• ११ मंसिर २०८१, मङ्गलबार

प्रदेश सरकारद्वारा शिक्षा दिवसमा आठ विद्यालय पुरस्कृत

प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिन्छ : मुख्यमन्त्री जम्कट्टेल

blog

एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयलाई पुरस्कृत गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असोज २ गते । 
 बागमती प्रदेश सरकारले शिक्षा दिवस २०८० को अवसरमा प्रदेशभरका आठ उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरेको छ ।

बागमती प्रदेशको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) २०७९ मा उच्च जिपिए ल्याउने सामुदायिकतर्फमा पाँच र संस्थागततर्फका तीन गरी उत्कृष्ट आठ विद्यालयलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्गलबार हेटौँडामा आयोजित कार्यक्रममा पुरस्कृत गरेको हो ।

यहाँ आयोजित कार्यक्रममा २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी विद्यालयहरूमध्येमा कम्ती ३५ जना विद्यार्थी सहभागी गराउने विद्यालयमध्येबाट उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालयहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुरस्कृत गर्नुभएको थियो ।

सामुदायिक विद्यालयतर्फ जिपिए ल्याएर प्रथम हुने भक्तपुरको मेधा माध्यमिक विद्यालय, द्वितीय नुवाकोटमा पृथ्वी माध्यमिक विद्यालय, तेस्रो, चौथो र पाँचौँ हुनेमा काठमाडौँका क्रमशः श्रम राष्ट्रिय माध्यमिक विद्यालय, पृथ्वी नारायण माध्यमिक विद्यालय र बलम्बु माध्यमिक विद्यालय रहेका छन् ।

प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने विद्यालयलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार र ३० हजार रुपियाँसहित पुरस्कृत गरिएको छ ।

यस्तै, संस्थागत विद्यालयतर्फ काठमाडौँका रिलायन्स इन्टरनेसनल एकेडेमी, ह्विज किड्स इन्टरनेसनल  र फ्लोरोसेन्ट माध्यमिक विद्यालय क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै एक लाख, ८० हजार, ६० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा पुरस्कार वितरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिने गरी बनाउन लागेको बताउनुभयो । उहाँले स्वास्थ्यसम्बन्धी शिक्षा महँगो भएको बताउँदै सीप सिक्नेहरूको सीप परीक्षण आवश्यक भएको औँल्याउनुभयो ।

प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसाल र पुरस्कृत विद्यालयमा प्रतिनिधिहरूले पुरस्कारले विद्यालयलाई आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रोत्साहन मिल्ने बताउनुभयो ।