• १५ कात्तिक २०८२, शनिबार

खोरेत मुक्त अभियानमा भ्याक्सिनेटर परिचालन

blog

भ्याक्सिनेटरहरुलाई खोरेत रोग नियन्त्रण र उन्मुलनसम्बन्धि अभिमुखिकरण । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), कात्तिक १५ गते । गुल्मीमा पशुचौपायमा हुने खोरेत रोग नियन्त्रण तथा उन्मुलन गर्ने अभियानमा प्रभावकारी रुपमा अगाडि बढेको छ। लुम्बिनी प्रदेश सरकाले पहाडी जिल्लाको रुपमा गुल्मी र अर्घाखाँचीसहित अरु जिल्लाका केही पालिकाबाट खोरेत रोग मुक्त गर्ने अभियान सुरु गरेको छ । 

गुल्मीमा केही स्थानीय तह केन्द्रित गरेर आर्थिक बर्ष २०७७–७८ बाट नै कार्यक्रम भइरहेको थियो । यो आर्थिक बर्षबाट जिल्लाभरका स्थानीय तहमा कार्यक्रम कार्यान्वयन भइरहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र, गुल्मीले जनाएको छ ।

अभियान प्रभावकारी बनाउन गुल्मी जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यरत भ्याक्सिनेटर (खोप कार्यक्रम सञ्चालन गर्ने जनशक्ति) को संख्या पछिल्ला वर्षहरूमा क्रमिक रूपमा वृद्धि भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका अनुसार आर्थिक वर्ष २०७९–८० मा ४८ जना भ्याक्सिनेटर कार्यरत रहेका थिए भने २०८०–८१ मा ५९ जना र २०८१–८२ मा वृद्धि भएर १०२ जना पुगेको बिज्ञ केन्द्रका सुचना अधिकारी रिमबहादुर रोकायले जानकारी दिनुभयो।

उहाँका अनुसार स्थानीय तहअनुसार हाल रेसुङ्गा नगरपालिकामा –१६ जना, मदाने गाउँपालिकामा १० जना, धुर्कोट गाउँपालिका आठ र रुरुक्षेत्र गाउँपालिकामा नौ जना, चन्द्रकोट गाउँपालिकामा आठ जना, मुसिकोट नगरपालिकामा सात जना, सत्यवतीमा सात र कालिगण्डकी गाउँपालिकामा छ जना, इस्मा गाउँपालिकामा पाँच जना र गुल्मी दरबारमा सात मालिकामा सात जना भ्याक्सिनेटर कार्यरत छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले जिल्लाका भ्याक्सिनेटरहरुलाई अभिमुखिकरण गरेको छ । अभिमुखिकरणको उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गुल्मी जिल्लासहित प्रदेशभर अभियान र कार्यक्रम सन्चालन हुने भएकाले खोरेत रोगबाट नियन्त्रण र उन्मुलन गर्ने कार्यक्रम भ्यासिनेटरसहित सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।  

भ्याक्सिनेटरहरुलाई खोरेत मुक्त जिल्ला अभियान कार्यक्रमबारे अभिमूखिकरण गर्ने, पशुसेवा शाखाको समन्वयमा समय तालिका अनुसार खोप कार्यक्रम सम्पन्न गर्ने, खोपको भण्डारण तथा पशुअनुसार खोप प्रयोग गर्ने विधि, खोप लगाइसकेपछि सफ्टवेयरमा परविष्ट गर्ने विधि, खोप लगाइसकेपछि नियमानुसार प्राप्त हुने सेवा शुल्क भुक्तानीका लागि आवश्यक प्रक्रिया र पशुमा लाग्ने महामारी जन्य रोगबाट वच्नका लागि जनचेतना फैलाउन उद्देश्यले कार्यक्रम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख हुमकान्त पान्डेयले जानकारी दिनुभयो ।

अहिलेसम्म भ्याक्सिनेटरको तीन लाख ३० हजार रुपियाँ बराबरको  बिमा गरिएको छ । पहिलो चरणमा कात्तिक १५ गते देखि मंसिर १५ गतेसम्म खोरेत रोग विरुद्धको खोप लगाउने निर्णय भएको छ । १२ वटै पालिकाका सम्पुर्ण खुरफट्टा जनावर गाई, भैसी, भेडा, बाख्रा, सुगुर र वंगुरलाई भ्याक्सिनेटरहरुले घर–घरमा पुगेर खोप लगाउने छन् । यसबाट गुल्मीमा महामारी जन्य रोग नियन्त्रण भएर पशुधनको सुरक्षा हुने, पशु बिमा गर्न सजिलो हुने, दुध र मासुको गुणस्तरयुक्त उत्पादन बढ्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय वजारिकरणका लागि दुध र मासु जन्य पदार्थ निर्यातका लागि सहज हुने अपेक्षा प्रदेश सरकारको रहेको पशु सेवा बिज्ञ केन्द्र प्रमुख पान्डेयले बताउनुभयो । 

कार्यक्रममा पशु रोग अन्वेषण प्रयोगशाला, परासीका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. भरत काफ्लेले खोपको नीतिगत व्यवस्था, यसको प्रयोग बिधि, चिस्यान व्यावस्थापन र प्रभाकारीताको बारेमा अभिमुखिकरण गर्नुभएको थियो ।