• ३ पुस २०८१, बुधबार

दसैँ खर्च जुटाउँदै राउटे समुदाय

blog

दशैं खर्च जुटाउन दैलेखबाट दाङ आइपुगेका राउटे समुदायका प्रतिनिधिसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

लीलाधर वली

घोराही, असोज ४ गते । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेट गरेर दसैँ खर्च जुटाइदिन आग्रह गरेका छन् । 

दसैँ खर्च जुटाउनका लागि दैलेखदेखि मुख्यमन्त्री कार्यालयसम्म आइपुगेको भन्दै राउटे समुदायका मुखियाका प्रतिनिधि विर्खेबहादुर शाही सरकारले दसैँ खर्चको व्यवस्था गरिदिन आग्रह गर्नुभएको हो । “अब दसैँ आइसक्यो, हाम्रो जनताले दसैँमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ”, मुख्यमन्त्री चौधरीलाई राउटे मुखिया शाहीले भन्नुभयो, “हामीसँग पैसा हुँदैन, त्यसका लागि सरकारले पैसा दिनुपर्‍यो ।”

मुखिया शाहीका अनुसार राउटे समुदायका अहिले ८६ घरहरू छन् । उहाँले दसैँ खर्च जुटाउनका लागि आफूहरू प्रदेश सरकार, स्थानीय सरकार लगायत विभिन्न कार्यालयसँगै संघसस्थाहरुमा पुग्ने गरेको बताउनुभयो । मुख्यमन्त्री चौधरीसँग राउटे मुखिया शाहीले भन्नुभयो, “पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कौसी बनाएर बिक्री गर्थ्यौ र आफ्नो खर्च चलाउँथ्यौँ तर अहिले रुख काट्न पाइँदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ ।”

मुख्यमन्त्री चौधरीले प्रदेश सरकार राउटे समुदायलाई सहयोग गर्नेदेखि दसैँ खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताउनुभयो । उहाँले दसैँ खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री चौधरीले भन्नुभयो, “राउटेहरूलाई पहिलेदेखि नै सरकारले दसैँ खर्च दिँदै आएको रहेछ, राउटेलाई खर्चकै कारण दसैँ मनाउन समस्या हो भने लुम्बिनी प्रदेश सरकारले पनि केही सहयोग गर्छ । त्यसका लागि प्रक्रियामा जानुपर्ने भएकाले २÷३ लाग्न सक्छ ।”  उक्त भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की, प्रमुख सचिव राधिका अर्याललगायतले सहभागिता रहेको थियो ।