अविनाश चौधरी
धनगढी, असोज ४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आज अनुगमन गर्नुभएको छ ।
सेवा प्रवाहको अवस्था र व्यवस्थापकीय समस्या बुझ्ने उद्देश्यले मुख्यमन्त्रीले अस्पतालको अनुगमन गर्नुभएको हो । सो क्रममा उहाँले अस्पतालमा देखिएको जनशक्ति अभावको समस्या तीन महिनाभित्र केही हदसम्म सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो ।
मुख्यमन्त्रीसँगै अनुगमनमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, सामाजिक विकासमन्त्री झपटबहादुर साउद पनि सहभागी हुनुहुन्थ्यो । अनुगमनमा पुग्नुभएका मुख्यमन्त्रीसहित मन्त्रीलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभाव रहेको जानकारी दिनुभयो ।