• ९ वैशाख २०८३, बुधबार

विराटनगर विमानस्थलबाट चाँदीसहित एक जना पक्राउ

blog

प्रहरीले विराटनगर विमानस्थलबाट बरामद गरेको चाँदी । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 
विराटनगर, वैशाख ९ गते ।
विराटनगर विमानस्थलबाट चाँदीसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१ बस्ने ४४ वर्षीय आशिष रिजाललाई चाँदीसहित पक्राउ गरेको हो ।

रिजालले चाँदी खरिद गरेको बिल बिजक उपलब्ध गराउन नसकेपछि अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । रिजालको साथबाट ३८४ ग्राम ९२० मिलिग्राम चाँदी फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विमानस्थलको सुरक्षाका लागि खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उक्त चाँदी बरामद गरेको हो ।

रिजाल विराटनगरबाट श्री एयरलाइन्सको उडानमार्फत काठमाडौँ जान लागेको प्रहरीले जनाएको छ । रिजाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।