• ५ जेठ २०८१, शनिबार

इखाबुका पहिरो पीडितलाई राहत वितरण

blog

फक्ताङ्लुङ गाउँपालिका –४ इखाबुका पहिरो पीडितलाई राहत सामग्री वितरण गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका र जोखिममा परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

फक्ताङ्लुङ गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले पहिरोले घर क्षतिग्रस्त भई विस्थापित भएका बिरहाङ लिम्बू र भक्तबहादुर लिम्बूको परिवारसमेत नौ परिवारलाई सोमबार राहत सामग्री वितरण गरेको हो । 

घर पूर्णरुपमा क्षति भएका दुई परिवारलाई ५० किलोग्रामका दरले चामलसहितका खाद्यान्न सामग्री र एक–एक थान त्रिपाल वितरण गरिएको छ । रेडक्रस सोसाइटीले पनि पहिरोमा घर गुमाएका दुई परिवारलाई भाँडा वर्तन, लत्ताकपडालगायतका सामग्री वितरण गरेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का स्वकीय सचिव दिलकुमार पतङ्वाले जानकारी दिनुभयो । 

उहाँका अनुसार इसाई समाज फक्ताङ्लुङ गाउँपालिकाले पनि दुई परिवारलाई ३० किलोग्रामका दरले चामल वितरण गरेको छ । यस्तै, घर उच्च जोखिममा परेका रामकुमार लिम्बू, दिलीप लिम्बू, चैतन्य लिम्बू, मकरध्वज लिम्बू र आर्यन लिम्बू तथा जोखिममा परेको सुशील लिम्बू र धनवीर लाबुङको परिवारलाई गाउँपालिकाको तर्फबाट एक–एक थान त्रिपाल उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । 

पहिरो पीडित परिवारलाई प्रभावित क्षेत्रमै पुगेर गाउँपालिका अध्यक्ष लिम्बूसहितको टोलीले राहत सामग्री वितरण गरेको जनाइएको छ ।