• ११ मंसिर २०८१, मङ्गलबार

शिक्षकलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न महामन्त्री थापाको आग्रह

blog

नेपाली कांग्रेसका महामन्त्री गगन थापा ।

काठमाडौं, असोज ४ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गर्नुभएको छ । महामन्त्री थापाले विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासङ्घ लगायत सबैसँग आग्रह गर्नुभएको हो ।

सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा असोज ३ गतेदेखि काठमाडौंमा शिक्षकहरुले प्रदर्शन सुरु गरेका हुन् । महामन्त्री थापाले सांसदको भूमिका एवम् विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधनको खोजीका लागि मद्दत गर्न अनुरोध पनि गर्नुभएको छ ।

थापाले शिक्षकहरुसँग आग्रह गर्दै भन्नुभएको छ, ‘‘ विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरी छन्, ती सुधार गर्नैपर्नेछ । संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनीभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवम् विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं ।

अतः सांसदको भूमिका एवम् विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासङ्घ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु ।’’