• १३ मंसिर २०८१, बिहिबार

प्रदेश आयुर्वेद अस्पतालमा जनशक्ति र पूर्वाधारको अभाव

blog

वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयको बन्दै गरेको नयाँ भवन ।

रजनी योगी

सुर्खेत, भदौ २४ गते । वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयले जनशक्ति र भौतिक पूर्वाधारको अभाव झेल्नुपरेको छ । प्रदेशस्तरको औषधालय भएपनि दरबन्दीअनुसार कर्मचारी तथा चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।

अस्पतालमा स्वीकृत दरबन्दी अनुसारका कर्मचारी छैनन् । स्वीकृत दरबन्दी २६ जनाको हो । तर नौ जनाको मात्रै पदपूर्ति भएको छ । १७ जनाको दरबन्दी रिक्त छ । जसमध्ये डाक्टरको दरबन्दी पाँच जनाको भए तापनि दरबन्दीअनुसार एक जना पनि कार्यरत छैनन् भने दुई जना डाक्टर करारमा कार्यरत छन् । आयुर्वेद मेडिकल अधिकृतको दरबन्दी चार जनाको छ । जसमा एक जना स्थायी दरबन्दीमा कार्यरत छन् भने बाँकी दरबन्दी रिक्त छ ।

औषधालयका प्रमुख डा. शङ्करप्रसाद रिजालले प्रदेशस्तरको औषधालयका लागि आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको बताउनुभयो । जनशक्ति औषधालय सञ्चालनका लागि पर्याप्त नभएको उहाँको भनाइ छ । सङ्घ र प्रदेश सरकारसँग थप जनशक्ति र स्रोत साधनको माग गरिएपनि पुरा नभएको उहाँले जानकारी दिनुभयो । औषधालयका लागि आवश्यक पर्ने दरबन्दी नै पर्याप्त नभएको र भएका दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको उहाँले बताउनुभयो । 

प्रदेश सरकारले साविकको भेरी अञ्चल आयुर्वेद औषधालयलाई प्रदेश आयुर्वेद अस्पतालमा रूपान्तरण गरे पनि स्तरोन्नतिमा चासो नदिएको उहाँको भनाइ छ ।

औषधालयमा दैनिक करिब डेढ सय बिरामी उपचारका लागि आउने गरेका छन् । औषधालय प्रमुख डा. रिजालले जनशक्ति र स्रोत साधन अभावले स्थानीय स्तरमा उपलब्ध जडीबुटीको सङ्कलन, प्रशोधन गर्न नसकिएको जानकारी दिनुभयो ।

पूर्वाधारको पनि अभाव

प्रदेश आयुर्वेद औषधालयले जनशक्तिसँगै भौतिक पूर्वाधारको अभाव झेलिरहेको छ । १५ शय्याबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको भए तापनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । अहिले अस्पतालको सेवा पुरानो भवनबाट दिने गरिएको छ । जसले गर्दा नागरिकलाई सेवा लिन असहज हुने गरेको हो ।

साँघुरो भवनबाट सेवा दिइरहेको अस्पतालमा बिरामीको चाप भने धेरै छ । भवन नहुँदा उपकरण सामग्रीसमेत प्रयोगमा आउन नसकेको प्रमुख डा. रिजालले बताउनुभयो । उहाँका अनुसार औषधालयको हातामा निर्माण थालिएको १५ शय्याको भवन निर्माणको काम सुस्त गतिमा छ । सम्झौता भएको दुई वर्ष बितिसक्दा एक तला पनि ढलान हुन सकेको छैन। 

आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्टार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको छ। निर्माणकार्य २०७८ असारबाट सुरु गर्नेगरी सम्झौता भएको थियो । तर, हालसम्म पनि भवन निर्माण हुन सकेको छैन । सम्झौता अनुसार २०८० चैत मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । भवन निर्माणको प्रगती भने निकै सुस्त छ ।

सुुस्त गतिमा काम भइरहेकाले तोकिएको मितिमा काम सकिने सम्भावना नरहेको औषधालयका प्रमुख डा. रिजाल बताउनुहुन्छ । “सम्झौता भएको दुई वर्ष भइसक्यो, एक तला पनि ढलान भएको छैन,” उहाँले भन्नुभयो, “त्यही काम पनि निरन्तर रूपमा भएको छैन । आज भोली फाटफूट काम थालिएको छ ।” अस्पताल जस्तो सम्वेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको डा. रिजालको भनाइ छ । भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको छ । सेवा विस्तार भएपनि जनशक्ति र आवश्यक पूर्वाधार नहुँदा समस्या हुने गरेको हो ।

निर्माण कम्पनीले भने तोकिएको म्यादको ६ महिना बाँकी रहेकाले समयमै भवन बनाइसक्ने दाबी गरेको छ । निर्माण व्यवसायी तारा शाहीले समयमै काम सम्पन्न गरेर औषधालयलाई भवन हस्तान्तरण गरिने बताउनुभयो । सम्झौता भएयता कोरोनाका कारणले निर्माणले गति लिन नसकेको उहाँले बताउनुभयो । 

कोरोना महामारी, स्थानीय निर्वाचन, मूल्य वृद्धि, वर्षाजस्ता कारणले काम रोकिएको भन्दै उहाँले सकेसम्म तोकिएकै मितिमा काम सम्पन्न गर्नेगरी लागिपरेको जानकारी दिनुभयो । भवन निर्माणको अनुगमन तथा नियमन गर्ने निकाय सङ्घीय कार्यान्वयन एकाइका इन्जिनियर टीकाराम शर्माले २०८० चैतसम्म भवन निर्माणको सम्झौता रहेको बताउनुभयो । निर्धारित मितिमा सम्पन्न हुुने गरी काम भइरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “६ महिनाको अवधि बाँकी छ । एक तला ढलान हुँदै छ । काम रफ्तारमा भइरहेको देखिन्छ ।”