• १० मंसिर २०८१, सोमबार

विस्मृत स्मृति

blog

कति नमिठो भएर दुख्छन् – कतिपय दिनहरू। हजारौँ दिनमा यस्ता दिन पनि छन् – जसले जीवनलाई अमिलोमा रूपान्तरित गर्छन् ।एउटा विस्मृत दिन विस्मृतिकै गर्तमा फाल्नु छ । नसम्झनु छ – त्यो दिन । नकल्पिनु छ – त्यो समय । नसोच्नु छ – त्यो अकल्पनीय दुःख । मनबाट टाढा राख्नु छ । स्मृतिबाट पुछ्नु छ र मस्तिष्कबाट सधैँका लागि निमिट्यान्न पार्नु छ । 

एउटा नसम्झने दिनका विरुद्ध म के लेख्न सक्छु! त्यो अप्रिय दिनले हरदम गाँजिरहन्छ मलाई । सपनामा ऐँठन गरे झैँ । विपनामा सास रोके झैँ र कल्पनामा कहाली लागे झैँ – हरदिन दुखिरहन्छ त्यो दिन ।

दिनहरू हजारौँ बिते। रातहरू हजारौँ बिते। समयका लामा–लामा उकाली–ओराली र फाँटहरू बिते। जीवनका आरोह–अवरोह, आपत–विपत्, सुख–दुःख जम्मै न्याना र आत्मीय भएर बिते । सरल र सफा भएर बिते । त्यो दिन जो जीवनभर दुःखाएर बित्यो । हृदयलाई काँव्रmो झैँ चिरा–चिरा पारेर बित्यो । मस्तिष्कलाई मुसाले खाएको लुगा झैँ धुजा–धुजा पारेर बित्यो । जीवनको सर्वाधिपत्य र मुमुक्षा भत्काएर बित्यो ।

– त्यो दिन जो सम्झन पनि चाहन्नँ।

हरेक प्रभातमा घोच्ने किरण भएर आउँछ। दिनमा पोल्ने आगो भएर आउँछ, हरेक बेलुकी चह¥याउने घाउ बनेर आउँछ अनि हरेक रात कहाली लाग्ने त्रास बनेर आउँछ । पलपल आउँछ – त्यो दिन किन यसरी निर्मम बनेर आउँछ ?

निर्मम दिनलाई सहनु पनि कति निर्मम हुन्छ। सम्झन नचाहने क्षणलाई सम्झनु पनि सकस हुन्छ। यो त भोग्नेहरूलाई थाहा हुन्छ। हृदयमा आगो बोकेर हिँडेकाहरूलाई आगोको ‘राप’ र ‘ताप’ अनुभूति हुन्छ । आगोसँग खेलेका दिन र आगोले डामेका सम्बन्ध कति चह¥याइँदो हुन्छ । जिजीविषाका अनेक आयाममा त्यो दिन अल्झेको छ । त्यो पल गाँसिएको छ । समयको निर्भयतासँग खेल्दाखेल्दै कति पटक भयले गाँजेको छ । त्रासले तर्साएको छ ।

जीवन सहज छैन। 

जीवनमा सङ्घर्ष छ, घर्षण छ, राप छ, ताप छ, सकस छ, दुःख छ, अभाव छ। अथाह अप्ठ्यारासँग जुध्नु छ। त्यो दिन बिर्सनु छ।

दुःखसँग जुध्न सकिन्छ। अभावसँग रुझ्न सकिन्छ। सङ्घर्षसँग भिड्न सकिन्छ तर जीवनमा यस्ता दिनहरू हुन्छन्। कतिपय दिनहरूसँग न जुध्न सकिन्छ! न भिड्न सकिन्छ! ती निरीह दिनहरूसँग झुक्नुसिवाय अर्को केही गर्न सकिन्न । आफ्नै हत्केलाबाट उफ्रिँदै झरेका दिनहरू धेरैका बेहिसाब होलान् । कसैले सम्झिएर दुःखे होलान् । कसैले बिर्सिएर मस्तिष्कबाट छुटे होलान् । 

कैयौँ भूतपूर्व दिन अभूतपूर्व भएर बिते होलान्। कति अपूर्ण भएर बिते होलान्। कति रित्तो रित्तो भएर बिते होलान्। ती दिनहरू म आज सम्झन चाहन्नँ। विस्मृतिका अनेकौँ लयहरू नमिल्न सक्छन् । अनेकौँ आकाङ्क्षा अपूरा र अधुरा हुन्छन् । जीवन उत्तर नमिलेको हिसाब जस्तो पनि हुन्छ । लय नमिलेको गीत जस्तो पनि हुन्छ ।

– नसम्झनुपर्ने दिनहरू सम्झन कति गाह्रो हुन्छ। आल्हादित–स्वर्णिम र रोमाञ्चित दिनभन्दा कहालीलाग्दो–पट्यारलाग्दो र अत्यासलाग्दो दिनहरूको चित्र मस्तिष्कमा भयानक हुन्छ । कल्पनासमेतले मनमा बीभत्स तस्बिर खोप्छ ।

कहिलेकाहीँ काँचको चुरा जस्तै फुटेका दिनहरू सम्झिनु पर्छ। कहिलेकाहीँ हुरीले क्षत–विक्षत पारेको बगैँचा जस्ता दिनहरू सम्झनु पर्छ। सधैँ आँखाभित्र अटाउने दिनहरू मात्रै हुँदैनन् । मनभित्र लुकाउने दिनहरू मात्रै हुँदैनन् । मस्तिष्कभित्र सजाउने दिनहरू मात्रै हुँदैनन् । हामीसँग अतीतका असङ्ख्य तिता–मिठा अनुभव नहुने हो भने जीवन कति निरस हुन्थ्यो होला ! जीवनमा अनेकौँ अप्ठ्यारा छन् र पो हामी गतिशील छौँ । कहिलेकाहीँ मस्तिष्कलाई दर्शनले भिजाउँछु र जीवनको परिभाषा गर्छु – जीवन त दुई दिनको घामछाया हो । जीवन सिधा रेखामा मात्रै हिँड्दैन । कहिलेकाहीँ हिँड्छ– बक्र रेखामा । 

– कतिपय दिन–यति बिघ्न बीभत्स हुन्छ। यति बिघ्न निर्दयी र कठोर हुन्छ, जो सम्झँदा मात्रै पनि मन प्रकम्पित हुन्छ। हृदयको ढुकढुकी बेजोडसँग बढ्छ। शरीर शीताङ्ग हुन्छ। सौन्दर्य एकाएक पग्लिएर विस्मयको गडतिरमा सुसाउन थाल्छ । मन यति कोमल भइदिन्छ– मानौँ आफैँ शरीरमा बगेको रक्तनलीहरू पनि आवाज निकाल्न थाल्छ । छालहरू उर्लिएर वेग मार्न थाल्छन् । भङ्गालाहरू फाटे झैँ हुन्छन् । 

निस्तब्ध छ समय। एकान्त छ मेरो साथी। शून्यतामा रुमल्लिनुको निर्मम पल कति कहालीलाग्दो हुन्छ। आज म आफैँलाई पोखिरहेको छु। आफैँलाई टकटक्याइरहेको छु। स्मृतिको गहिरो दहमा पौडिरहेको छु । सन्नाटाहरू नुहाउँछन्, मनका पधेँराहरूमा । हृदयमा तार चुँडिएको सारङ्गी छ । धुलोमा लपेटिएका घुर्मैला तस्बिर छन् – यत्रतत्र । यो उद्विग्न हृदयमा आफ्नै विगत पिङ खेलिरहन्छ हरघडी । आफ्नै पराजयहरू उप्काएर बस्नुजत्तिको नमिठो के हुन्छ ? 

म सम्झन्छु – अमेरिकी प्रसिद्ध कवि सिल्भिया प्ल्याथ। उनको जस्तो कमजोर हृदय म संसारमा कसैको देख्दिनँ। सिल्भियाले यौवनकालमै आत्महत्याको योजना बुनिन्। म त अहिले पनि भन्छु – आत्महत्या महाप्रस्थानको ‘रङ–वे’ हो । 

ओ! 

सिल्भिया प्ल्याथ!

म तिमीविरुद्ध छु। 

मेरा पैताला तिम्रोविरुद्धमा छन्। 

तिमी मृत्युसँग जीवन देख्छ्यौ। 

म जीवनसँग मृत्यु फिक्का देख्छु। 

जीवनको अभाव खेप्न तयार छु म। 

अप्ठ्यारोहरू झेल्न राजी छु म। 

हाँसी–हाँसी अप्ठ्यारोसँग जुध्न राजी छु म। 

मेरा प्रत्येक पाइलाहरू सङ्घर्षका सिँढी टेकेर हुर्किएका छन्। अभावका नागीहरू कुल्चेर आएका छन् तर म मृत्युलाई आफ्नै मस्तिष्कले निस्पादन गर्न सक्दिनँ । त्यो कायरपन हो । हामी सबैले जीवनलाई निन्दनीय होइन, बन्दनीय र अभिनन्दनीय बनाउन प्रेरित हुनु पर्छ भन्छु ।

यद्यपि म त्यो अप्रिय दिन बिर्सन चाहन्छु । त्यो दिन भुल्न चाहन्छु । मलाई थाहा छ – नसम्झनुपर्ने दिनहरू सम्झनुको सकस !

– पीडोत्सव मनाइरहेका दिनहरू 

– पीडोत्सव मनाइरहेका साँझहरू 

– पीडोत्सव मनाइरहेका सपनाहरू 

– पीडोत्सव मनाइरहेका कलिला रातहरू 

म चाहन्नँ, चाहन्नँ कहिल्यै पनि, जो तर्साउन आउँछन् दिनहरू÷साँझहरू÷सपनाहरू÷रातहरू ! म हरेक पलहरूमा ध्यानस्थ हुन चाहन्छु । 

हत्केलामा सुनौला दिनहरू खेलाउनु छ । मस्तिष्कबाट अँध्यारो पुछ्दै जानु छ । पैतालाले दुःख कुल्चिँदै छोड्नु छ । मनबाट तुस मेट्दै गर्नु छ । 

दुःख–सुख, शान्ति–अशान्ति, तृप्ति–अतृप्ति, प्राप्ति–अप्राप्ति यी त जीवन हुन् । आउँछन्–जान्छन् । सुस्ताउँछन्–अस्ताउँछन् । चम्किन्छन्–चिप्लिन्छन् । थुप्रिन्छन्–उप्किन्छन् । फैलिन्छन्–फराकिन्छन् । दुःख–सुखलाई जीवन सम्झने हो । उज्यालो दिनसँग पनि कालो र अँध्यारो रात हुन्छ । 

सुख–दुःख त केवल प्रकृति हुन् – प्रकृति !

कहिले पतझर, कहिले फूलैफूल, कहिले हरियाली । अक्सर फेरबदल भइरहन्छ । 

म घरअगाडि बारीको डिलमा उभिएको आरूबखडाको बोट हेर्छु र जीवन कल्पना गर्छु । एक वर्षमा धेरै रूपमा उभिन्छ त्यो आरुबखडाको रुख ! भदौमा सघन हरियो हुन्छ । कात्तिकमा पात पहेँलो हुँदै झर्न थाल्छ । हेर्दाहेर्दै आरुबखडाको रुख सर्लङ्ग नाङ्गो हुन्छ – सर्वाङ्ग ! नाङ्गा हाँगाले शीत सहनु पर्छ । तुसारो खप्नु पर्छ । असिना–पानी र हुरी–हुण्डरी पचाउनु पर्छ । त्यही वृक्ष वसन्त नआउँदै स्वेतपुष्पले झपक्क हुन्छ । सौन्दर्यले सबैको मन आह्लादित बनाउँछ । फूल र भमराहरूको प्रेमोत्सव चल्छ । बिस्तारै फूलहरू दानामा परिणत हुन्छ । पालुवा लाग्न थाल्छ । जेठभित्रै वृक्षको हाँगो फलले झपक्क हुन्छ । भुइँसम्म नुहेको हुन्छ । आरुबखडा नपाक्दै बच्चाहरू झुइँझुत्ती खेल्न थाल्छन् । 

हाँगै भाँचेर फल टिप्छन् । फलकै लागि आरुबखडाले ढुङ्गा सहनु पर्छ । झट्टी–झटारो सहनु पर्छ । बच्चाबच्चीको झुइँझुत्ती सहनु पर्छ । यो सबै फलका लागि हो । मानिसले पनि आरूबखडाकै जीवन बाँच्नु पर्छ । कति मुस्किल छ । कति सकस छ । कति हैरानी छ । फलेकै वृक्षले झट्टी सहनुपर्ने, ढुङ्गा सहनुपर्ने किन ? 

फल्नुको अर्को नाउँ हो – जीवन । फैलनुको अर्को आयाम हो – जीवन । दुःखको एक याम हो – जीवन ।

बुझ्दै जाँदा जगत्का कैयौँ प्रश्न अनुत्तरित छन् । शङ्कर लामिछानेको निबन्ध जस्तो । वाङ्देलको पेन्टिङ जस्तो । मोहन कोइरालाको कविता जस्तो । देवकोटाको जीवन जस्तो । मोनालिसाको सौन्दर्य जस्तो । माइकल ज्याक्सनको जादूमयी स्वर जस्तो । प्रकृतिका कैयौँ कुरा पनि अनौठा छन् । अनुत्तरित छन् । 

धेरै मानिसमा एउटा भ्रम छ – “म अन्तिम सत्य हुँ, अरू सबै मिथ्या हुन् !” यो के कारण हुन्छ ? किन मानिसहरू आफू ठिक र दुनियाँ बेठिक देख्छन् ? कहिले–कहिले म आफूलाई पनि आफू ठिक र दुनियाँ बेठिक लाग्छ । हल्लाहरू ठिक र मौनताहरू बेठिक लाग्छ । अफवाह ठिक र यथार्थ बेठिक लाग्छ । सायद यो मभित्रको भ्रम होला ! ‘म’ ठिक र दुनियाँ बेठिक भन्ने चिन्तन कति दुस्प्रभावी छ ! घोर आपत्तिजनक छ । सर्वाङ्ग चिन्तन हो यो, जो नाङ्गो छ, साँघुरो छ । म आफैँलाई सम्झाउँछु । मस्तिष्कलाई साँघुरो गल्ली होइन, फराकिलो राजमार्गमा दौडाउनु पर्छ । 

केही दिनअघि प्रसिद्ध कवि डा. विष्णुविभु घिमिरेले फोन गर्नुभएको थियोे । विष्णु दाइ जटिल प्रश्नहरूको सरल उत्तर हो भन्ने लाग्छ । कहिले कहिले मलाई सम्झाउँदै भन्नुहुन्छ – “श्रीबाबु ! आफ्नो जीवनको सम्पादक तपाईं आफैँ हो । तपाईंका समानान्तर दुई आँखा छन्, एउटाले विगत हेर्नू – ... र आफ्ना त्रुटिहरू सच्याउनू । अर्कोले आगत हेर्नू – ... र यात्रालाई गन्तव्यमा पु¥याउनू ।’’ मलाई साँच्चिकै विष्णुविभु दाइको यो मार्गदर्शन अनुकरणीय लाग्छ । मेरा कैयौँ त्रुटिसँग आफैँ जुध्नु छ । म आफैँ हुँ मेरो जीवनको कालिगड । म आफैँ हुँ मेरो जीवनको चित्रकार ! म आफैँ हुँ मेरो जीवनको भाग्य निर्माता ! म एक अलिखित हस्तरेखा हुँ ।

हामी पनि आरुबखडाकै जीवन त हौँ । बारीको डिलमा रुख्खा–सुक्खा झेलेर उभिइरहेका । हुरी–हुन्डरी छलेर उठिरहेका । आरुबखडा हौँ – जीवनको डिलमा दुःख–सुख झेलेर ठिङ्ग उभिइरहेका छौँ । जीवनकै तटबाट जीवनको लय पढिरहेका छौँ ।

म विगतलाई आगतले धुन चाहन्छु । पुराना एल्बमहरूका पानाबाट झिक्न चाहन्छु – त्यो कालो दिन । जो समयको मोह–पासबाट फालिएको होस् । इतिहासको गर्तबाट झिकिएको होस् । अभिशप्त स्मृतिहरूबाट मेटिसकेको होस् । हिँडेका हजारौँ डामबाट मेटिसकिएको होस् – त्यो अप्रिय दिन ।

– त्यो दिन वर्तमानमा सम्झन पनि चाहन्नँ म ।

कुनै दूर यात्राका क्रममा रेलको झ्यालबाट हुरूरू छुटेका, छुट्दै गएका घना जङ्गल, पहाड–पर्वत, खोला–नाला, झरना–फूलहरू, पहाडी तरेलीहरू, भिर–पहरा, पोखरी–पँधेरा, बादल–बसेरा, चौतारी–चौपाटा, क्षितिजहरू ... ! बाटोमा कतै छुटे झैँ – छुटाउन चाहन्छु । छोड्न चाहन्छु त्यो अप्रिय दिन । घामको एक झुल्को उज्यालो गेटतिर पोखिएर हाराए झैँ । चराको उडानमा कुनै एउटा प्वाँख हावामा झरेर अलप भए झैँ छोड्न चाहन्छु त्यो दिन । भ्वाइलिनको बुढो धून कुनै सन्नाटामा निस्तेज भए झैँ – निस्तेज पार्छु त्यो दिन । क्यानभासमा पोतिएका रङहरूबाट आफ्नो रङ हराए झैँ – भुल्न चाहन्छु त्यो दिन ।

 हरेक पल उफ्रिँदै हिँड्ने पश्चातापहरू

हरेक बिहान रुँदै हिँड्ने दुस्वप्नहरू ?

हरेक दिन मात्तिँदै हिँड्ने जीवनका बेचैनीहरू 

हरेक साँझ दुःखका ब्लुज गाउने सारङ्गीका धूनहरू

हरेक समय सताइरहने आततायी यातनाहरू 

म फाल्न चाहन्छु – जीवनको भग्नावशेषबाट एउटा दिन र मिल्काउन चाहन्छु स्मृतिबाट त्यो अप्रिय समयको अनुहार । मौनता नै मौनता टेकेर कति हिँड्नु जीवनको उकाली ! यादै यादहरूको जङ्गलमा कति हराउनु ! कल्पनै कल्पनाको गहिरो दहमा कति डुबुल्की मार्नु ! भो बिर्सिदिन्छु एउटा भूतपूर्व दिन । 

चाह्यो भने हत्केलामा खुसी फुलाउन सकिन्छ । अधरमा उत्साह उमार्न सकिन्छ । पैतालामा संसार जगाउन सकिन्छ । हृदयमा आशा ब्युँताउन सकिन्छ । हिम्मत राख्ने हो भने दुनियाँमा गर्न नसक्ने केही छैन । अँध्यारोलाई उज्यालो बनाउनु पर्छ । उज्यालोलाई थप चम्किलो बनाउनु पर्छ । 

जीवन छ र धेरै कुरा छन् । सम्झिन्छु, उपनिषद्को एक कालजयी मन्त्र ।

असतो मा सद्गमय ।

तमसो मा ज्योतिर्गमय ।।

मृत्योर्मा अमृतं गमय ।।।  

Author

श्रीबाबु कार्की