• ५ जेठ २०८१, शनिबार

नगरको समग्र विकासमा लागेका छौँ

blog

इलाम नगरपालिका पुराना नगरपालिकामध्ये एक हो । कुल १७३.३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस नगरपालिकाको पूर्वी सिमाना माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिकासँग जोडिएको छ । उत्तरमा सन्दकपुर गाउँपालिका र पाँचथर जिल्ला, पश्चिममा देउमाई नगरपालिका र दक्षिणमा माई र सूर्योदय नगरपालिका पर्दछन् । भौगोलिक विविधता, जातीय तथा सामाजिक सद्भाव कायम रहेको यस नगरपालिकामा ऐतिहासिक एवं सांस्कृतिक सम्पदा उल्लेखीय रूपमा छन् । यस नगरपालिकाको कुल जनसङ्ख्या ४८ हजार ५३६ छ । अन्नबाली उत्पादनमा अब्बल मानिएको यस नगरमा राई, लिम्बू, ब्राह्मण, क्षेत्री, तामाङ, मगर, नेवार, गुरुङलगायतका जातिको बसोबास छ । पछिल्लो समय शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा विशेष जोड दिइरहेको इलाम नपामा भइरहेको विकास निर्माणलगायत विविध  विषयमा केन्द्रित रही नगर प्रमुख केदार थापासँग गोरखापत्रका पशुपतिनगर समाचारदाता प्रेम अधिकारीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ : 

तपाईं निर्वाचित हुनुभएको डेढ वर्ष बित्न लाग्यो, इलाम नगरपालिकाको समग्र अवस्था के छ ?

नीतिगत रूपमा नगरको समग्र विकासको पूर्वाधार निर्माण साथै ठोस ठोस कार्यको थालनीमा लागेका छौँ  । नीति तथा कार्यक्रममै कृषि पशुपालन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनलाई अगाडि बढाएर जाने निर्णय गरेर त्यसैमा केन्द्रित भएर काम गरिरहेका छौँ । 

विकास निर्माणका योजना कसरी अगाडि बढ्दै छन् ? 

विकास निर्माण कार्य निरन्तर चलिरहेको छ । विशेष गरेर कृषि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटनको क्षेत्रमा केन्द्रित छौँ । कालोपत्रेले नछोएका सडकलाई प्राथमिकतामा राखेका छौँ  । वडा नम्बर ३, ११ र १२ मा बाटो निर्माण गर्न नगर, प्रदेश र सङ्घको बजेट हालेका छौँ । विद्युत्को कुरा गर्दा १३३ केभिए प्रसारण लाइन अव्यवस्थित थियो, अव्यवस्थित तार हटाएर करेन्ट प्रवाह नहुने एबिसी केबल तार बिछ्याउने काम हुँदै छ । विद्युत् नपुगेका ठाउँमा विद्युत् विस्तार हुँदै छ । खानेपानी र पर्यटनमा काम हुँदै छ । 

शिक्षा र स्वास्थ्य क्षेत्रमा के के गर्दै हुनुहुन्छ ? 

शिक्षामा गुणस्तर कायम गर्न र नयाँ प्रविधिबाट सिकाइका निमित्त काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा सामुदायिक विद्यालयको आवश्यकता र जिम्मेवारीका विषयमा अध्ययन भइरहेको छ । नीति बनाएर थप शैक्षिक कार्य अगाडि बढ्छ । साबिक मेची अञ्चलकै शिक्षामा इलाम नगरपालिकाले महìवपूर्ण स्थान ओगटेको छ । हामी अहिले नयाँ विषय ल्याउन पहल गरिरहेका छौँ । नगरले सामुदायिक कृषि क्याम्पस सुरु गरेको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा बिबिए सुरु गरेका छौँ । विज्ञान कक्षा सञ्चालन गरी बिएससी पढाउने तयारी छ । अर्को कुरा सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा प्राविधिक विषय पढाइरहेका छौँ । स्वास्थ्यको क्षेत्रमा सबैको पहुँचमा छिटोछरितो सेवा पुग्ने गरी काम भइरहेको छ । वडामै प्राथमिक स्वास्थ्यको पहुँच विस्तार र शिक्षण अस्पताल सञ्चालनका लागि पहल भइरहेको छ ।  

इलाम अहिले पर्यटकीय हिसाबले ओझेलमा छ ? पर्यटन क्षेत्रको विकास कसरी हुँदै छ ? 

पर्यटन विकासमा सबैभन्दा पहिला सडकको आवश्यकता पर्छ । मेची राजमार्गको अवस्था नाजुक छ । जसले गर्दा विदेशी पर्यटकलाई आउन कठिन छ । इलाम आउने केचना–कञ्चनजङ्घा परियोजना अन्तर्गत दु्रतमार्ग बन्दै छ । करिब डेढ घण्टामा तराईबाट इलाम आइपुगिन्छ । यो सडक बनेपछि केही सहज हुन्छ । माईस्थान मन्दिरको २४८ वर्ष पुरानो निसान फर्काएर राख्ने काम भयो । केही स्थानको सौन्दर्यकरण गर्दै छौँ । हिमाली क्षेत्रको पाटेनागीको विकासमा लागेका छौँ । शैक्षिक पर्यटन र एग्रो टुरिजमका क्षेत्रमा पनि काम हुँदै छ । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने काम भइरहेको छ । 

कृषि र पशुपालनमा पनि यो नगर अब्बल छ । कृषि र पशु क्षेत्रको व्यवसायीकरण र बजारीकरणका लागि के गर्दै हुनुहुन्छ ? 

अहिले कृषि र पशुपालनका क्षेत्रमा थुप्रै काम गर्दै छौँ  । इलाम नगरलाई ‘काउ जोन’ का रूपमा विकास गर्दै छौँ । नस्ल सुधारका विविध योजना कार्यान्वयन गरेका छौँ । इलाम जिल्ला नेपालकै दुध उत्पादनमा दोस्रो जिल्ला हो । दुध उत्पादनमा सव्रिmय सहकारीलाई प्रविधियुक्त बनाउन र यान्त्रिकीकरण गर्न करोडाँै रुपियाँका विभिन्न औजार वितरण गरेका छौँ । कृषि उत्पादन मात्र गरेर भएन बजारीकरणका लागि पनि प्रदेश र सङ्घीय सरकारको माध्यमबाट पहल गरिरहेका छौँ । वडा वडामा बिउबिजन वितरणदेखि विभिन्न कार्यव्रmम सञ्चालन भइरहेका छन् । 

स्वास्थ्य क्षेत्रका समस्या कसरी समाधान गर्नुहुन्छ ? 

इलामकै सबैभन्दा पुरानो र सय श-याको अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि डाक्टर आउँदैनन् । विशेषज्ञ सेवासहितको सुविधा दिएर व्यवस्थित गर्न सकेका छैनौँ । सरकारको नीति अनुरूप नै इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण अस्पताल सञ्चालनका लागि अनुमति मागिरहेका छौँ  । जसका लागि जग्गाको पनि व्यवस्थापन गरिसकेका छौँ । अनुमति पाएमा इलाम मात्र नभई पाँचथर, ताप्लेजुङ, तेह्रथुम र झापा जिल्लाका लागि पनि सहज हुने छ । शिक्षण अस्पताल सञ्चालनका लागि प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । कोशी प्रदेश सरकारको निश्चित भएपछि यो कामले थप गति लिने छ । स्वास्थ्यको क्षेत्रमा हामीले निकै ध्यान दिएका छौँ । थन्किएर बसेको डायलासिस मेसिन सञ्चालनमा ल्याएका छौँ, यसले नागरिकलाई ठुलो राहत भयो । तर, विशेषज्ञ डाक्टर बस्न नमान्ने समस्या अझै छ । प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष  निरन्तर पहल गरिरहेका छौँ । 

इलाममा खानेपानीको समस्या पनि छ नि ? 

एडिबीको खानेपानी आयोजना सञ्चालन गर्नुअघि प्रतिसेकेन्ड १५ लिटर पानी आइरहेको थियो । आयोजनाको काम सबै सम्पन्न नहुँदै अहिले प्रतिसेकेन्ड ५० लिटर पानी आइरहेको छ । आफैँ मूल्याङ्कन गर्नुहोला । यो यति ठुलो आयोजना हो, आयोजनाको पानी फिल्टरिङ भएर धारामा आउने हुँदा उमाल्नु पर्दैैन, यो पानी पिउन योग्य छ । अब पहिला दुई हजार आठ सय धारा रहेकोमा अहिले धारा सङ्ख्या चार हजार पुगेको छ । अब टयाङ्करबाट पानी वितरण गर्नुपर्ने अवस्था छैन । 

प्रदेश र सङ्घीय सरकारसँगको समन्वय कस्तो छ ? 

तीन तहको सरकार छ । हामीले प्रदेश र सङ्घ सरकारका मन्त्रालयसँग जोडिएरै काम गर्नु पर्छ । कतिपय प्रदेश र सङ्घीय योजना छन् । बजेट माग्ने नै हामीले त्यहीँबाट हो । सङ्घ र प्रदेशसँग समन्वय भएन भने त हामी अविभावकविहीन नै हुन्छौँ । स्थानीय तहको विकासमा अझ बढी ध्यान दिन माथिल्लो दुवै सरकारले ध्यान दिन जरुरी छ । हामी सहकार्य र समन्वयमै काम गरिरहेका छौँ ।