पश्चिम नवलपरासी समाचारदाता
पश्चिम नवलपरासी, जेठ ३१ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि बर्दघाट नगरपालिकाको नारायणचोक जोड्ने हुलाकी सडकखण्डमा एकै पटक चार वटा पुलको निर्माण सम्पन्न भएको छ । हुलाकी सडक निर्माण सुरु भएको एक दशकपछि बल्ल पुल निर्माण भएको हो ।
हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका इन्जिनियर पवित्रमणि आचार्यले रामग्राम नगरपालिकाको वैकुण्ठपुर, सरावल गाउँपालिकाको गङ्गासागर, पिडुँरा र भीमटाँडीखोलामा कुल १२ करोड ४७ लाख ६१ हजारको लागतमा चार वटा पुल निर्माण भएको जानकारी दिनुभयो । तीन वटा पुलका लागि सात महिना र एउटा पुलका लागि ११ महिनाको समयावधि दिएर गत वर्ष सम्झौता भएको थियो । आचार्यले तीन वटा पुलको दुई महिना म्याद थप गरी र बाँकी एउटा पुलको तोकिएको अवधिमै निर्माण सम्पन्न भएको बताउनुभयो । डोको निर्माण सेवा रोल्पाले एउटा र ओमकार जयसवाल जेभी नवलपरासीले तीन वटा पुल निर्माणको ठेक्का पाएका थिए ।
पुल निर्माण भएपछि आउजाउ सहज भएको छ । पुल नहुँदा वर्षामा बालबालिकालाई विद्यालय जानसमेत समस्या हुँदै आएको थियो । सडक निर्माणका लागि २०७३ सालमा सम्झौता भएको नारायणचोकदेखि परासी जोड्ने हुलाकी सडकमा गत वर्ष मात्रै पुल निर्माणको ठेक्का लागेको थियो ।
सडक निर्माणको काम भने अझै पूरा भएको छैन । योजना कार्यालय कपिलवस्तुका अनुसार १२ किलोमिटर सडकको काम १० वर्ष बित्दासमेत पूरा भएको छैन । पाँच पटक ठेकेदारलाई म्याद थप गरी काम सक्न ताकिता गरे पनि काम पूरा भएको छैन । हालसम्म भौतिक प्रगति करिब ८५ प्रतिशत छ भने वित्तीय प्रगति ७२ प्रतिशत छ । इन्जिनियर आचार्यले काम पूरा नगरेकाले भुक्तानी रोकिएको जानकारी दिनुभयो ।
विभिन्न ठाउँमा कालोपत्रेको गुणस्तरमा प्रश्न उठेकाले पुनः कालोपत्रे गर्न भनिएको छ भने ट्राफिक चिह्न, कम चौडाइ भएको स्थानमा सडक फराकिलो बनाउनुपर्नेलगायतका काम बाँकी नै छ तर ठेकेदारले भने गत वर्षदेखि काम गरेको छैन । २२ करोड ७० लाख लागतमा उक्त सडक निर्माणको ठेक्का कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौँले लिएको थियो । ठेकेदारको चरम लापर्बाहीले काम पूरा हुन सकेको छैन । अन्य दुई खण्डको पनि अवस्था उस्तै छ ।