काठमाडौँ, जेठ १ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका निकायमा एक अर्ब ७० करोडभन्दा बढी रकम बेरुजु देखिएको छ ।
महालेखापरीक्षणको ६२ औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य मन्त्रालय मातहतका निकायमा एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रकम बेरुजु देखाएको हो ।
सरकारी कार्यालयतर्फ १६ निकायमा ३० करोड तीन लाख ४६ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदनमा उल्लेख गराएपछि छ करोड ४३ लाख ४६ हजार फस्र्यौट गरेकोले २३ करोड ६० लाख बेरुजु बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, अन्य संस्था र समितितर्फ एक अर्ब ५३ करोड १२ लाख ७५ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । पाँच करोड ७७ लाख ११ हजार फस्र्यौट गरेकाले एक अर्ब ४७ करोड ३५ लाख ६४ हजार बाँकी छ । सोमध्ये २६ करोड ७८ लाख २७ हजार म्याद नाघेको पेस्की छ ।