• ८ साउन २०८१, मङ्गलबार

कोरियाको भिसा रद्दगरी गाउँमा कृषि कर्म

blog

कोरियाको भिसा रद्दगरी कृषि कर्ममा लाग्नुभएका कोहलपुर –११ का सर्वजित बंशीमगर । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, भदौं २५ गते । बाँकेको कोहलपुर नगरपालिका–११  कृषि रोडका ३८ वर्षीय सर्वजित् बंशीमगरले करिब ९ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताउनुभयो ।

भिसा अवधि बाँकी रहँदै नेपालमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर उहाँ दुई वर्षदेखि कृषि व्यवसायमा जुट्नुभएको छ । कोहलपुरसँग सीमा जोडिएको खजुरा गाउँपालिका –४ मा एफगाउँमा कृषि फर्म सञ्चालन गर्नुभएका बंशीमगरले एक बिघा जग्गामा ड्रागन फ्रुट, माछा, बङ्गुर तथा कुखुरापालन र कागती खेती गर्दै आउनुभएको छ । 

बंशीमगरले भन्नुभयो, “कोरिया जानुभन्दा पहिले पनि गाउँमै केही गरौँ भन्ने सोच थियो, बाध्यताले कोरिया पुगियो । ८–९ वर्ष बसेपछि फेरि गाउँमै केही गरौँ भन्ने लागेर डेढ वर्ष बाँकी रहेको भिसा रद्द गरी यो काममा लागेको छु ।’ 

कोरियामा कार्पेट बनाउने कम्पनीमा कार्यरत उहाँको अहिलेको दैनिकी भने फरक छ । ड्रागन फ्रुट र कागती, स्थानीय जातका कुखुरा र बङ्गुरको रेखदेख र माछालाई दानापानी दिने, र फर्ममै माछा काटेर बिक्री गर्दै उहाँको दैनिकी बित्नेगरेको छ । बायोफ्लक प्रविधिमार्फत माछापालन गर्दै आउनुभएका बंशीमगरले माछाबजार पठाउन थाल्नुभएको छ । बङ्गुर र कुखुरा तथा ड्रागन फल र कागतीको उत्पादन बजारमा पठाउन केही समय लाग्ने उहाँको भनाइ छ । 

दुई वर्षको अवधिमा आफूले गरेका कामबाट सन्तुष्ट रहनुभएका बंशीमगर व्यवसायलाई थप बिस्तार गर्ने, फर्मभित्रै अर्ग्यानिक रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । दुई वर्षको अवधिमा सरकारी निकायबाट अनुदान नपाएका उहाँ कोरियाबाट फर्केर कृषि कर्मबाट लागेकोमा खुसी नै रहेको बताउनुभयो ।  

कोरियामा १५ वर्ष काम गरेर फर्किनुभएका मामा प्रदीपकुमार थापासँग मिलेर बंशीमगरले कृषि फर्मको सुरुवात गर्नुभएको बताउनुभयो ।