन्ने नभई बनाएर नै छोड्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले अब तैँ चुप मै चुप भएर यथास्थिति कायम गर्ने प्रक्रियाले देश बन्न नसक्ने भन्दै देश बरबाद हुन दिन नसकिने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, ‘‘सरकारले निष्पक्ष ढङ्गले, को सरकारमा, को प्रतिपक्षमा छ भन्ने आधारले होइन, कसले आफूलाई समर्थन गर्छ भन्ने आधारमा होइन, सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउनुपर्छ। अझ सशक्त र प्रभावकारी बनाउनु पर्छ। हामीले अहिले समाजमा पनि एक प्रकारको अभियान छेड्नुपर्छ, त्यसको लागि हामीले मेहनत गर्नुपर्छ। भ्रष्टाचार विरोधी, सुशासनको अभियान, सुशासनसँग जोडिएका अरू सेवा प्रवाहको अभियान, पारदर्शीताको अभियान, जबाफदेहिताको अभियान, कानुनको शासनको अभियान हामी प्रत्याभूत गर्नसक्छौँ। यसलाई सफल बनाइएन भने मेरो, मेरो पार्टीको, अहिलेको सरकारको कुरा होइन, राजनीतिक प्रणालीमाथि खतरा पैदा हुन्छ।’’
गृहमन्त्री श्रेष्ठले देश सङ्कटपूर्ण अवस्थामा रहेको भन्दै देशलाई बचाउनका लागि सबै सङ्गठित भएर सुशासन स्थापित गर्न र उपलब्धि रक्षा गर्न लाग्नुपर्ने बताउनुभयो।