• ३ पुस २०८१, बुधबार

अध्यागमन विभागको महानिर्देशकमा तामाङ

blog

काठमाडौँ, भदौ २६ गते । अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई सरुवा गरिएको छ । तामाङ यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएपछि रिक्त रहेको पदमा तामाङको सरुवा गरिएको हो । 

गृह मन्त्रालयले तामाङसहित १० सहसचिवको सरुवा गर्दा छ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदी दाङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएको छ । 

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालय अन्तर्गत ल्याइएको छ भने मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रजिअको जिम्मेवारी दिइएको छ ।