• ४ जेठ २०८१, शुक्रबार

कलमले आर्जेको प्राप्ति

blog

ऐतिहासिक उपन्यास लेखनको इतिहासले नौ दशक टेक्न लागिसक्यो । आरम्भ निकै पुरानो भए पनि यसमा कलम चलाउनेहरूको संख्या त्यति धेरै पाइँदैन,त्यसमा पनि ऐतिहासिक उपन्यासको स्तर कायम गरी लेखिएका कृति निकै कम रहेको छ ऐतिहासिक कथा, नाटक त झन् कम छन् । टुकराज पद्मराज मिश्रको वि.स. १९९६ मा प्रकाशित रजबन्धकीलाई पहिलो ऐतिहासिक उपन्यास मानिए पनि वि.सं २००६ सालमा प्रकाशित डायमनशम्सेर राणाको वसन्तीसँगै यसले लय पक्रेको मानिन्छ । टुकराज पद्मराजकै अर्को औपन्यासिक कृति रामकृष्ण कुँवर वि.सं १९९९ मा प्रकाशित भएको थियो । 

 लेखनमा २००४ मै देखा परे पनि ऐतिहासिक नाटक  झागल गुरुंग लेखेर इतिहाससम्बद्ध लेखनमा आवद्ध सुन्दरप्रसाद शाह दुःखीको पहिलो ऐतिहासिक उपन्यास प्रकाशन वि.सं २०४० मा आएर मात्र भयो । उक्त वर्ष उहाँको प्रतिवाद प्रकाशमा आएपछि दुई दशकको समयावधिमा पाँच वटा ऐतिहासिक उपन्यास प्रकाशमा आए । प्रकाशोन्मुख कृति पनि अझै आधा दर्जन पुग्छन् । ऐतिहासिक उपन्यास लेखनमा आफूलाई पृथक रुपमा चिनाउन चाहने उहाँले कतै कुनै प्रसंगमा  भन्नु भएको थियो –शक्तिको प्रतापको रापमा पारी लेखाइएका इतिहास इतिहासको गतिलाई नै रोक्ने दुष्प्रयास गरेको हुन्छ र समयले कोल्टे फेरेपछि फोस्रो र फजुल कुरा उदांग भई पानीमा नुन पग्लिएपछि आकारहीन  हुन जान्छ बरु उपेक्षित पार्ने हेतुले हेपेर अन्तरकुन्तर सडोस् झनै खोइरो खनेर पन्छाइएका व्यक्ति पछि सही मानेमा जनहृदयमा श्रद्धा जगाउने भएर मौलाउन पुग्छन् । जो कोही जन्मन्छ जन्मेपछि निश्चय नै मर्नुपर्छ ,मर्छ किन्तु उसको बारेमा स्मरण हुनु नै........यसैलाई हामी इतिहासको संज्ञा दिन्छौ । हृदयमा श्रद्धा जगाउन सक्ने खालका यस्ता मानिस मरेर गए पनि त्यो अनन्त–अनन्तसम्म बाँचिरहन्छ । 

यसरी नै बाँचिरहनु भएको छ उहाँ हामीमाझ ।  आठ वर्षअघि वि.सं २०७२को साउन महिनामा ८५ वर्षको उमेरमा निधन भए पनि आफ्ना कृतिहरूका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा ऐतिहासिक उपन्यासकारका रुपमा बढी उहाँलाई सम्झाइरहेको छ, यसैका माध्यमबाट हामीबीच हुनु भएको छ आफ्ना कृति र कामका माध्यमबाट । 

उन्यासकारका रुपमा बढी चर्चा पाएनु भएका सुन्दरप्रसाद शाह दुःखी योगी नरहरिनाथको संगतले इतिहासप्रति बढी चासो लिन थाल्नुभयो । साहित्यमा कविता जस्ता विधामा कलम चलाउँदै आउनु भएका उहाँले इतिहासलाई साहित्यमा समावेश गर्ने रुचिले पहिलो पटक ऐतिहासिक नाटक  प्रकाशमा ल्याउनु भयो,यसको लामो अन्तरालपछि उपन्यास लेख्नुभयो । वि.सं २००६ मै डायमनशम्सेरको वसन्ती, यसअघि नै टुकराज पद्मराजको  रजबन्धकी जस्ता ऐतिहासिक उपन्यास प्रकाशमा आइसकेको सन्दर्भमा उहाँ अलि पृथक भएर देखापर्नु भयो । इतिहासलाई खोतलेर इतिहास लेख्ने नभएर ऐतिहासिक तथ्यलाई लिएर उपन्यास लेख्नुभयो उहाँले जसलाई इतिहाससम्बद्ध उपन्यास भनिदिनु भयो । यसपछि प्रकाशमा आएका उपन्यासलाई पनि त्यसरी नै इतिहाससम्बद्ध उपन्यास भनेर लेख्नुभयो ।  यसक्रममा उहाँका प्रतिवाद–२०४०, त्रिफट्–२०४२, बहादुर शाह–२०५२, कान्तवती–२०५५, सानो हजुर–२०६१ गरी पाँचवटा इतिहास सम्बद्ध उपन्सास कृति प्रकाशमा आए । प्रतिवाद उपन्यास चौतरिया गुरुप्रसाद शाहको इतिहास र उहाँको घरायसी एवं कुलपुर्खासम्बन्धी विषयवस्तुमा केन्द््िरत छ । माहिला साहेबज्यू उपेन्द्रविक्रम शाहमा केन्द्रित प्रतिवाद उपन्यासमा सय वर्षअघिको इतिहास समेटिएको छ । तेस्रो उपन्यास बहादुर शाहसम्म आइपुग्दा उपन्यासकार दुःखी अझ अघि बढेर दुई शताब्दीअघिको समयमा पुगेर बहादुर शाहजस्ता साहसी पुरुषलाई केन्द्रमा राखेर उपन्यास सिर्जना गर्नुहुन्छ । नेपालको इतिहासमा वीर र देशप्रेमीका रुपमा प्रसिद्ध यिनै बहादुर शाहलाई नायक बनाएर रचिएको यो उपन्यासमा अढाई दशक समयको इतिहास समेटिएको छ । चौथो उपन्यास कान्तवती उपन्यासको नामजस्तै थोरै उमेर बाँचेर पनि उल्लेख्यनीय कर्म र उज्ज्वल चरित्रले जीवनलाई नापो  गरिनुपर्छ भन्ने धारणा राखेर कान्तवती उपन्यास सिर्जना गर्नु भयो । सानो हजुर उपन्यास आफ्नो जीवनकालमा वैभवशाली, धनीमानी, बुद्धिमान, कार्यकुशल र कर्मठ व्यक्ति तेजशम्सेर (सानो हजुर) लाई लिएर लेखियो । वि.सं २०११ सालमै झागल गुरुंग नामक ऐतिहासिक नाटक प्रकाशमा ल्याएर आफूलाई इतिहासमा केन्द्रित लेखक–साहित्यकारका रुपमा चिनाइसक्नु भएको थियो उहाँले । त्यसो त सुन्दरप्रसाद शाहका उपन्यासलाई समालोचकहरूले आ–आफ्नै दृष्टिकोणले हेरेका छन् । समालोचक घटराज भट्टराईले नेपाली साहित्यकार परिचय कोशमा शाहका उपन्यासलाई निकै स्तरीय र ऐतिहासिक तथ्यलाई प्रस्तुत गर्ने र औपन्यासिक शिल्पलाई पनि रोचकता साथ प्रस्तुत गर्न सफल छन् भनी उल्लेख गर्नु भएको छ । साहित्यमा इतिहाससम्बद्ध कृति बाहेक उहाँका २००९ सालमा कामना कविता संग्रह,२०१४ मा अन्धविश्वास सामाजिक नाटक, २०१५ मा कालो बादल कथा संग्रहले उहाँलाई साहित्यकारको रुपमा चिनाइसकेको थियो । जीवनको उत्तराद्र्धमा आएर २०६५ मा श्रीकाली कर्पूर स्तोत्रम्को नेपाली अनुवाद पनि गर्नुभयो । 

वि.सं २००४ सालमा  गोरखापत्रमा पहिलो सिर्जनाको रुपमा पक्षी कविता छपाएपछि साहित्यमा प्रवेश गर्नुभएका सुन्दरप्रसाद शाह दुःखी जीवनको अन्तिम समयसम्म भाषा–साहित्यकै उपासनामा लाग्नुभयो । साहित्यका विविध विधामा कलम चलाएर मात्र होइन कोसेली साहित्यिक पत्रिकाको सम्पादनदेखि कर्पूृर स्तोत्रम्को अनुवादसम्मले उहाँको साहित्यिक योगदानलाई अलग रुपमा चिनाएको छ । जीवनको लामो समय सरकारी सेवामै बिताउने उहाँ सूचना तथा सञ्चार, गृह मन्त्रालयको सचिव, बागमती अञ्चलाधीशसम्म हुनुभयो । अवकासपछिको समय पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष,राज परिषद् स्थायी समिति सदस्य र प्रमखु निर्वाचन आयुक्त बन्नु भयो ।       

मेरो जागिरे जीवन चौबीसै घण्टाको हुन्थ्यो । जुनसुकै बेला पनि व्यस्त हुनुपथ्र्यो । तर पनि मैले आफ्नो कलमलाई बन्द गरेको थिइनँ । साहित्यिक पत्रपत्रिकालाई आफ्नो ओहोदाबाट गर्न सक्ने सहयोग गरिरहन्थेँ । प्रसंगवशमा अन्तर्वार्तामा भनेजस्तै सरकारी जीवनकालमा पनि साहित्यबाट उहाँ टाढिनु भएन । उहाँको  यही समर्पण र सहयोगी भावनाले पनि उहाँलाई सम्मानित स्रष्टाको रुपमा धेरैले सम्झने गरेका छन् । 

वि.सं १९८८ सालको भदौ २० गते राजेन्द्रप्रसाद र पीताम्बरेश्वरी शाहको सुपुत्रको रुपमा काठमाडौँको ज्ञानेश्वरमा जन्मिनु भएका शाहको जन्मथलो नै साहित्यिक परिवेशको थियो । त्यही सेरोफेरोमा नाट्यसम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, अर्का साहित्यकार भीमनिधि तिवारी,श्यामदास वैष्णव,साहित्यिक पत्रकार मदनदेव भट्टराई जस्ता साहित्यकार र साहित्यिक पत्रकारको  वसोवास थियो । शाह परिवारमा जन्मिएर पनि केटाकेटी अवस्थादेखि नै साहित्य र आफ्नो धर्म संस्कृति,कुल परम्परामा बढी चासो र सम्मान राख्ने उहाँले किशारावस्थादेखि नै साहित्यमा कलम चलाइसक्नु भएको थियो । 

सरल  र सहयोगी स्वभावका सुन्दरपसाद शाह दुःखीले इतिहाससम्बद्ध लेखन मनगढन्ते र थाहा नभएको कुरा उल्लेख गर्न चाहनु भएन । इतिहाससम्बद्ध भएर कलम चलाए पनि आफ्ना कृतिमा साहित्यिक स्वादको कुनै कमी नभएको बताउनुहुन्थ्यो । कतिपय उपन्यास लेखनका लागि सम्बद्ध ठाउँको भ्रमण गरेर, अध्ययन गरेर पनि उहाँले लेख्नु भयो । जीवनमा अनेकौँ अभिभारा आए पनि लेखन उहाँको निरन्तर रह्यो । सरदार रुद्रराज पाण्डे पुरस्कार, वेदनिधि पुरस्कार, राष्ट्रिय गौरव सम्मान पुरस्कार, रत्नश्री स्वर्ण पदकआदिबाट सम्मानित उहाँको स्मृतिमा वर्षेनी स्रष्टा र तिनका उत्कृष्ट कृतिलाई पुरस्कृत गर्दै आइरहेको सुन्दरप्रसाद शाह दुःखी प्रतिष्ठानले वर्षेनी उहाँको  स्मरण गर्दै आइरहेको छ । उहाँका पाठकले उहाँका कृति र योगदानका माध्यमबाट यसरी नै सम्झेका छन्, । कलमले आर्जेको प्राप्ति भनेकै यही हो ,अरु पक्ष त जीवन छउँञ्जेल मात्र हो । सुन्दरप्रसाद शाह कलमका माध्यमबाट बढी चिनिनु भयो, सम्मानित हुनुभयो, स्मरणयोग्य हुनुभयो र पढिने नाम बन्नु भयो ।