काँक्रेविहार समाचारदाता
सुर्खेत, भदौ ३१ गते । कर्णाली प्रदेशका हिमाली जिल्लामा सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिएको छैन। हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा सडकको स्तरोन्नतिसमेत हुन सकेको छैन। राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी हुम्लामा आन्तरिक रूपमा यातायातका साधन सञ्चालन भइरहेका छन्।
कालोपत्रेको योजना नै नबनाइँदा सडक स्तरीय बन्न नसकेको स्थानीयको गुनासो छ। कर्णालीका १० जिल्लामध्ये कालीकोट र जाजरकोटमा कालोपत्रे नभए पनि सडकमा पिसिसी (ढलान) गरिएको छ। सुर्खेत, दैलेख, जुम्ला, रुकुम (पश्चिम), सल्यान जिल्लामा भने कालोपत्रेसहितका सडक छन्।
हिमाली जिल्लामा भौगोलिक अवस्था, बजेट अभावलगायतका कारणले कालोपत्रे हुन नसकेको जनाइएको छ। हुम्लाभित्र यातायात सञ्चालन भए पनि राष्ट्रिय सडक सञ्जाल पुगेको छैन। डोल्पामा सडक पुगे पनि पुल नहुँदा वर्षामा चल्दैनन्। मुगुमा सडक पुगे पनि बर्सात र हिउँदमा चल्न हम्मे हम्मे हुने गरेको छ। प्रदेशको बजेट राजधानी सुर्खेतकेन्द्रित हुँदा पहाडी र हिमाली जिल्लामा थोरै बजेट, कार्यान्वयन कम हुने गरेको पाइएको छ।
प्रदेश स्थापना भएयता प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले अहिलेसम्म ७८.९५ किलोमिटर सडक कालोपत्रे गरेको छ। जसमा आर्थिक वर्ष २०७७/७८ सम्म ३३.०२ किलोमिटर, आव २०७८/७९ मा १५/९० किलोमिटर र आव २०७९/८० मा ३०.०३ गरी जम्मा ७८.९५ किलोमिटर सडक पिच (कालोपत्रे) भएको मन्त्रालयले जनाएको छ । हिमाली जिल्लामा कालोपत्रेको कार्यक्रम नभएको र यस आवबाट राखिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीले जानकारी दिनुभयो।
प्रदेशका १० जिल्लामा मन्त्रालयले हालसम्म ४३४.०१ किलोमिटर सडक ग्राभेल, कच्ची बाटो दुई हजार ४२४.११ किलोमिटर, नाला निर्माणसहित सडक स्तरोन्नति २१६.२८ किलोमिटर गरेको जनाएको छ। झोलुङ्गे पुल ५५ वटा र पक्की पुल २२ वटा हालसम्म प्रदेश सरकारले बनाएको छ। धेरै र छरिएर रहेका आयोजना तथा कम जनशक्तिका कारण आयोजनामा गुणस्तर कायम गर्न समस्या हुने गरेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशबाट विनियोजन भएका अधिकांश योजना टुक्रे भएकाले कार्यान्वयन गर्न अप्ठ्यारो भएको मन्त्रालयले जनाएको छ।
दलदले हिलोले यात्रु अलपत्र
कालीकोट समाचारदाताका अनुसार राष्ट्रिय राजमार्गसँग जोडिएदेखि कालीकोटको सुनार खोलामा पहिरो बग्न रोकिएको छैन। बर्खाको समयमा सुनार खोला हुँदै यात्रा गर्ने यात्रुले दुःख भोक्दै आएका छन्।
शनिबारदेखि परेको पानीले उक्त सडकखण्डमा यातायातका साधनलाई एक्साभेटरले तानेर गन्तव्यतर्फ पठाउने गरेको छ। वर्षासँगै बगिरहने हिलोका कारण सुनार खोलामा सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नु परेको छ। सडक डिभिजन कार्यालय जुम्लाले अवरोध हटाउन एक एक्साभेटर सुनार खोलामा राखेको छ। दैनिक यातायातका साधनलाई तानेर हिलोबाट कटाउने गरेको छ।
कालीकोट थुबिथाका धीरेन्द्र शाहीले सुनार खोलाको पहिरोका कारण सास्ती भोग्नु परेको बताउनुभयो। सुर्खेतबाट दैलेख हुँदै कालीकोटको मान्मसम्मको दुरी जम्मा १५१ किलोमिटर छ। बढीमा सात घण्टामा यात्रा गर्न सकिने सुर्खेतदेखि मान्मसम्मको सडक अवरुद्ध हुँदा २४ घण्टासम्म लाग्ने गरेको यात्रुको गुनासो छ। पानी पर्नेबित्तिकै सुनार खोलाको दलदले हिलोमा गाडी फसेर यात्रुलाई सास्ती हुने गरेको छ।
उक्त स्थानमा १६ वर्षदेखि नै अवरोध हुने गरेको स्थानीयको गुनासो छ। बर्सेनि ठेक्का हुने गरे पनि गुणस्तरीय काम नहुँदा पानी पर्नेबित्तिकै सडकमा गाडी घण्टौँसम्म फस्ने गरेको हो। पहिरो रोकथामका लागि सडक डिभिजन कार्यालय जुम्लाले अहिले बाटो निर्माण सुरु गरे पनि पूरा नहुँदा समस्या उस्तै छ। पहिरो रोक्न ग्याबिन जालीसहितको काम पनि भइरहेको छ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सुनार खोला सडकको एकातर्फ आरसिसी गर्न लागेकाले अब धेरै दिन यात्रुले सास्ती खेप्नु नपर्ने बताउनुभयो। वर्षाका कारण कर्णाली राजमार्गको पादुका, दैखोला, काले खोला, हुल्म, सेरीघाट, सुनार खोला, ताडी, पिली, टिमुरेभिरमा सडक बिग्रिएकाले यात्रुलाई सास्ती भएको छ।