चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ (साबिक फाकुम्बा–३, नुम्लोक) मा जन्मनुभएका रमेश प्रसाईं प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । फरक क्षमता भएका दृष्टिविहीन प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक सांसद अर्थात् प्रतिनिधि सभा सदस्य बन्ने अवसर पाउनुभएको हो ।
जन्मसिद्ध दृष्टिविहीन प्रसाईंले गाउँमा विशेष कक्षा पढाइ हुने विद्यालय नभएपछि झापाको गरामुनि गएर विशेष कक्षा पढाइ हुने एक विद्यालयबाट ५ कक्षासम्मको शिक्षा आर्जन गर्नुभयो । त्यसपछि सुनसरी धरानमा गएर विशेष कक्षा पढाइ हुने माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी प्रसाईंले धरानकै कौशिकी क्याम्पसबाट स्नातक (बिएड) उत्तीर्ण गर्नुभएको हो ।
प्रसाईंको सानै उमेर अर्थात् प्राथमिक तहमा अध्ययन गर्दैदेखि तीक्ष्ण दिमाग र उच्च स्मरणशक्ति थियो । विद्यालय तह हुँदै क्याम्पस तहसम्म नै अध्ययनका क्रममा आफ्नो पढाइ धेरै राम्रो भएको र सबै कक्षा तथा तहको परीक्षामा नतिजा पनि राम्रै ल्याएको प्रसाईंले सुनाउनुभयो । उहाँले विद्यालय तथा क्याम्पसमा आयोजना हुने वक्तृत्वकला प्रतियोगितामा सधैँ प्रथम मात्र भएको बताउनुभयो ।
यसरी तीक्ष्ण दिमाग र उच्च स्मरणशक्ति भएका प्रसाईं स्नातक तहसम्मको अध्ययनपछि सामाजिक कार्य र विभिन्न कार्यक्रममा प्रस्तोताको भूमिकासँगै साङ्गीतिक क्षेत्रमा पनि संलग्न हुनुभयो । साङ्गीतिक क्षेत्र अन्तर्गत रिन्केबुङको राँगोलाई, अंशमै परेको, इलामको चिया बारीमा, टिकुली ट्याग... जस्ता बोलका गीत उहाँले गाउनुभएको र उक्त गीत निकै चर्चित पनि भएका छन् । त्यस्तै लोकभाकाको उजागर गर्ने इन्द्रेणीमा आबद्ध हुँदै ग्यालेक्सी फोरके टेलिभिजनमा समेत प्रस्तोताका रूपमा प्रसाईंले काम गर्नुभयो ।
लोकदोहोरी कार्यक्रम, साङ्गीतिक क्षेत्र तथा टेलिभिजन जस्ता सञ्चार माध्यममा आफ्नो प्रस्तुति दिएको र काम गरेको कारण एक कुशल सामाजिक व्यक्तिका साथै प्रखर वक्ताका रूपमा समेत प्रसाईं परिचित हुनुहुन्छ । विसं २०७९ को अन्त्यतिर रास्वपामा आबद्ध भएर उहाँले राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।
यसरी राजनीतिकमा आबद्ध भएको छोटो समयमै प्रसाईंले प्रतिनिधि सभा सदस्य बन्ने अवसर पाउनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमार्फत रास्वपाका तर्फबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बन्ने अवसर पाएपछि आफूले मुख्य तीन वटा विषय सुशासन कायम, सार्वजनिक सेवा प्रवाहमा सुधार र लक्षित वर्गको वकालत गर्ने प्रसाईंले बताउनुभयो । सांसदको भूमिका नै देश सञ्चालनका लागि असल र आवश्यक ऐन, कानुन र नियम निर्माण गर्ने भएकाले सो जिम्मेवारी र भूमिका सक्रिय भई निर्वाह गर्ने उहाँले बताउनुभयो ।
देशमा सुशासन कायम हुनुका साथै सार्वजनिक सेवा प्रवाहमा सुधार भएमा मात्र समृद्धि र परिवर्तन सम्भव रहेकाले यसका लागि आफूले सव्रिmय भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । यस्तै आफ्नो जन्मथलोका रूपमा रहेको ताप्लेजुङका सडकसहितका पूर्वाधार नाजुक र कतिपय शून्य अवस्थामा रहेकाले स्थानीयस्तरबाट माग भएमा वा योजना पेस भएमा सरकारसँग समन्वय गर्न आफूले आवश्यक भूमिका खेल्ने उहाँले बताउनुभयो । आफ्नै पार्टी सत्तामा भएकाले योजनालगायतका विषयमा आफूले भूमिका खेल्नलाई सहज हुने पनि उहाँको भनाइ छ । प्रतिनिधि सभा सदस्य प्रसाईं रास्वपाको सहप्रवक्तासमेत हुनुहुन्छ ।