• १२ मंसिर २०८१, बुधबार

लोकतन्त्रको आधारस्तम्भ मजबुत

blog

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार र स्वशासनको अधिकारलाई स्थापित गर्न नेपालको संविधान जारी भएको यो दिन नेपाली जनताका लागि ऐतिहासिक महत्त्वको दिन हो । 

यो महत्त्वपूर्ण दिवसको अवसरमा सर्वप्रथम नागरिक अधिकार र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात महान् सहिदहरूमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष गर्नुभएका सम्पूर्ण देशप्रेमी योद्धाप्रति उच्च सम्मान प्रकट गर्दछु

राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सङ्घर्ष, त्याग र बलिदानको परिणाम स्वरूप गठित जननिर्वाचित संविधान सभाबाट २०७२ साल असोज ३ गते (आजैकै दिन) नेपालको संविधान जारी भएको थियो । त्यसैले आजको दिन हाम्रा लागि विशेष महत्त्वको रहेको छ । आफ्नो संविधान आफैँ निर्माण गर्ने नेपाली जनताको वर्षाैंको आकाङ्क्षा पूरा भएको यस दिवसको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।  

हाम्रो संविधान, हाम्रो लोकतन्त्र र हाम्रो सङ्घीयता नेपालको मौलिक राजनीतिक सङ्घर्ष र बलिदान, शान्ति प्रक्रिया र संवादको उपज हो । त्यसैले, हाम्रो व्यवस्था विश्वभर अपनाइएका शासकीय मोडेलहरूको परिप्रेक्ष्यमा विशिष्ट छ ।

यो संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित गरेको छ । यसले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउनुका साथै नागरिकहरूको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारलाई पूर्णतः संरक्षण गरेको छ । 

यस सन्दर्भमा, संविधानमा अभिव्यक्त नेपाली जनताको चाहनाबमोजिम मुलुकमा जनउत्तरदायी एवं जनमुखी शासन व्यवस्था स्थापना तथा सञ्चालनमा हामी दृढ सङ्कल्पित छौँ । यस संविधानको पूर्ण परिपालना र कार्यान्वयनमा आज हामी सबै एकबद्ध हुन जरुरी छ ।

संविधान देशको मूल कानुन त हो नै, यो सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक एवं मनोवैज्ञानिक चेतनाको दर्पण पनि हो । यसै गरी, संविधान राष्ट्रि«य एकतालाई सुदृढ गर्ने, नागरिकको मौलिक हक सुनिश्चित गर्ने, नागरिकको राष्ट्रप्रतिको कर्तव्य निर्दिष्ट गर्ने तथा विकास र समुन्नितको आकाङ्क्षालाई प्रतिविम्बित गर्ने महत्त्वपूर्ण दस्ताबेज हो । संविधान समग्रतामा समाज र राष्ट्रको चुनाको दीपक हो । 

जुन देशले आफ्नो संविधानलाई सम्मान गर्दछ, श्रद्धा गर्दछ त्यो देशमा संवैधानिक व्यवस्थाहरू फुल्छन्, फस्टाउँछन् र विकासको रूपमा प्रगतिका रूपमा प्रवाहित हुन्छन् । त्यसैले, आज हामी संविधान दिवसलाई राष्ट्रि«य एवं सामाजिक पर्वको रूपमा, उत्सवको रूपमा मनाइरहेका छौँ र आगामी वर्षमा पनि यसरी नै भव्य रूपमा यो दिवस मनाउँदै जानु पर्दछ भन्ने मेरो धारणा छ ।

हाम्रो संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्रनिर्माण गर्ने प्रत्याभूति गरेको छ । हामी सबैको संविधानप्रतिको सच्चा सम्मान र समर्पणले नै देशलाई समृद्ध लोकतान्त्रिक नयाँ उचाइमा पु¥याउने छ भन्ने कुरामा हामी सबैको विश्वास रहिआएको छ ।

संविधान जारी भएको नौ वर्षको अवधिमा संविधानले परिलक्षित गरेका धेरै काम हामीले सम्पन्न गरिसकेका छौँ । यस अवधिमा संविधानलाई गति दिन थुप्रै ऐन कानुन तर्जुमा भई कार्यान्वयनमा आएका छन् भने विभिन्न संरचनागत व्यवस्था क्रियाशील भएका छन् । संविधान कार्यान्वयनलाई गति दिँदै देशमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा हामी निरन्तर प्रयासरत छौँ ।

लोकतन्त्र भनेको जनताले, जनताद्वारा, जनताकै लागि र जनताको इच्छाबमोजिम गरिने शासन प्रणाली हो । लोकतन्त्रमा जनताको इच्छा नै सर्वोपरि हुन्छ । शासन प्रणालीमा सबै जनताको समान पहुँच, प्रतिनिधितत्व, अवसर र सहभागिता प्रत्याभूति भएको हुनु पर्दछ । राज्यका नीतिहरूमा जनताका आवश्यकता, आवाज र आकाङ्क्षाहरू प्रतिविम्बित हुनु पर्दछ । यो नै लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत चरित्र हो ।

हाम्रो संविधानले राज्यको सबै तह र तप्कामा सबै नागरिकलाई समान र समन्यायिक पहुँच सुनिश्चित गर्दै शासन प्रणालीमा जनताको अधिकतम प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । यसलाई यथार्थमा परिणत गर्ने प्रमुख माध्यम आवधिक निर्वाचन हो, जुन लोकतान्त्रिक शासन प्रणालीको सारभूत पक्ष पनि हो । यो संविधान जारी भएपछि विसं २०७९ मा दोस्रो पटक स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । यसबाट लोकतन्त्रको आधारस्तम्भ थप मजबुत भएको मेरो विश्वास छ ।

हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट मुलुकमा राजनीतिक स्थायित्व कायम गर्र्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई संस्थागत गर्ने कुरा अभिव्यक्त गरेका छौँ । सबै प्रकारका विभेद, शोषण र उत्पीडनको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्ने परिकल्पनासमेत गरेका छौँ । यस सन्दर्भमा लोकतन्त्र, सुशासन, दिगो शान्ति र सङ्घीय शासन प्रणालीलाई थप संस्थागत गरी सबल बनाउँदै जानु हामी सबैको कर्तव्य हो ।

संविधान जारी भई संविधानका आधारस्तम्भ व्रmमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको छ । अबको हाम्रो कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय हो । यसैले भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन अब हामी सबै थप समर्पण भावका साथ जुट्नु परेको छ । संविधानको कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाइ समानतामूलक समाजको सिर्जना गर्नु हाम्रो साझा दायित्व हो ।

सरकारले स्वास्थ्य पूर्वाधार एवं सेवाहरूको विस्तार र सुदृढीकरण गरी महामारी नियन्त्रण र विपत् व्यवस्थापन तथा न्यूनीकरण गर्न सक्दो प्रयास गरिरहेको छ । डेङ्गु रोग फैलन नदिन तथा यसबाट हुन सक्ने सम्भावित क्षति न्यून गर्न सरकारले आवश्यक तयारी गर्नुका साथै प्रदेश र स्थानीय तहसँग समन्वय गरिरहेको छ । 

देशको पूर्वी पहाडी भू–भागलगायत विभिन्न क्षेत्रमा आएका बाढी पहिरो जस्ता विपत्का कारण भएको धनजनको क्ष्तिमा तत्काल राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रदेश र स्थानीय तहसमेतको समन्वयमा सरकारले तदारुकताका साथ काम गरिरहेको छ । यसबाट जनताले राहत महसुस गर्ने र सरकारले विपत् व्यवस्थापन संयन्त्रप्रति जनताको भरोसा बढेर जाने छ भन्ने मैले विश्वास लिएको छु । 

संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिएको छ । उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग छ ।

संविधान दिवसलाई हामीले राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएका छौँ । यस अवसरमा कुनै आग्रह र पूर्वाग्रह नराखी देश र जनताको बृहत्तर हितलाई सर्वोपरि ठान्दै विकास र समुन्नतिमा जुट्न म सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सञ्चार माध्यम, निजी क्षेत्रलगायत सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु । आजको दिनले हरेक नागरिकमा विशेषतः युवाहरूमा हाम्रो संविधानको सङ्कल्प र सपनाबारे गहिरो ज्ञान र प्रेरणाको सञ्चार गरोस् भन्ने कामना गर्दछु । आजको दिनले सुशासन, समृद्धि र सामाजिक न्यायको हाम्रो यात्रामा हामी सबैलाई थप ऊर्जा तथा हौसला दिने छ भन्ने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा, नवौँ संविधान दिवसको शुभ अवसरमा संविधानको पूर्ण परिपालनाबाट समृद्धि र सुशासनको साझा सपना हामी सबै मिलेर जतिसक्दो छिटो साकार पार्न सकौँ भन्ने पुनः एक पटक स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, सहिदले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु । 

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले असोज ३ गते संविधान दिवसका अवसरमा आयोजित विशेष समारोहमा गर्नुभएको सम्बोधनको पूर्ण पाठ ।