• १ असार २०८२, आइतबार

लखनका सन्तान खोज्दै दार्जिलिङतिर

blog

लखन थापामगर र ज्ञान दिलदासबिचको सम्बन्ध खोजी गर्दै पूर्वको यात्रा तय गरियो । ज्ञान दिलदासको सन्तानलाई भेटेर दुई व्यक्तित्वबिचको सम्बन्ध बुझ्ने उद्देश्यसहित धुलिखेल हुँदै हुँइकिएको बोलेरो रुम्जाटार पुगेर रोकियो । खासमा नेपालका प्रथम सहिद लखन थापामगरका सन्दर्भको अध्ययनका लागि यो यात्रा तय गरिएको थियो । 

‘घुमिफिरी रुम्जाटार’ भनेझैँ रुम्जाटारस्थित सन्तज्ञान दिलदासको मठमा पुगेर अनुसन्धानको गहिर्‍याइमा पुग्नु थियो । स्वामी प्रपन्नाचार्यले रुम्जाटारमा बनाउन लगाएको सन्तज्ञान दिलदासको मूर्ति छ । जुद्धशमशेरकी रानीले बनाई स्थापना गरिएको शिवको मूर्ति पनि छ ।

ओखलढुङ्गापछि खोटाङ जिल्लाको हलेसी महादेव पुग्यौ । यस अपूर्व गुफामा महादेवलाई बौद्धमार्गीहरू भगवान् बुद्धका रूपमा पूजा गर्छन् । यहाँ हिन्दु पूजारीको साथै लामाहरूले पाठ गर्दै गरेको देखियो । हलेसी महादेवपछि भोजपुर–धनकुटा–बसन्तपुर हुँदै तेह्रथुममा रहेको लखन थापाका सन्तति भेट्न पुग्यौँ । उहाँहरूबाट लखन थापाका जेठा छोरा बर्मा र त्यसपछि दार्जिलिङ गएको जानकारी पायौँ । त्यहाँबाट फर्कंदा धनकुटाको हिलेमा स्थापना गरिएको लखन थापाको पूर्णकदको सालिकमा तस्बिर लिने र पुष्पगुच्छा चढाउने अवसर मिल्यो । धनकुटाबाट दक्षिण लाग्दा धरानको बुढासुब्बाको पूजापाठ गरियो । खसीको बलि चढाउँदा झिँगा नदेखिनु र बाँसको टुप्पो र काग नहुनु आश्चर्यको कुरा भयो । त्यसपछि तराई झरेर पूर्वपश्चिम राजमार्ग हुँदै उत्तरतर्फ इलामतर्फ लाग्यौँ । 

इलामको कन्याम चिया बगान र पर्यटकको मनोरञ्जनको निम्ति बनाएको पार्कमा नाच्दै गरेका बालाहरू देख्दा मनै रोमाञ्चित भयो । कन्यामबाट दार्जिलिङको प्रवेशद्वार पशुपति नगर पुगियो । हामीले पशुपतिनगर जाँच चौकीमा पासपोर्ट र नागरिकता देखाएपछि नेपालबाट लिएर गएको मोटर फिर्ता गरियो । उता भारतीय ट्याक्सीबाट दार्जिलिङको रेलवे स्टेसननजिकको होटेलमा बास बस्न पुग्यौँ । ट्वाय (हिमालयन) रेलवे भनिने यस रेलको निर्माण सन् १८८१ मा बेलायत सरकारले बनाएको थियो । दार्जिलिङदेखि जलपाइगुडीसम्म दगुर्ने यस रेलमार्गबाट अनेक विदेशी यात्रीहरूले यात्रा गरेको देखिन्थ्यो । हामी बसेकै होटेलबाट यो रेल छुट्थ्यो । मिस्टर प्रेस्टिज नामका अङ्ग्रेजी इन्जिनियरले यो रेलमार्ग काठमाडौँसम्म ल्याउन चाहेका थिए । यस रेल स्टेसनको उत्तरतर्फ प्रधानमन्त्री जङ्गबहादुरका कान्छा भाइ धीरशमशेरले प्यागोडा शैलीको शिवमन्दिर बनाएका थिए, जसलाई धीरधाम भनिन्छ । यस ठाउँमा राणाहरूका घर तथा बस्ती थिए । यसै बस्तीको एक घरमा लखन थापाका सन्तति बसेका थिए । तिनीहरूसँगको कुराकानीमा बर्माबाट बेलायती सेनाका रूपमा दार्जिलिङ आएको कुरा स्पष्ट पारिएको थियो । हामीले बेलुकाको खाना र आतिथ्य स्वीकार गर्‍यौँ ।

दार्जिलिङको अर्को एक ठाउँमा पनि लखन थापाका सन्तति रहेछन् । यिनले आफ्ना हजुरबुबामाथि लखन थापाको प्रभाव परेको र हामीमाथि पनि त्यसको प्रभाव परेको कुरा मेरो डायरीमा अङ्ग्रेजी र नेपालीमा लखेका थिए । बिहानको आतिथ्य त्यहाँ स्वीकार गरियो । नेपालमा एसएनभी संस्थामा काम गर्ने भद्र महिला ललिता थापाले गर्दा हाम्रो सम्पर्क र बसाइ सहज हुन पुग्यो । उहाँ पनि लखन थापामगरकै सन्तति हुनुहुन्छ । दार्जिलिङ र सिक्किमसँग सम्पर्क बनाउनुका साथै हाम्रो बसाइलाई सहज बनाउन उहाँको ठुलो योगदान रह्यो । उहाँले प्राडा बल्लभमणि दाहाल, प्राडा शुभद्रा लिम्बू दाहाल र डा. पवित्रा थापालाई राम्ररी चिन्नुहुँदो रहेछ । मगर सङ्घ दार्जिलिङका महासचिव उहाँको सानो छोरीले हामीलाई दार्जिलिङको चौरस्ता नामको ठुलो पार्कको भ्रमण गराउनुभयो । त्यहाँ भानुभक्तको पूर्ण कदको ढलोट मूर्ति देख्दा हर्षले मन गदगद भयो । त्यस ठाउँको एक कुनामा नेपालका प्रधानमन्त्री जङ्गबहादुरको पूर्ण कदको प्रस्तरको मूर्ति पनि देखियो । सम्भवतः नेपाललाई नयाँ मुलुक फिर्ता गराउने प्रधानमन्त्री जङ्गबहादुरको प्रभाव दार्जिलिङ र सिक्किमसम्म रहेको थियो भन्ने कुरा मेरो पुस्तकमा पनि उल्लेख गरेको छु । दार्जिलिङको चौरस्तामा तेन्जिङ नोर्गेको हिमाल चढेको कुरा, कवि मित्रसेनको पूर्णकदको मूर्ति र उहाँका लाहुरेको रेलीमाई फेसनै राम्रो जस्तो गीत लेखिएको ठाउँमा हामीले पनि नाच्यौँ । भारत र नेपालको हुलाक टिकटमा एकसाथ प्रकाशित उहाँका चित्रलाई सम्पूर्ण नेपालीले गौरव मान्नु पर्छ । दार्जिलिङवासी नेपाली भाषा बोल्नु र आफ्ना पुर्खा नेपाली भएकोमा गर्व गर्छन् ।

भीमसेन थापाको प्रधानमन्त्रित्व कालमा नेपालमा बेलायती राजदूतका रूपमा लामो समयसम्म रहेका ब्रेज हड्सन बिदा मनाउन दार्जिलिङमा रहेका थिए । यिनकै सल्लाह अनुसार जङ्गबहादुरले भारतको सिपाही विद्रोह दमन गरेका थिए ।  हामीले दार्जिलिङ छोड्न लाग्दा पश्चिमी शैलीको स्कुल र कलेजको अवलोकन भ्रमण गर्‍यौँ । त्यस दिन बिदा परेकाले त्यहाँका शिक्षक र विद्यार्थीसँग भेट्न भने पाएनौँ । पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, तेन्जिङ नोर्गेका सन्तानसँग भेट्ने रहर मेटिएन । हाम्रो यात्राको लक्ष्य लखन थापामगरको विषयमा खोजी अनुसन्धान गर्नु थियो ।

दार्जिलिङको गभर्नरको भवनमा जाने मौका मिल्यो । त्यसबखत साँझ परिसकेको थियो । अरूका निम्ति प्रवेशनिषेध थियो । बन्दुकधारी नेपाली गार्डहरूबाट हामीलाई त्यस विशाल भवन सुन्दर मनमोहक विशाल बगैँचाको भ्रमण गराइयो । पश्चिम बङ्गाल अन्तर्गत पर्ने दार्जिलिङका गभर्नर गर्मी छल्न मात्र यस भवनमा आउने गर्नुहुँदो रहेछ । रात छिप्पिएको हुनाले ढोका खोलेर भित्र पस्न पाएनौँ । 

दार्जिलिङ छोडेर सिक्किम आउने क्रममा हाम्रो अनुरोधमा हाम्रो ड्राइभरले सेन्ट जोसेफ कलेजको विशाल भवन र कम्पाउन्ड देखाइदिए । राजा वीरेन्द्रवीरविक्रम शाहले युवराज हुँदा आठ वर्षसम्म यही विद्यालयमा अध्ययन गर्नुभएको थियो । दार्जिलिङको मोटरले हामीलाई सिक्किमको सिमानासम्म पुर्‍यायो । सिक्किमकी सावित्रा मगरले हामीलाई लिन मोटर लिएर आउनुभयो । उहाँले नै हामीलाई सिक्किममा खानेबस्ने व्यवस्था मिलाउनुभयो । हामीसँग सिक्किममा रहेका उच्च पदस्थ पदाधिकारी र मगर सङ्घका अध्यक्षसँग मगरका हित र लखन थापाको प्रतिमा राख्ने कुरामा छलफल भयो । सिक्किमका राजनीतिक नेताका परिवारसँग बसेर खाना खाइयो । उहाँहरू राजीतिक कुरा खुलेर गर्नुहुँदो रहेनछ । सिक्किमका मुख्यमन्त्री प्रेम तामाङ हुनुहुन्छ । सबै कुरा नेपाली यहाँसम्म कि सरकारी कामकाजका भाषा नेपाली, अङ्ग्रेजी र लेप्चा रहेका छन् । नेपाली भाषा र नेपालप्रति सिक्किमेली जनताको अपार माया पाइयो ।

हामी सिक्किमको तिब्बती होटेलमा बसेका थियौँ । त्यो ठाउँ एमजी मार्गको छेउमा पर्दथ्यो । एमजी मार्ग (महात्मा गान्धी मार्ग) सिक्किमको मुख्य बजार काठमाडौँको नयाँ सडक भने जस्तै तर एमजी मार्ग नयाँ सडकभन्दा निकै ठुलो र फराकिलो, त्यहाँ सडकका बिचमा सुन्दर बगैँचा र प्रवेश मार्गमा महात्मा गान्धीको पूर्णकदको अर्को छेउ अर्धकदको मूर्ति, यात्रीलाई बस्नको निम्ति बेन्चको व्यवस्था थियो । सडकको दुवैतर्फ आधुनिक फेन्सी कपडा, सिक्किमेली चिया, औषधी पसल र नर्सरी पसल पनि देख्न पाइयो ।

सिक्किमको गुम्बा, मुख्यमन्त्रीको भवनको भव्यता र नर्थ प्वाइन्ट बजारको रौनकताले युरोपको झझल्को दिन्थ्यो । सिक्किमेलीहरूको छोटो कपडा, साँझको झिलिमिली बत्तीको रोमाञ्चकारी वातावरणले मनै लोभ्याउने । सिक्किममा भारतको २२ औँ सानो राज्य हो । यो पश्चिममा नेपाल, पूर्वमा भुटान, उत्तरमा तिब्बत र दक्षिणमा पश्चिम बङ्गाल पर्छ । ज्ञानमणि नेपालले सिक्किमलाई ‘सुखिम’ लेख्नुभएको छ । सिक्किम सुखिम शब्दबाट बनेको हो । लेप्चा भाषामा सुको अर्थ नयाँ र ख्यामको अर्थ दरबार हुन्छ । नयाँ दरबार वा राज्य हो । सन् १८१६ भन्दा अघि दार्जिलिङ र सिक्किम टिस्टा नेपालभित्र पर्दथ्यो । सिक्किम र तिब्बतलाई जोड्ने सिमानालाई नाथुलापास भनिन्छ । त्यहाँ जान स्वीकृति लिनुपर्ने हुन्छ ।

सिक्किममा रहेका नेपाली वकिल गङ्गानन्द आचार्यको हत्या भएपछि दुई देशको बिचमा युद्ध हुने सम्भावना बढेको थियो तर सिक्किमले डराएर हर्जना दिएपछि समस्या समाधान भयो । सन् १८५३ मा जङ्गबहादुरको पहलमा नेपालले सिक्किमसँग वाणिज्य सन्धि गरेको थियो । यस सन्धिको मुख्य उद्देश्य अङ्ग्रेज व्यापारीलाई सिक्किम र तिब्बतमा पस्न नदिनु थियो ।

सन् १९०४ मा सिक्किम हुँदै बेलायती कर्णेल यङ्हसबैन्डले तिब्बतमाथि आक्रमण गरेको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले चार हजार याक र हातहतियार दिएर अङ्ग्रेज फौजलाई सहयोग गरेकाले नेपालको बाटो हुने व्यापार सुक्न गएको थियो ।

सिक्किममा राजधानी गान्टोकबाहेक बोन र रोलाङ्ग मोनास्ट्री बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको छ । सिक्किमको सिङ्गालीला झरनाले काठमाडौँको सुन्दरीजलको झरनाको सम्झना गराउँछ । सुन्दरीजलभन्दा कम पानी भए पनि त्यस पानीको बाँध बाँधेर बनाएको पोखरीमा हाँसको मूर्ति बनाएको डुङ्गामा चढेर पर्यटकहरू जलक्रीडाको आनन्द लिने गर्छन् । त्यस पोखरीवरिपरि र पार्कको बाहिर क्युरियोको पसल र खाने सफा पसल छन् । त्यस पार्कमा डम्फु बजाइरहेको पूर्ण कदको झाँक्रीको मूर्ति पनि रहेको छ । त्यस मूर्तिको कथा झाँक्रीसँग जोडिएको छ । सिक्किमेलीका पुर्खा धामीझाँक्रीमा विश्वास गर्दथे । सिक्किमका सुन्दर स्थलमा लाचुङ, पेलिङ, धुम्पिङ लाचेन, ननची र चुक सय पर्छन् । यी सबै ठाउँहरू नेपालको झझल्को दिइरहेका छन् । मानौँ यिनले भनिरहेका छन्, हामी तिमै्र हौ । नेपालको जस्तै सिक्किमको उत्तरमा हिमछादित हिमशृङ्खला छन् । नेपालको ताप्लेजुङमा देखिने कञ्चनजङ्घा हिमशृङ्खला दार्जिलिङ र सिक्किममा पनि देखिन्छ तर बादलले ढाकिएको हुनाले हामीले देख्न पाएनौँ । किरण खरेलको शब्द र जयदेवको सङ्गीतमा उषा मङ्गेस्करले गाएको ‘कति राम्रो यो प्यारो कञ्चनजङ्घा’ गीत गुनगुनाउनुबाहेक अरू केही भएन । मानौँ दार्जिलिङ र सिक्किमका बादलले ‘तिम्रै देशबाट हेरिसक्यौँ नि ! म उस्तै हो बार बार किन !’ भने जस्तो लाग्यो । नौ दिनसम्मको नेपाल–दार्जिलिङ–सिक्किमको यात्रापछि टिस्टा नदीको किनारैकिनार सिलगुरी आइपुग्यौँ । सिलगुरीमा कवियत्री पारिजातको पूर्णकदको मूर्ति पनि देखियो । बाटोमा कालिङ्पोङ लेखिएको बोर्ड देखियो । २५ अप्रिल २०२५ (वैशाख ११ २०८२) मा भद्रपुरको एयरपोर्टबाट बुद्ध एयरबाट काठमाडौँ फर्कियौँ ।

दार्जिलिङ र सिक्किममा बस्ने तृष्णा मनमा अझै पनि मरेको छैन । अझै अध्ययन अनुसन्धानको काममा निरन्तरता दिन सकेको खण्डमा धेरै कुरा बुझ्न सजिलो हुन्थ्यो । अनुसन्धानमा डुब्ने रहर निरन्तर कायम रहँदै बाध्यतावश चाँडै फर्कनु पर्‍यो । फेरि जाने आशा लिएर ।