हत्या, छल, कपट, धोखा, ग्लानि, अपराधी मानसिकता आदि विषय समेटेर कलात्मकतामा पनि उत्तिकै ध्यान दिँदै निकै मेहनतका साथ बनाइएको स्पेनी चलचित्र हो ‘डेथ अफ अ साइक्लिस्ट’ (१९५५) । निर्देशक हुन् जुआन (गुआन) आन्तोनियो बार्देम । चलचित्र इतिहासमा लुइस बुनुएल या कार्लोस साउरा जस्तो भीमकाय नाम त होइन बार्देम तर स्पेनी सिने जगतमा ‘डेथ अफ अ साइक्लिस्ट’ को भने आफ्नै विशिष्टता छ ।
लुइस बुनुएललाई छोड्ने हो भने सन् १९५० को दशकसम्म स्पेनी सिनेमा भण्डार रित्तो रित्तो नै देखिन्छ । केही चलचित्रले नियो रियलिजमबाट प्रभावित भएर गम्भीर विषय उठान गर्ने प्रयास गरेको देखिन्छ । सुर्कोस १९५१, डेथ अफ अ साइक्लिस्ट, वेलकम मिस्टर मार्सल १९५३, मेन स्ट्रिट जस्ता चलचित्र यसका उदाहरण हुन्, जसले तत्कालीन स्पेनी समाजको आलोचना गरेका थिए ।
इटालियन नियो रियलिजम र फिल्म न्वाको प्रभाव युरोपमा सन् ’७० को दशकसम्म नै परिरहेको देख्न सकिन्छ । चलचित्रको बुनोटमा इटालियन नियो रियलिजम र हलिउड फिल्म न्वाको लक्षण दुवै स्पष्ट रूपमा देख्न सकिन्छ । जस्तो लुचिनो भिस्कोन्टीको ओसेसियोने थियो । तर ‘डेथ अफ अ साइक्लिस्ट’ इटालियन नियोरियलिजम जस्तो आर्थिक–सामाजिक समस्यामा केन्द्रित छैन बरु त्यसबाट पर हटेर अलग हुन खोजेको छ । मनो–सामाजिक तथ्यतिर यो चलचित्र मोडिएको देखिन्छ । ओसेसियोनेमा तल्लो वर्गका पात्रलाई अपराधी देखाइएको थियो भने डेथ अफ अ साइक्लिस्टमा माथिल्लो वर्गकालाई ।
तत्कालीन समयमा मिलिटरी तानाशाह फ्रान्सिस्को फ्राङ्कोकालीन युगलाई प्रतिनिधित्व गरेको भनिए पनि कार्लोस साउराको ‘आना एन्ड द वोल्भ्स्’ १९७३ ले जस्तो विशुद्ध रूपमा यस चलचित्रले फ्राङ्कोको शासन सत्तालाई नै प्रहार गरेको त छैन तर त्यस समयका बुर्जुवाहरूको नैतिक पतनमाथि चलचित्र केन्द्रित छ । यो नैतिक पतन वास्तवमा हाम्रो युगको पनि समस्या हो र नै यस चलचित्रको महìव आजपर्यन्त रहन गएको देखिन्छ ।
मानिसको आचरणमा सत्ताको प्रवृत्ति एक हदसम्म सत्य हो तर दुष्ट शासक नभएको स्थानमा चलचित्रले उल्लेख गरेका जस्ता पात्र र घटना हुँदै नहुने चाहिँ होइन । चलचित्रले जुन समस्या उठान गरेको छ त्यसबाट कुनै पनि काल र स्थान अछुतो रहेको प्रतीत हुन्न । बुर्जुवा वर्ग, मध्यम वर्ग, मजदुर वर्ग सबैको चरित्रलाई निर्देशकले अत्यन्तै गम्भीर तरिकाले देखाएका छन् ।
विषयका हिसाबले चलचित्र जति सफल रहेको छ त्यति नै कलाको मामलामा पनि । लङ सट, लङ टेक, क्लोज अपमार्फत हतार नगरी खिचिएको क्यामेरामार्फत शान्त र स्थिर भएर प्रमुख पात्रहरूको अनुहारमा छाएको मनोवैज्ञानिक असर, शारीरिक हाउभाउ क्यामेरामार्फत हामी अध्ययन गर्न सक्छौँ, उनीहरूको नजिकै बसेर । निर्देशकले जम्प कटको प्रयोग खास उद्देश्यका साथ प्रयोग गरेका छन् । संवाद बोल्ने समयमा दुवै पात्रहरूको मनोदशालाई र वातावरणलाई समेत क्यामेराले स्पष्ट रूपमा अनुभव गर्न सहयोग गरेको छ । क्यामेराले मिकेलान्जेलो आन्तोनिओनी, बर्गम्यान जस्ता निर्देशकको याद दिलाउँछ । कोठा बाहिरका दृश्य देखाउने बेला निर्देशकले क्यामेरालाई पात्रमा मात्रै केन्द्रित नगराएर विशाल ल्यान्डस्केपलाई पनि समेटेका छन् । मूल पात्रहरूको आँखाको दृश्यले अल्फ्रेड हिचक लाई समेत सम्झाउँछ । त्यति मात्रै होइन हिचकको ब्ल्याकमेल (२०२९) चलचित्रलाई सम्झाउँछ, जसको कथासँग डेथ अफ अ साइक्लिस्टको कथाको सानो अंश मिल्छ । बार्देमको चलचित्रमा जसरी नै हिचकको ब्ल्याकमेलमा पनि मूल नायिकाले एक पुरुषको हत्या गरेर त्यस काण्डबाट मुक्त हुन खोजेकी तर एक व्यक्तिले दुःख दिन सुरु गर्छ । बार्देमले यस प्रभावलाई स्पष्टसँग एक चरित्र राफाको मुखबाट ब्ल्याकमेल शब्द उच्चारण गर्न लगाएर दर्शकहरूलाई जानकारी दिलाएका छन् ।
सन् १९५५ अघि आन्तोनिओनीका दुई चलचित्रहरूमा काम गरिसकेकी इटालेली नायिका लुचिया बोजेले ‘डेथ अफ अ साइक्लिस्ट’मा पनि कुलीन वर्गकी महिलाका रूपमा सानदार अभिनय प्रस्तुत गरेकी छिन् । लुचिया बोजेको चरित्र फिल्म न्वाकी घातक आइमाईको छ । लोग्ने छँदा छँदै प्रेमीसँग रोमान्समा मस्त छे, आत्मकेन्द्री छे, करुणा, दया र प्रेम भाव पटक्कै नभएकी । हत्या गर्नु पनि उसका लागि सामान्य कुरा छ ।
चलचित्रको सुरुवात प्रायः फिल्म न्वाहरूमा जस्तै एउटा अपराधबाट र सस्पेन्सबाट हुन्छ । क्यामेराको फोकसमा एक मानिसले साइकल चलाइरहेको देखिन्छ, ऊ क्यामेराबाट ओझेल हुन्छ र एउटा कार निकै परबाट अनियन्त्रित हुँदै क्यामेराको फोकसमा आइपुग्छ र रोकिन्छ । कारबाट एक पुरुष (क्लोसास) ओर्लन्छ र जमिनमा पल्टिएको साइकल अगाडि पुग्छ । उसले महिलातर्फ लक्षित गर्दै के भन्छ भने चालक सास फेर्दै छ । मारिया (लुचिया बोजे) भने घाइतेलाई त्यसै छोडेर आफूसँग यात्रारत पुरुषलाई, जो मारियाको बालसखा तथा प्रेमी पनि हो, घटनास्थलमा अलमलिन नदिई हतार हतार रफुचक्कर हुन्छे । साइकल चालकलाई मृत देखाइन्न । एक पटक आँखाअघिबाट साइकल कुदाउँदै निकै पर बाटोमा विलुप्त भएपछि ऊ सधैँका लागि जीवनबाट बिलुप्त हुन्छ र हामी उसलाई कहिल्यै देख्न सक्दैनौँ । उसको मृत्युपश्चात अन्यको जीवन चलिरहेको हामी देख्छौँ । प्रथम दृश्य दार्शनिक प्रकारको छ । उसको अनुहार पनि हामी देख्न सक्दैनौँ, उसले बोलेको पनि सुन्दैनौँ । ऊसँग हाम्रो साक्षात्कार हुन पाउँदैन । निर्देशक पनि उसको पूर्वजीवनसँग वास्ता राख्दैनन् । मर्ने व्यक्तिको छिमेकीमार्फत दर्शकले थाहा पाउँछ कि ऊ कारखानामा काम गर्ने मजदुर हो । जीवित हुँदा पनि मजदुरको अनुहार नहुने यस संसारमा सयौँ सर्वहारा अदृश्य रूपमा मर्छन् भनौँ जो मरेको देखिँदैन, जसको मृत्युले अर्थ राख्दैन ।
साइकललाई ठक्कर दिएर भागेलगत्तै मारियाको साक्षात्कार हुन्छ राफासँग । राफाले मारियालाई के सुनाउँछ भने राजमार्गमा कार कुदाउँदै कतै गइरहेकी थियौ प्रेमीसँग । उसले समयसमेत उल्लेख गरिदिन्छ । मारियाको सातो जान्छ ।
बुर्जुवाहरूका निम्ति त्रासको विषय बनेर देखापर्ने पात्र हो राफा । ऊ कला समीक्षक हो । बुर्जुवाहरूलाई ऊ घृणा गर्छ । बुर्जुवा वर्गका हरेक मानिसमा केही न केही खोट उसले भेटिरहेको हुन्छ र त्यसलाई छताछुल्ल पार्न मौका पर्खिरहेको हुन्छ । बुर्जुवाहरूले बनाएका मोडर्निस्ट भनिने बेतुकका ‘थर्ड रेट’ कलालाई जसरी ऊ जम्मा गरेर प्रदर्शनीमा बेच्ने गर्छ त्यसै गरी बुर्जुवाहरूको खराब कर्तुतहरू जम्मा गरेर छुट्याउने, पर्खने र मानिसहरूलाई पस्कने गर्छ । मारियासँगको एक भेटमा उसले आफ्नो यस मनोवृत्तिमाथि प्रकाश पार्दै बोलेको छ । बुर्जुवाहरूका माझ उसको दैनिकी बित्छ, बुर्जुवाहरूकै रक्सी र खानेकुरा खान्छ र उनीहरूको विरुद्ध हिँड्छ । अनौठो छ उसको चरित्र । “तिमीहरूलाई अवलोकन गर्न रमाइलो हुन्छ,” ऊ भन्छ ।
राफाले आफूहरूलाई राजमार्गमा देखेको कुराले मारिया र जुआन बेचैन हुन्छन् । उनीहरू यसमा के स्पष्ट हुँदैनन् भने राफालाई आफूहरूले साइकल चालकलाई ठेस लगाएर त्यसै मर्न छोडेको कुरा पनि थाहा छ या छैन । यसका निम्ति मारियाले प्रयत्न पनि गर्छे, स्पष्ट हुन । राफा पनि मारिया जस्तै फिल्म न्वाहरूमा देख्न पाइनेखाले पात्र हो ।
मारियाको प्रेमी जुआन विश्वविद्यालयको प्रोफेसर हो । ऊ पहिले जवान हुँदा फ्राङ्कोको समर्थनमा लड्ने सिपाही थियो । आफू सेनामा रहँदा उसको प्रतीक्षा नगरी निकै धनी व्यापारीसँग मारियाले विवाह गरेकी हुन्छे । पछि जुआन फर्किएर आएपछि फेरि दुई जना गोप्य रूपमा रोमान्समा डुब्छन् । दुर्घटनापश्चात कसैले त्यसबारे थाहा पायो कि भनेर जुआन पनि अत्यन्तै चिन्तित छ । विश्वविद्यालयमा जुआनले आफ्ना विद्यार्थीहरूको परीक्षा लिइरहेका बेला ऊ पत्रिका हेरिरहेको हुन्छ र अचानक साइकल चालकको मृत्युबारेको समाचारमा उसको आँखा पुग्छ । अगाडि कालोपाटीमा हिसाबका अनेक समस्याबारे लेखेर बोल्दै आफ्नो ज्ञान प्रदर्शन गरिरहेकी एक छात्रापट्टि जुआनको ध्यान जाँदैन तीव्र मानसिक उथलपुथलमा फसेको जुआनले छात्रालाई हप्काएर सिटमा बस्न आदेश दिन्छ । यस काण्डले गर्दा छात्रा परीक्षामा अनुत्तीर्ण हुन पुग्छे ।
राफाले मारिया र जुआनलाई पिछा गरेर हैरान पार्न छोड्दैन ।
जुआन मर्ने साइकल चालकको टोलमा पुग्छ । श्रमिकहरू बस्ने क्षेत्र र घरको सानो झलक हामी देख्छौँ । जहाँ गएर उसले मर्ने मानिसको पारिवारिक अवस्थाबारे जानकारी लिएर फर्कन्छ । साइकल चालककी श्रीमती हामीलाई देखाउँदैनन् निर्देशक । उनका दुई सन्तान भने देखिन्छ । जुआनसँग मृतककी पत्नीलाई साक्षात्कार गर्ने हिम्मत हुँदैन सायद, त्यो जटिल परिस्थितिबाट उसलाई एउटा मुक्ति मिलेको हुँदो हो । निर्देशकले उसलाई एक किसिमले ठुलो राहतको मौका दिएको अनुभूत
हुन्छ । निर्देशकले बार्देमले यस्ता दृश्यहरूमा मात्रै होइन जम्प कटमार्फत पनि ज्यादै अर्थपूर्ण चिन्तन फाल्ने काम गरेका छन् ।
एउटा दृश्यमा राफा पत्रिका पढ्दै कुनै धनी महिलाको सिव्रmी चोरेको समाचार पढ्दै रमाएर राफा हाँसेको देखिन्छ । त्यसै दृश्यबाट जम्प गरेर तुरुन्तै बालबालिकाहरूको सामूहिक हाँसोलाई देखाइन्छ । केही सेकेन्डमा थाहा लाग्छ बालबालिकाहरू जोकरहरूलाई हेरेर हाँसिरहेका हुन्छन् न कि सिव्रmी चोरेको समाचार सुनेर । ठुला र सानाको आत्माबीच ठुलै अन्तर छ वास्तवमा । यिनै निर्दोष आत्माहरूका बिच मारिया र जुआन राफाले आफूहरूले गरेको कर्तुतबारे थाहा पाएको कुरालाई लिएर छलफलमा व्यस्त हुन्छन् । हुन त निर्दोषपनको मृत्युबारे इङ्गित गर्दै निर्देशकले हामीलाई चर्चभित्र मारियालाई राफाले आफूले साइकल चालकलाई ठक्कर दिएको कुरा थाहा नपाएकोमा खुसीले अत्यन्तै रमाएको देखाएका छन् । मनन गर्दा लाग्छ नित्सेले ईश्वरको मृत्यु यसै गरेका थिएनन् सायद ।
जुआन र परीक्षामा अनुत्तीर्ण छात्राबिचको वार्ता पनि चलचित्रमा महìवपूर्ण कडीका रूपमा देखा पर्दछ । दुई जनाबिच तीन पटक भेटवार्ता हुन्छ । नतिजा निष्काशनपश्चात एक पटकको भेटमा छात्राले जुआनलाई आफू फेल हुनुको स्पष्ट रहे पनि त्यसविरुद्ध ऊ केही गर्न असमर्थ रहेको बताउँछे । कारण विश्वविद्यालयको डिन सम्बन्धमा जुआनको भिनाजु या बहिनीज्वाइँ पर्दछ । यो कुरा पनि छात्राले जुआनलाई खुलस्त भनिदिन्छे । भ्रष्ट शासन पद्धतिमा आममानिसको कसरी पतन हुन्छ भनेर यस दृश्यबाट स्पष्टै बुझिन्छ । छात्राको स्पष्टवादिताले जुआनमा झस्का पस्छ र उसलाई टाउको निहु-याएर बसेको देखिन्छ ।
चलचित्रले चरम उचाइ त्यतिबेला छुन्छ जब राफाभित्रको प्रतिहिंसाको भाव पार्टीमा रक्सीले मातिएको बेला प्रकट हुन्छ । असन्तुलित भएर जुआनलाई नानाथरी गाली बक्न थाल्छ राफा र कुटाइ पनि खान्छ । कुटाइपश्चात झन् उग्र भएको ऊ सङ्गीतमा मस्त भएको मारियाको लोग्नेको कानमा फुस्फुसाउन पुग्छ । त्यही समय पार्टी भइरहेको भवनको आँगनमा पुलिसहरू जुआनलाई खोज्दै आइपुग्छन् । राफा जुआनको हत्या गर्ने नियतमा समेत पुग्छ । तर मारियाको श्रीमान्ले सम्हाल्छ । मारियाको श्रीमान् राफाको कुरामा आउँदैन । दुई लोग्ने स्वास्नी आफ्नो बाटो लाग्छन् । राफा चाहन्थ्यो मारियाको लोग्नेले उसको कुरामा आओस् र केही गरोस् ताकि ऊ त्यसबाट मजा लिन सकोस् । एक्लो राफा रिस सम्हाल्न सक्दैन र रक्सीको बोतलले सिसाको झ्यालमा हिर्काउँछ । यहाँ एक पटक फेरि जम्प कटमार्फत राफाको व्यक्तिगत आक्रोशलाई विद्यार्थीहरूको सामूहिक आव्रmोशका रूपमा देखाइन्छ । छात्रा अनुत्तीर्ण हुनुले आन्दोलित विद्यार्थीहरूले विश्वविद्यालयको झ्यालमा ढुङ्गा हानेको देखिन्छ ।
वास्तवमा खराबीविरुद्ध एक्लो र बिना उद्देश्य अथवा व्यक्तिगत तुष्टि पूरा गर्नुको औचित्य छैन । राफा आफ्नो कुण्ठा र अहंले ग्रस्त भएर मात्रै बुर्जुवा अथवा शासक वर्गको विरोधमा उत्रन्छ । रक्सीले मातिएर बेहोसीमा शत्रु ठह¥याएका वर्गमाथि जाइलाग्छ । यो पनि एक प्रकारको आत्मिक र बौद्धिक पतन हो । फ्राङ्को कालीन स्पेनमा यस्ता पात्रहरूको ठुलै सङ्ख्यासँग निर्देशक बार्देमले साक्षात्कार गरेको भन्न सकिन्छ । हरेक भ्रष्ट समाजमा यस्ता पात्रहरू नहुने पनि होइनन् ।
न्यायका निम्ति उद्देश्यसहितको सामूहिक आक्रोश र व्यक्तिगत असन्तुलित आव्रmोशबिच यसरी तुलनात्मक अध्ययन गर्नसमेत चलचित्रले सहयोग गरेको छ ।
विद्यार्थीहरूको विरोध प्रदर्शनीले जुआनमा परिवर्तन आउँछ । विश्वविद्यालयको सिसा फुट्नु जुआनको सिसाभित्र कैद आत्मा मुक्त हुनपुगे जस्तो देखिन्छ । हालको प्रेफेसर जुआनको रूप च्यातिएर युवा जुआनमा परिवर्तन भएको कुरा जुआनले मारियालाई सुनाउँछ । ऊ प्रथम पटक मुस्काएको, हाँसेको समेत देखिन्छ ।
जुआनमा अब त्रासको साटो अपराध बोधको भावना विकास हुन पुग्छ । उसले प्राध्यापन छोडेर कतै जाने कुराको जानकारी अनुत्तीर्ण हुने छात्रालाई उसँगको तेस्रो भेटका व्रmममा सुनाउँछ ।
जुआनले पुलिसलाई सबै कुरा भनिदिने निर्णयमा पुग्छ र आफ्नो विचार मारियालाई पनि सुनाउँछ । यसो भएमा धन, विलासिता, सामाजिक रवाफ, प्रेमी, सबथोक गुमाउनुपर्ने कुराले मारिया त्रसित हुन्छे । अन्त्यमा साइकल चालकलाई ठक्कर दिएर मारेकै स्थानमा मारियाले जुआनलाई पनि कारले ठक्कर दिएर मारिदिन्छे । तीव्र गतिमा कुदेको कार अनियन्त्रित भएका कारण ऊ आफैँ पनि मर्न पुग्छे ।
मर्नुअघि मारियाले एक साइकल चालकलाई बचाउने काम गर्दछे ।
चलचित्रको अन्तिम दृश्यले केही असन्तुष्टि उत्पन्न गराउँछ । फिल्म न्वाहरूमा जस्तै एउटा बहाना निकालेर खराब पात्रको अन्त्य देखाउने अभिप्राय हो कि निर्देशकको भन्ने सोच मनमा आउँछ । त्यस समयका शक्तिशाली बुर्जुवाहरूको भविष्यमा हुने पतनको सङ्केतका रूपमा लिने कि नलिने ? चलचित्रमा राजनीतिक सङ्केत पकड्ने अवस्था ज्यादै कम छ । तानाशाहीहरू एकले अर्कोलाई सिध्याउँछन् र सकिन्छन् भन्ने सङ्केत पनि चलचित्रले देखाएको छैन । जुआन र मारियाले सिङ्गो तानाशाही सत्ता र बुर्जुवाहरूको पृष्ठभूमि बोकेर देखा पर्ने भन्दा पनि नैतिकतामा ह्रास भएका अपराधीको प्रतिनिधित्व गरेका छन् । अपराधी हरेक वर्गमा हुन्छ । हरेक अपराधीको प्रकृति र प्रवृत्ति उस्तै हुन्छ ।
यद्यपि बुबा र दाजु फ्राङ्को सरकारका निम्ति युद्धमा मर्नु र जुआनको मर्नुको अर्थहीनता पेचिलो लाग्छ ।
जे होस् हलिउड क्राइम चलचित्रको शैलीमा युरोपेली आर्ट हाउस चलचित्रको स्वाद मिसाएर पस्किने ‘डेथ अफ अ साइक्लिस्ट’ चलचित्र निर्माणको एउटा उदाहरण हो ।