• ११ मंसिर २०८१, मङ्गलबार

तीजकाे मौलिकता हराउँदै

blog

फाइल तस्बिर ।

मीना कँडेल

कावासोती, भदौ ३१ गते । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा यतिबेला बजारमा तीजको चहलपहल बढेको छ । केहीदिन अगाडिदेखि तीज मनाउने प्रचलन सुरु भएसँगै किनमेल गर्नेको पनि भीड देखिन्छ ।

महिलाहरुको विशेष चाड तीज पर्वका लागि पसलहरुमा रातो सारी, कुर्ता र चुरापोते तथा गहना सजाइएका छन् । फेसन अनुसारको पहिरन तथा गरगहना लगाउने साैखका कारण पनि पसलहरुमा भीडभाड बढेको हो ।

पहिलेको र अहिलेको तीजमा धेरै भिन्नता देखिएको देवचुलीका सदीक्षा भण्डारी बताउनुहुन्छ । पहिले तीजमा टाढा टाढाबाट माइत आएका दिदीबहिनीहरु भेटघाट गरेर दुःख सुखका कुरा गरेर मनाउने चलन रहे पनि अहिले भने त्यो परम्परा लोप भइरहेको उहाँको भनाइ छ ।

‘‘एकातर्फ आर्थिक मन्दीले सटर बन्द गर्नुपर्ने अवस्था छ  । अर्काेतर्फ तीजका नाममा विकृति बढ्दै गएको छ । जसका कारण समाजमा नराम्रो असर परिरहेको छ ।’’

भण्डारीले भन्नुभयो, ‘‘हाम्रो जमानामा तीजमा सबै महिलाहरू मिलेर मनाउँथ्यौं, पुरुषहरू कोही आउँदैनथे, त्यो वेलामा टाढा टाढाबाट माइत  आएका दिदीबहिनीहरु भेटघाट गरेर दुःख सुखका कुरापनि आफैँ गाएर नाच्थ्यौँ, विरहका गीत गाउँथ्यौँ’, उहाँले भन्नुभयो ,‘‘अहिलेको तीजलाई के तिज भन्ने, बच्चादेखि युवासम्मले बदलिँदो फेसन अनुसारको लुगा लगाउनैपर्ने हुँदा हुने खाने र हुँदा खानेलाई अफ्ठेरो पर्ने गरेको छ ।’’

तीजको व्यापारमा निराशा

यसपटक तीजमा पहिलेको तुलनामा व्यापार नभएको व्यापारीहरु गुनासो गर्छन् । पैसाको अभाव भएका कारण ग्राहकहरुले किनमेल गर्न कम गरेको ब्यापारीको भनाइ छ । कावासोती–८ मा रहेको धर्म बस्त्रालयमा संचालक धर्म काफ्ले तीजमा व्यापार हुने आशा भएपनि व्यापार निराशाजनक रहेको बताउनुहुन्छ । “अहिले त कम्तीमा व्यापार हुनुपर्ने तर दिनमा एक पिस पनि सामान बेच्न नसकेको अवस्था छ, उहाँले भन्नुभयो, “व्यापारको अवस्था नै खराब छ ।’’

यसैगरी, कावासोती–२ मा व्युटी पार्लर सञ्चालन गर्दै आउनुभएकी रमा दवाडीको दुःखेसो उस्तै छ । उहाँ भन्नुहुन्छ, “व्यापारमा पहिला जस्तो अाकर्षण छैन । फाट्टफुट्ट मात्र व्यापार छ । भाडा यस्तो महँगो छ, मान्छेलाई महँगो लाग्छ, सामान किन्दैनन् । लगानी गरे अनुसार ब्यापारबाट घर भाडा उठाउन पनि गाह्रो भएको छ ।’’

बदलिरहेको फेसन तथा धेरै कार्यक्रममा जानुपर्ने भएकाले पनि कम मूल्यका पहिरनको माग बढी भएको व्यापारी रितु पाण्डे बताउनुहुन्छ । “अब एक जनाले ४–५ वटा लुगा लाउनुपर्छ । त्यसैले, अलि सस्ता खालका लुगा धेरै गइरहेको छ । क्वालिटीमा राम्रो तर सस्तो दिँदा पनि हाम्रो व्यापार फेन्सीको भन्दा अलि सन्तोषजनक छ, सोचेअनुरुप भने छैन ।’’

सर्वसाधारणले मन खोलेर खर्च गर्न नसकेको अवस्था छ । पहिला राम्रो मूल्य तिरेर कपडा किन्नेहरु अहिले कम मूल्यका कपडा लगाउने गरेका छन् । यसको अर्को कारण बढ्दो फेसन पनि हो । पछिल्लो ट्रेण्डलाई समातेर पहिरन छनोट गर्ने भएकाले पनि हाल बजारमा रोजाइका अनुसारका ठिकै मूल्यका पहिरन पाइन्छ । प्रायः महिलाहरुले दोहोर्याएर यस्ता पहिरन कम नै लगाउने भएकाले पनि सस्तो र आकर्षक पहिरन राज्ने गरेको व्यापारीहरु बताउँछन् ।

सबै महिलाहरूलाई मिलेर आफूसँग जेजस्तो छ, त्यस्तैमा रमाएर र तीजमा संस्कृतिको नाममा विकृति नगरी तीज मनाउन प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले आग्रह गर्नुभएको छ । जिल्ला प्रशासनले पनि तीजमा भड्किलो रुपमा नमनाउन आग्रह गरेको छ ।

प्रशासनले धार्मिक सामाजिक तथा सांस्कृतिक पर्व मनाउने सम्बन्धमा सामाजिक व्यवहार सुधार ऐन र नियमावलीले व्यवस्थित र नियमित गर्ने उल्लेख गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो ।