गुणबहादुर रोका
सुलीकोट, असोज ४ गते । संविधान दिवसको अवसरमा गोरखामा खुलादौड प्रतियोगिता सम्पन्न भएको छ । लियो क्लब अफ गोरखाले ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ बुधबार पाँचौँ खुला दौड प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
खुला दौड प्रतियोगितामा १८ जना खेलाडीहरूको सहभागिता रहेको थियो । खुला दौड प्रतियोगितामा निर्धारित दुरी पार गरेर बारपाक सुलीकोटका सुरज गुरुङ प्रथमा हुनु भएको छ । गोरखा नगरपालिका–९ लक्ष्मी बजारको लियो प्रतीक्षालयबाट सुरु भएको दौड गोरखा नगरपालिका–६ पुरानो बसपार्कमा आएर टुङ्गिएको थियो ।
५ किलोमिटर दौडमा प्रथम हुने गुरुङले निर्धारित दुरी पार गर्दै १८ मिनेट २१ सेकेण्डमा पार गर्नुभएको थियो । प्रतियोगितामा क्रमशः सन्दीप ढकाल, नवराज गुरुङ र सनम गुरुङ क्रमशः दोस्रो, तेस्रो र चौथो हुनु भएको हो ।
प्रतियोगितामा दोस्रो हुने ढकालले निर्धारित दुरी १८ मिनेट २७ सेकेण्ड, तेस्रो र चौथो हुने गुरुङ द्धोयले निर्धारित दुरी १९ मिनेट ३ सेकेण्ड र १९ मिनेट १० सेकेण्ड पार गर्नुभएको थियो । बिजेजाहरुलाई लायन्स क्लब अफ गोरखाका अध्यक्ष भगवान् बाबु मास्केले नगद, प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम हुने सुरुज गुरुङले ५,५५५, दोस्रो हुने सन्दीप ढकालले ३,३३३, तेस्रो हुने नवराज गुरुङले २,२२२ र सान्त्वना हुने सनम गुरुङले १,१११ रुपियाँ पाउनु भएको थियो । त्यसैगरी १८ जना सबै दौडमा भाग लिने खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो ।