• १२ असोज २०८०, शुक्रबार

संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाइ : कांग्रेस नेता सिटौला

blog

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ।

काठमाडौं, असोज २ गते । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरू चुकेको बताउनुभएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाइ भइरहेको बताउनुभएको हो । मङ्गलबार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्नुहुँदै उहाँले संविधान जारी भएयता दलहरूबिचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ हुन गएको तर्क समेत गर्नुभयो ।

तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सिटौलाले सुवास नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पु¥याएको बताउनुभयो । उहाँले संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आए पनि त्यसलाई शान्त ढङ्गले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । माओवादी शान्ति वार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी रहेको उहाँको भनाइ थियो ।

नेता सिटौलाले नेम्वाङको संयोजनकारी, समन्वयकारी भूमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उहाँको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको समेत बताउनुभयो ।