• १५ कात्तिक २०८२, शनिबार

सडक र पुल सञ्चालनमा ढिलाइ हुँदा स्थानीय आक्रोशित

blog

रसुवाको प्रवेशद्वार क्षेत्र ।

गंगाकुमारी मिजार

रसुवा, कात्तिक १५ गते । रसुवाको प्रवेशद्वार मानिने वेत्रावती क्षेत्रका स्थानीयवासीहरु लामो समयदेखि अलपत्र अवस्थामा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्र्रुबेंसी सडक आयोजनाको काम सुस्त हुँदा आक्रोश व्यक्त गरेका छन् । 

सडक स्तरोन्नति र निर्माण सम्पन्र भइसकेको पुल सञ्चालनमा ढिलाइ हुँदा स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ । स्थानीयका अनुसार आयोजनाको काम अधुरो रहँदा सडकमा अत्यधिक धुलो, हिलो, असहज आवतजावत र जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । 

वषौंदेखि निरन्तर समस्याको सामना गर्दैआएका स्थानीहरुले केही दिनमा आधिकारिक प्रतिक्रिया नआए अनिश्चितकालीन सडक अवरोधसहित रसुवा बन्द सुरु गर्ने घोषणा गरेका छन् । वेत्रावती निवासी गणेश क्षेष्ठ, शान्ता खडका, लेखनाथ अधिकारी, शशि डङ्गोललगायत स्थानीय प्रतिनिधिहरुले संयुक्त रुपमा आयोजनाको काम छिटो सम्पन्न गर्न माग गर्नुभयो ।

गणेश क्षेष्ठका अनुसार स्थानीयहरुले यसअघि पटक पटक उत्तरगया गाउँपालिका, जिल्ला प्रशासन कार्यालय रसुवा, सडक आयोजना कार्यालयलगायत अन्य सरोकारवाला निकायहरुमा ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नभएको गुनासो गर्नुभयो ।