सन्तोष सुवेदी
कास्की, असोज ३ गते । नेकपा (एमाले) गण्डकी प्रथम प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । यही असोज १५ र १६ गते पोखरामा हुने पार्टीको प्रथम प्रदेश अधिवेशनको लोगो एमालेले सार्वजनिक गरिएको छ । लोगो सार्वजनिक गर्नुहुँदै एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण तयारी गरिएको भएको बताउनुभयो ।
अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने र प्यानलगत रूपमा उम्मेदवारी दिन नपाइनेगरी आचारसंहिता बनाइने उहाँले बताउनुभयो । पार्टीभित्र वैचारिक रूपमा एकता रहेको र स्वार्थजन्य मेल रहेको भए पनि अधिवेशनबाट हटाइने उहाँको भनाइ छ ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अधिवेशनमा करिब नौ सय जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । प्रदेशमा ६३ हजार ५३५ सङ्गठित सदस्य रहेको तीनै सदस्यहरूबाट भूगोलको आधारमा प्रतिनिधि छनौट गरिने छ ।
अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलिले असोज १५ गते पोखराको अमरसिंहचौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।