• २३ वैशाख २०८१, आइतबार

कान्ति बाल अस्पताल घटना : दोषीमाथि कारबाही गरिने

blog

काठमाडौँ, भदौ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले घटनाका दोषी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

इजिप्टको राजधानी कायरोमा सम्पन्न जनसङ्ख्या र विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आफूले इजिप्टमा रहेका बेला कान्ति अस्पतालको घटनाका विषयमा जानकारी पाएको भन्दै यस विषयमा तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई फोन गरेर घटनाका विषयमा छानबिन समिति बनाएर दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको बताउनुभयो। 

यसअघि स्वास्थ्य अवस्था जटिल भएकी बालिकालाई आकस्मिक कक्षबाहिर घण्टौँ राखिएको र उपचार नपाई ज्यान गएको भन्ने खबर सार्वजनिक भएको थियो। स्वास्थ्य मन्त्रालयको निर्देशनपछि कान्ति बाल अस्पतालले डा. प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरू दाहाल सदस्य रहेको छानबिन समिति गठन गरेको छ। काठमाडौँको बाफल बस्ने थाहा नगरपालिका–१० मकवानपुरकी पाँच वर्षीया रेजिसा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रीता गोपाली र हजुरबुवा कृष्णबहादुर गोपालीले १८ गते साँझ ५ बजे कान्तिको आकस्मिक कक्षमा पु-याउनु भएकोमा दुई घण्टासम्म कुर्दा पनि आकस्मिक उपचार नपाएपछि सोही साँझ ७ बजे रेजिसाको मृत्यु भएको थियो।