काठमाडौं, असोज ४ गते । नेपाल नेत्रज्योति सङ्घले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा सङ्घले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजारसहित सङ्घले सम्मान गर्नेछ । प्रतियोगीले आँखा स्वास्थ्यमा केन्द्रित भई जनचेतनामूलक भिडियो निर्माण गर्नुपर्नेछ ।
सङ्घका महासचिव भरत बहादुर चन्दका अनुसार सन् २०२१ मा भएको आरएएबी सर्वेले समेत नेपालमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।
आईकेयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगीहरूले निर्माण गरेको भिडियोको विषयवस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा विषयवस्तु समावेश गर्न पाइने छैन ।
प्रतियोगीले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिङ्क पठाउन सक्नेछन् त्यसपछि प्राप्त लिङ्कलाई प्रतियोगितामा समावेश नगरिने सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन साहको भनाइ छ । विजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति सङ्घको टिकटक तथा फेसबुकमार्फत गराइने सङ्घले जनाएको छ ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र पछिल्लो समय युवादेखि बद्धसम्म सबै उमेर समूहका व्यक्तिहरूमाझ लोकप्रिय भइरहेको टिकटकमार्फत आम नागरिकलाई आँखाको महत्त्व र आँखा स्वास्थ्यका विषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
पछिल्लो समय मानिसहरूमा आएको सामाजिक सञ्जालहरूको बढ्दो लोकप्रियतालाई मध्यनजर गरेर जनचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्त जानकारी दिनुभयो ।