• १ जेठ २०८२, बिहिबार

अन्तरलिङ्गी व्यक्तिले पहिचानअनुसार बाँच्न पाउनुपर्ने

blog

काठमाडौँ, जेठ १ गते । अन्तरलिङ्गी व्यक्तिहरुले आफ्नो पहिचानअनुसार नै बाँच्न पाउने हकलाई मानवअधिकारको हक हो भन्दै अनुमति नलिई लिङ्ग परिवर्तन गर्ने प्रवृत्तिको अन्त्य गर्न माग गरेका छन् ।  

क्याम्पेन फर चेन्जले गरेको अध्ययन अनुसार एक वा एकभन्दा बढि यौन विशेषताहरु, शारीरिक विविधता (यौन अङ्ग, प्रजनन् अङ्ग क्रोमोजोम वा हार्मोन)सहित जन्मिएका, महिला पुरुषको परम्परागत र सामाजिक परिभाषामा नमिल्ने अन्तरलिङ्गी व्यक्तिलाई उनीहरुको सहमति नलिई सल्यक्रिया गरेर दुःख दिइरहेको पाईएकाले त्यसो नगरी आफ्नो पहिचानअनुसार बाँच्न दिनुपर्ने माग गरेका छन् । 

क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक इशान रेग्मीले अन्तरलिङ्गी व्यक्ति भनेको विविधतायुक्त यौन विशेषता लिएर जन्मिएका हुन्छन् तर समाजमा छोराको अपेक्षा बढि हुने भएकोले दुवै लिङ्ग भएकालाई पनि पुरुष जननेन्द्रिय बनाइदिने र लिङ्ग स्पष्ट नखुेकालाई पनि छोरा बनाउने प्रवृत्ति बढि रहेको बताउनुभयो । उहाँले बालबालिकालाई उहाँहरुको रुचि र इच्छाको जानकारी नहुँदै परिवारको दवाबले गर्ने सल्यक्रियाबाट वयस्क अवस्थामा पुग्दा आफु कुन पहिचानमा बाँच्ने भन्ने अन्योल हुने बताउनुभयो । 

आफु अन्तरलिङ्गी हुँदा भोगेको समस्या अन्य व्यक्तिले पनि भोगिरहेका छन् र भन्ने ठाउँको अभावमा आत्महत्या गर्ने वा भित्रभित्रै दबिएर बाँचिरहेका अन्तरलिङ्गी व्यक्तिको हक, आवाज उठाउन रेग्मीले क्याम्पेन फर चेन्ज संस्थाको स्थापना गर्नुभएको बताउनुभयो । सोही संस्थाले यस क्षेत्रका व्यक्ति भोगीरहेका समस्याबारे अध्ययन गरेको होे ।

संस्थाका कार्यक्रम व्यवस्थापक सुनिल चिमरियाले अन्तरलिङ्गी व्यक्तिहरुबारे गरिएको अध्ययनको निष्कर्षबारे चर्चा गर्दै अन्तरलिङ्गी व्यक्तिको तथ्याङ्कको अभाव, समाजमा विभेद, लाल्छना, हिंसा हुने र परिवारले समेत नस्विकार्ने स्थितिले अन्तरलिङ्गी व्यक्तिहरुको मानवअधिकारको हनन् भइरहेको बताउनुभयो ।

क्याम्पेन फर चेन्जले आयोजना गरेको अन्तरलिङ्गी व्यक्तिहरुको आठौं  वार्षिकोत्सवको अवसरमा भेला भएका देशभरका अन्तरलिङ्गी व्यक्तिहरुले पनि मागपत्र जारी गर्दै  कानुनी पहिचान हुनुपर्ने, जथाभावि सल्यक्रिया गर्ने प्रवृत्ति विरुद्ध शारीरिक अखण्डता र आत्मनिर्णयको अधिकारको सुनिश्चित गर्न माग गरेका छन् । 

त्यसैगरी सम्मेलनले अन्तरलिङ्गी भएर जन्मिएकै आधारमा भेदभाव हिंसा गर्न नपाईने, गुणस्तरीय र समावेशी स्वास्थ्य सेवाको पहुँच हुनुपर्ने, अनुसन्धान र तथ्याङ्क सङ्कलन हुनुपर्ने, शिक्षा र रोजगारीको क्षेत्रमा समान अवसर दिनुपर्नेलगायतका माग उठाएका छन् । जनगणना गर्दा महिला, पुरुष उल्लेख गर्ने ठाउँमा अन्तरलिङ्गी व्यक्तिको पनि अन्तरलिङ्गी पहिचान समावेश गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।