• १५ कात्तिक २०८२, शनिबार

राष्ट्रिय निकुञ्जद्वारा पदयात्रीहरुलाई सावधानी अपनाउन आग्रह

blog

गङ्गाकुमारी मिजार 

रसुवा, कात्तिक १५ गते । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चेले लाङटाङ क्षेत्र घुम्न आउने पदयात्रीहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार हिमाली जिल्ला अन्तर्गत पर्ने लाङटाङ क्षेत्रमा रहेका अग्ला पहाड, हिमाल र कुण्डको रोमाञ्चक पदयात्रा अनुभव दिलाउने भए पनि हाल बङ्गालको खाडीमा उत्पन्न मोन्था नामको चक्रवातले रसुवाको उच्च क्षेत्रमा हिमपात भएकाले धेरैजस्तो ठाउँमा यात्राका क्रममा जोखिम हुन सक्ने हुँदा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी निकुञ्जले मौसम प्रतिकूल भएसँगै पदमार्ग चिप्लो हुने, ठाउँ ठाउँमा बाटो अवरुद्ध हुनसक्ने तथा उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्या देखापर्ने भएकाले मौसममा सुधार नभएसम्म पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सावधानी अपनाएर मात्र पदयात्रा गर्न सूचना जारी गरेको छ ।

साथै, पदयात्रामा कुनै विपद्जन्य घटना भइहालेमा सम्बन्धित स्थानीय तह, स्थानीय जनप्रतिनिधि र नजिकैको सुरक्षा एकाइ तथा स्थानीय प्रशासनलाई जानकारी गराउनसमेत अनुरोध गरेको छ ।